Pages

Friday, April 29, 2011

गुण्डाका नाइकेका पक्षमा राजनीतिक दबाब


काठमाडौं, वैशाख १६ - संगठित अपराधीहरूसँग ठूला नेताको कुन हदसम्म साँठगाँठ छ भन्ने यथार्थ जेलमा रहेका ठूला गुण्डाका निम्ति उनीहरूले गर्ने उच्चस्तरका दबाब र सिफारिसबाट प्रष्ट हुन्छ ।
जापानमा कुनै निर्वाचित जनप्रतिनिधिहरूको गुण्डासँग संलग्नता रहेको प्रमाणसहितको समाचार प्रकाशित भए राजनीतिज्ञको जनमत एकाएक समाप्त हुन्छ । त्यस्तो समाचार प्रकाशन भएलगत्तै कैयौं राजनीतिज्ञहरूले आत्माहत्या गर्ने गर्छन् तर नेपालमा बढीभन्दा बढी गुण्डा पाल्ने नेता शक्तिशाली हुने प्रचलन बढ्दै गएको छ ।  
कारागार व्यवस्थापन विभागले हालै जेलभित्र लडाइँ गर्ने चक्रेमिलन समूहका पाँच सदस्यलाई काठमाडौंबाट बाहिर सार्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक नहुँदै त्यसलाई रोक्न गृह प्रशासनले दैनिक सयौं फोनको दबाब झेलिरहेको छ । 'कुरै नगर्नुस्, सामान्य नेता मात्रै हुन् र, मन्त्री भन्दा माथिको दबाब आइरहेको छ, आफै बुझ्नुस् ती को, को  हुन् ?' गृह मन्त्रालयका एक अधिकृत भन्छन्, 'नेपालका केही राजनीतिज्ञहरू अपराधीलाई संरक्षण गर्न कुन हदसम्म उत्रन्छन् भन्ने योभन्दा अर्को उदाहरण हुँदैन । 
 चक्रेमिलनसँगै केन्द्रीय कारागारमा रहेका सामान्य गुण्डाहरूको हकमा यस्तो दबाब छ भने चक्रेमिलन, दीपक मनाङे, चरी लगायतका हकमा जेल प्रशासनले कति दबाब झलिरहनुपरेको होला ?, आफै अनुमान गर्न ती अधिकृत भन्छन्, 'जेलको मुख्य ढोकामै निर्माण व्यवसायीलाई बोलाएर पटक-पटक बैठक गरी दुई करोड फिरौती माग्ने हिम्मत यो समूहले एक्लो प्रयासमा गरेको छैन ।
अधिकांश गुण्डाहरू दोहोरो स्वार्थ र संरक्षणका लागि प्रभावशाली नेता र पार्टी निकट पुगेका हुन् । मिलन र चरी सत्तारुढ दल एमाले निकट छन् भने मनाङे सानो पार्टीका युवा नेता छन् ।
जेल सरुवा हुन लागेकाहरू हालै जेलभित्रै एक-अर्काविरुद्ध हानाहान गर्नेहरू हुन् । चक्रेमिलनको समूहलाई छिन्नभिन्न पार्न कारागार प्रशासनले सार्न लागेका पाँच जनालाई पाँच जिल्लामा पठाउने तयारी गरेको छ । स्रोतका अनुसार जेल सार्ने निर्णयको सूचीमा परेकामा लक्ष्मण थापा मगर, हवल्दार भन्ने रोशन मगर, निरे भन्ने निराजन पौडेल, साँढे भन्ने कैलाशकुमार सिंह र नवराज लामा छन् । विभागले लक्ष्मणलाई सिन्धुपाल्चोक, रोशनलाई दोलखा, निराजनलाई गोरखा र नवराजलाई धादिङ पठाउने अन्तिम तयारी गरेको छ ।
काठमाडौंबाट जेल सारेको साता दिन नबित्दै केही कानुन व्यवसायीहरूले अदालतबाट 'कैदी/बन्दीलाई उपस्थिति गराउने' आदेश गराएर काठमाडौं ल्याउन बाध्य बनाउने गरेको गृहका अधिकारीहरू बताउँछन् । डनलाई काठमाडौं ल्याउन योजनाबद्ध रूपमा आएको आदेशलाई नकार्न कारागार प्रशासनले काठमाडौंमा एक दिन उपस्थित गराएर भोलिपल्ट सम्बन्धित जिल्ला पठाइदिने गरेको उदाहरण पनि दर्जनौं छन् ।
कारागार प्रशासनलाई पछिल्लो समयमा काठमाडौंका चर्चित डन 'शुक्रे' टाउको दुखाइ भएको छ । ललितपुरको नख्खु जेलभित्रैबाट शृंखलाबद्ध लुटपाट र फिरौतीको घटना घटाएपछि वीरगन्ज स्थानान्तरण गरिएका शुक्रेले त्यहाँ पनि अराजकता मच्चाएपछि रामेछाप लगिएको थियो । रामेछापको जेलभित्रैबाट ठेक्कापट्टामा गुण्डा पठाई फिरौती मागेर हैरान पारेको सूचना पाएपछि कारागार प्रशासनले उनलाई पुनः गोप्यरूपमा तराईको कुनै जिल्लामा स्थानान्तरणको तयारी गरिररहेको छ । गोप्यरूपमा सार्ने सुराक पाएका राजनीतिज्ञहरूले शुक्रेलाई रामेछापमै राख्न या काठमाडौं ल्याउन चर्को दबाब दिंदै आएको अधिकृतहरू बताउँछन् ।

No comments:

Post a Comment