Sunday, May 8, 2011

भाषामाथि साम्प्रदायिक हैकम


-आनन्दराम पौडेल

२०६७ मङ्सिर १७ गते नेपाल सद्भावना पार्टी (राजेन्द्र महतो)को राष्ट्रिय कार्यसमितिको बिस्तारित बैठकले आगामी जनगणनामा तराईमा सवैले आफ्नो मातृभाषा हिन्दी लेख्नु भनि उर्दी जारी गर्यो ।
आ-आफ्नै मातृभाषा हुँदाहुँदै त्यस्को प्रवर्द्धन गर्न छाडेर अत्यन्तै नगण्य मात्रामा प्रयोग भएको हिन्दीलाइ काखी च्याप्नुपर्ने र शीरमै चढाउनुपर्ने आवश्यकता किन पर् यो भन्ने जिज्ञाशामा उहाँहरुसँग चित्तबुझ्दो जवाफ छैन। सद्भावना पार्टीका प्रवक्ता रामनरेश रायले हिन्दीलाइ मधेशको सम्पर्कभाषा बनाउनुपर्ने भएकोले अहिले मधेशवासी सवैले आफ्नो मातृभाषालाइ छाडेर हिन्दीको विकासमा लाग्नुपरेको बताउनुभयो।
२०५८को राष्ट्रिय जनगणनामा १२;३प्रतिशतले मैथिली, ७;५३प्रतिशतले भोजपुरी, ५;८६प्रतिशतले थारू, २;४७प्रतिशतले अवधी र ०;४७प्रतिशतले हिन्दीलाइ आफ्नो मातृभाषा लेखाएका छन्। यो तथ्याङ्क हेर्दा नेपाल सरहदभरीमा हिन्दी मातृभाषा भएका नेपालीको संख्या आधा प्रतिशतपनि छैन। मातृभाषा हिन्दी भएका नेपालीको संख्या नगण्य भएकोले राष्ट्रभाषा नेपाली नै सम्पर्क भाषा हुनसक्ने स्थिति प्रष्ट देखिंदादेखिंदै हिन्दीको लागि किन मरिहत्ते गर्नुपर् यो ? तराईमधेशलाइ पहाडेबाट अलग्याइने भएकोले नेपालीलाइ बिस्थापित गर्नकै लागि हिन्दी ल्याउनुपरेको उहाँहरुको मत थियो। यो भनेको दाज्यूभाइले झगडा गरेर आमालाइ किनारा लगाएको र पोइल पठाएको स्थिति हो। यो चरम साम्प्रदायिक र बिध्वंशात्मक सोच हो।
करिव ५बर्षदेखि जव नेपालका ठूला कम्युनिष्ट पार्टीहरुले वर्ग छाडेर जातपात र सम्प्रदायको राजनीति गर्न थाले, तवदेखि नेपालीहरु आफूआफूमै बिभाजित भएर यदुवंशी बने। त्यसैको परिणामस्वरुप जात र सम्प्रदायको आवरणभित्र पुराना शोषक र ठालूहरु पुनर्स्थापित भए र आ-आफ्नो राज्यरजौटा निर्माण गर्न थाले। अधिनायकत्व कायम गर्न यिनीहरुले जनतामा भाषा लादे। केही बर्षअघि वीरगञ्जमा आयोजित बृहत आमसभामा मन्त्रीकै हैसियतमा राजेन्द्र महतोजीले तराईमा बसोबास गरिराखेका पहाडेहरु यहीं बस्ने होभने मधेशीको अधीनमा रहन तैयार हुनुपर्छ भनेर भाषण गरेका थिए। महन्थ ठाकुरजीले त मैले भनेअनुसार हुँदैनभने देशै टुक्र्याइदिन्छु भनेर २बर्षअघि नै घोषणा गरेका थिए, जस्लाइ सूत्रवाक्य बनाएर राजेन्द्र महतोजीले पचाशौंपटक दोहोर् याइसक्नुभएको छ। मधेशवादी दलका प्रमुखहरु भर्खर दिल्ली पुगेर फर्केका छन् र उहाँहरुले सम्बिधानसभाको म्याद थप्न नदिने र तराईका सशस्त्रसमूहसँग मिलेर बिध्वंश मच्चाउने उद्घोष गरिसकेका छन्।
 न्याय,समता र भातृत्वको जगमा उभ्याएर हामीले जुन समाज निर्माण गर्न लागेका छौं,त्यस्मा कुनै जातजाती,सम्प्रदाय, भाषाभाषी र बहुसंख्यकको दम्भ र उन्मादको शिकार गैरजातजाती र अल्पसंख्यकले हुनुनपर्ने हो। बहुसंख्यकले अल्पसंख्यकलाइ किनारा नलगाउने र अल्पसंख्यकले पनि आफूलाइ पक्षपात गरेको,उपेक्षा गरेको र हेपिएको महसुस गर्नुनपर्ने नयाँ नेपाल हामीले निर्माण गर्न लागेका थियौं। राजेन्द्र महतोजीले मन्त्री पदमा बसेर भन्नुभएजस्तो मधेशीले कृपा गरेर पहाडेलाइ बस्न दिने र पहाडेले उनीहरुको दयामा बाँच्नुपर्ने लोकतन्त्र र नयाँ नेपालको कल्पना हामीले गरेका थिएनौं। दम्भ र उन्मादको आतङ्क र आक्रामकताको बलमा निर्माण गरिएको संरचना सुरक्षितपनि हुँदैन। प्रश्न मधेशी-पहाडे वा जातजातीको मात्र हैन, प्रश्न एउटा सिङ्गो राष्ट्रको हो, र राष्ट्र तवसम्म सुरक्षित हुँदैन, जवसम्म प्रत्येक समुदाय र हर नागरिकले सुरक्षित महसुस गर्दैन।
“बाँदरबाट मानिस बन्न श्रमको भूमिका” मा एङ्गेल्सले आजको मान्छे कसरी रुपान्तरित भयो भन्ने त वर्णन गरे तर मान्छेबाट मान्छे कसरी टाढिए भनेर लेख्न भुले। हामीले आफूभित्र जति घृणा पाल्यौं र हाम्रो बिवेक हैन दम्भ बोल्न थाल्यो तव हाम्रै वीचमा ठूलठूला पर्खाल खडा हुन थाले। आज घृणाका कारोवारीले जातीवाद,नश्लवाद,भाषावाद,क्षेत्रवाद र साम्प्रदायिकतामा कुनचाहीं अश्त्र बढी मारक होला भनेर साँद लगाइरहेका छन्। घृणाका कारोवारी ती पुराना ठालूहरु हुन्, जोसँग रचनात्मकता मात्रै हैन नविन सोच,योजना र परिकल्पनापनि छैन। घृणासँग कुनै तर्कपनि हुँदैन। बिभाजित गर्ने र भिडाउने अनि त्यही वीचमा आफ्नो बर्चस्व कायम राख्नेबाहेक उनीहरुसँग बढी ज्ञान,बुद्धि र अनुभवपनि हुँदैन। अग्रगामी चिन्तन नहुने भएकोले जातपात,सम्प्रदाय,भाषा र धर्मको नाममा भिडाउनुबाहेक उनीहरुसँग अरु उपायपनि हुँदैन। यति नगरी उनीहरुको आधिपत्य जम्दापनि जम्दैन।
एम एन राय जस्ता चिन्तक र एरिक फ्रम जस्ता मनोविश्लेषकहरुले साम्प्रदायिक, जातीवादी, नश्लवादी, क्षेत्रवादी र भाषावादी उन्माद सामुहिक अहंको अभिब्यक्ति हो भनेका छन् । एउटा साम्प्रदायिकले आफ्नै अकर्मण्यता,निस्कृयता,नपुङ्सकता र पलायनताको दोष अरुमाथि थोपर्न र आफ्नो लाजघीन छोप्नको लागि यस्तो पात्र खोज्न थाल्छ जो सङ्गठीत छैन र जस्माथी सोझै आक्रमण गर्न सकिन्छ। आफ्नो कमजोरी ढाक्दै कित उस्ले इतिहासतिर औंल्याइरहेको हुन्छ अथवा अर्को कुनै समुदायलाइ चोर औंला ठड्याइरहेको हुन्छ। कुण्ठा र अत्महीनताको सामुहिक अहंमा रुपान्तरण नै साम्प्रदायिकता हो। बिवेक हराएको खोक्रो हुने भएकोले साम्प्रदायिकता जैलेपनि उग्र र आक्रामक हुन्छ। जातीवाद,सम्प्रदायवाद,भाषावाद र क्षेत्रवाद यही सामूहिक अहंको भिन्न रुपमात्रै हो। साम्प्रदायिक र जातीवादीहरुको लागि एकदमै अड्मिल्दो के छभने एउटा मानिस कुनै जात वा सम्प्रदायसँग मात्रै सम्बन्धित हुँदैन। उ राष्ट्रको नागरिक, चिन्तक,दार्शनिक, ब्यवशायी, मायालु प्रेमी, अभिवावक तथा समाज र राष्ट्रको अगुवापनि हुन सक्छ। अर्थात् उस्को बिविध आयाम हुन्छ। एउटा ब्यक्तिका बाँकि सवै पहिचानलाइ दबाएर र गौण गरेर जव एउटा मात्र पहिचानलाइ अद्वितीय घोषणा गरिन्छ र यही नै सवथोक हो भनेर प्रचार गरिन्छ, तव समस्या त्यहींबाट शुरु हुन्छ।
साम्प्रदायिकताले उन्नतिपथमा लैजाँदो होत तराईको बितण्डामा लखेटिएका पहाडेहरुलाइ पूर्व-पश्चिम राजमार्ग र चुरेमाथिको पहाडे बस्तिमा स्वागत गरिएको हुन्थ्यो। लखेटिएका पहाडेहरुप्रति सहानुभूति राख्नुसट्टा घडेरीको दाम १०गुना र जग्गाको भाउ ५ गुना बढाएर मानमाथि भुक्तमान थप्ने काम हुँदैनथ्यो। जातीयताले जोड्थ्योभने ०८सालमा पूर्वी पहाडबाट लखेटिएका बाहुनलाइ तराईका बाहुनहरुले सहजकर्ता बनेर ब्यवस्था मिलाइदिन्थे। काश्मीरबाट भगाइएका बाहुनहरुलाइ उत्तरप्रदेश वा राजस्थानका बाहुनहरुले घडेरी दिन्थे। नश्लवादले नजिक ल्याउँथ्योभने पाकिस्तानबाट खेदिएका पञ्जाबीहरुले पञ्जाब प्रान्तमै स्थान पाउने थिए। भारतका पञ्जाबीहरुले उल्टै उनीहरुलाइ “भाप्पे”, “झाँजी” भनेर खिसिट्युरी गर्दै चिढाउँदैनथे। उनीहरुको आश्रयस्थल दिल्ली, कानपुर र आगरा नभएर पञ्जाब हुन्थ्यो। धर्मको रसायनले मजबुत वनाउँथ्योभने मुम्बईबाट राज ठाकरे र बाल ठाकरेले उत्तर भारतका हिन्दूहरुलाइ धपाउँदैनथे।
हिटलरले चलाएको नश्लीय साम्प्रदायिकताले क्षतिबाहेक कसैको हीत गरेन, राज ठाकरे, बाल ठाकरे तथा ओसामा विनलादेनले चलाएको धार्मिक साम्प्रदायिकताले मानवीय सभ्यतालाइ आहत पारेकै छभने नेपालमा राजेन्द्र महतोहरुले अभियान शुरु गरेको भाषिक साम्प्रदायिकताले पनि समाजलाइ नोक्सानबाहेक कुनै हीत गर्ने छैन ।
anandarampaudel@yahoo.com

पासपोर्ट बेच्ने सभासद्लाई १४ दिन थुन्ने अनुमति


२५ वैशाख, काठमाडौं । विशेष अदालतले रातो पासपोर्ट बेचेको अभियोगमा फक्राउ गपरेका सभासदद्धय वीपी यादव र गायत्री साहलाई १४ दिन थुनामा राख्न अनुमति दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयागले सभासदद्धयलाई म्याद थपका लागि विशेष अदालतमा लगेको थियो । अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले अख्तियारको माग अनुसार पक्राउ परेको मितिदेखि लागू हुने गरी १४ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सोही मुद्धामा पक्राउ परेका अध्यागमन विभागका भूमिनन्द भण्डारीलाई १५ दिन थुनामा राख्न अनुमति दिएकाले सोसँग मेल खानेगरी सभासदद्धयलाई पनि १४ दिन थुनामा राख्न अनुमति दिइएको अदालतका रजिष्टार धिरबहादुर चन्दले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
 काठमाडौं जिल्ला अदालतले शुक्रबार जनही १० हजार रुपैयाँ धरैटी लिएर रिहा गरे लगत्तै अख्तियारले अदालत परिसबाटै उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गत बुधबार यादव र साह विरुद्ध काठमाडौं जिल्ला अदालतमा राहदानी ऐन २०२४ अन्तर्गत मुद्धा दायर गरेको थियो ।
म्याद थपसँगै अख्तियारले कुटनीतिक रादहानी दुरुपयोग गर्दा आर्थिक लेनदेन गरेको तथा सरकारी कागज किर्ते गरी गैरकानुनी कार्य गरेको अभियोगमा सभासदद्धयविरुद्ध मुद्धा दायर गर्ने गरेको छ ।
मधेसी जनअधिकार फोरमका सभासद् यादवको नाममा जारी भएको ०१९८९३ नम्बरको कुनीतिक राहदानी बोकेर पृथ्वी छन्त्याल र नेपाली जनता दलकी सभासद् साहको नाममा जारी भएको ०१९८२६ नम्वरको पासपोर्टमा सीता साह अष्ट्रेलिया जाने क्रममा तीन महिना अघि अबुधावी अध्यागमनमा पक्राउ परेर फिर्किएपछि उक्त प्रकरणको खुलासा भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसनन्धान व्युरो (सीवीआई) गत वैशाख ६ गते सभासद्द्धय यादव र साहलाई संविधानसभाबाट बाहिरएलगतै नियन्त्रणमा लिएर थुनामा राखेको थियो । राहदानी दुरुपयोग गरी विदेश गएका छन्त्यला र सीता साह भने तीन महिना अघि नै नेपाल फर्किए पनि अझै पक्राउ परेका छैनन् ।

राज्यमन्त्रीले कब्जा जमाउँदा फुलमन्त्री क्वाटरबिहीन

निजी अपार्टमेन्ट भाडामा लिने तयारी

२५ वैशाख, काठमाडौँ । लामो समयको प्रतिक्षापछि मन्त्री बनेका झलनाथ खनाल मन्त्रिपरिषद्का अधिकांश सदस्यहरु सरकारी आवास पाउन पनि प्रतिक्षासूचीमै बस्नुपर्ने बाध्यतामा पुगेका छन् ।
प्रधानमन्त्री झलनाथ खनालले वैशाख २२ मा चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दा सपथ लिएका एकीकृत नेकपा माओवादी, मधेसी जनाधिकार फोरम, नेकपा माले र संयुक्तका गरी १३ मन्त्रीमध्ये सञ्चारमन्त्री अग्नि सापकोटाले मात्र पुल्चोकस्थित सरकारी निवासमा बस्ने सौभाग्य पाएका छन् ।
सापकोटाले प्रयोग गरेको पुलचोकस्थित मन्त्री क्वाटर उप-प्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादवका लागि बुक गरिएको भएपनि सोही दिन शान्तिमन्त्रीबाट राजीनामा दिएका वर्षमान पुन बाहिरिएलगत्तै सापकोटा भित्रिएका थिए । क्वाटर अभावको सुइँको पाएका मन्त्री पुनले आफु बाहिरिन लागेको सूचना दिएर सापकोटालाई आफु बसेको क्वाटर जिम्मा लगाएका थिए ।
जम्मा २१ वटा क्वाटर रहेको पुलचोकस्थित मन्त्रीहरुको सरकारी निवासमा हाल १९ मन्त्री बसिरहेका छन् । दुईवटा क्वाटर भने छाना चुहिने भएकाले खाली छन् । एमाले र माओवादीबाट दोस्रो र तेस्रो चरणको क्याविनेट विस्तारमा परेका राज्यमन्त्रीसम्मले क्वाटर कव्जा गरेकाले नयाँ मन्त्रीले पुल्चोकमा बास नपाएका हुन् ।
विना विभागीय मन्त्री घनश्याम भुसाल बाहेक एमालेका सात मन्त्री र ८ राज्यमन्त्री तथा पहिलो चरणमा नियुक्त भएका माओवादीका ४ मन्त्रीले भने सरकारी क्वाटर पाएका छन् ।
क्वाटर नपाउनेमा माओवादीका स्वास्थ्य तथा जनसंख्या मन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री प्रभु साह, भूमिसुधार मन्त्री रामचरण चौधरी थारु, युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङ र शान्ति मन्त्री विश्वनाथ साह छन् । त्यसैगरी फोरमका उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव, कृषिमन्त्री हरिनारायण चौधरी र श्रममन्त्री मोहम्मद इस्तियाक राईले पनि क्वाटर पाएका छैनन् ।
सुबिधासम्पन्न मानिने सरकारी क्वाटरको प्रतिक्षासूचीमा रहने अन्य मन्त्रीहरुमा नेकपा संयुक्तका तर्फबाट वातावरण मन्त्री बनेका सुनिल मानन्धर र मालेबाट प्रतिनिधित्व गर्ने संस्कृतिमन्त्री खगेन्द्र प्रसाई छन् ।
क्वाटर नपाएपछि मन्त्रीहरु पूरानै डेरामा बसिरहेका छन् । युवा तथा खुलकुद मन्त्री हितबहादुर तामाङले क्वाटर नपाएकाले सुकेधारामा यसअघि बस्दै आएको डेराबाटै मन्त्रालय धाउने गरेको बताए ।
‘एमालेका राज्यमन्त्री सम्मले क्वाटर पाएका छन्’ अनलाइनवखरसित कुरा गर्दै तामाङले भने ‘हामी फूलमन्त्री भने बास खोज्दै हिँड्नु पर्ने अवस्था आएको छ, राज्यमन्त्री निवास कब्जा गरिदिए ।’
मन्त्री तामाङले क्वाटर नपाएको विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएपनि कुनै जवाफ नआएको बताए । तामाङले भने ‘सरकारी क्वाटर पाउने छाँट छैन, बाहिरै डेरा खोजिरहेको छु ।’
क्वाटर सुविधाबाट वञ्चित मन्त्रीहरुले प्रधानमन्त्री झलनाथ खनालसमक्ष एमालेका राज्यमन्त्री हटाएर क्वाटरमा आफूहरु बस्न पाउनु पर्ने माग गरेका छन् । जवाफमा प्रधानमन्त्रीले बसिसकेकालाई हटाउन अप्ठ्यारो पर्ने भन्दै कुनै निजी अपार्टमेन्ट भाडामा लिएर मन्त्रीहरुलाई आवास व्यवस्था गर्ने आस्वासन दिनुभएको स्रोतले जनाएको छ ।
तर, खनाल सोमबारदेखि सुरु हुने अतिकम विकसित मुलुकहरुको संगठन (एलडिसी) को सम्मेलनमा भाग लिन टर्की गएकाले त्यताबाट नफर्किँदासम्म मन्त्रीहरुका लागि नयाँ आवास व्यवस्था नहुने पक्का छ ।
कसरी आयो समस्या ?
यसअघि क्याबिनेटस्तरका (फुल)मन्त्रीले मात्र पुल्चोकका सरकारी आवास प्रयोग गर्ने गरेपनि यसपटक भने एमालेका राज्यमन्त्रीहरुले पहिल्यै क्वाटर कव्जा गरेपछि अरु मन्त्री क्वाटरविहीन भएका हुन् ।
प्रधानमन्त्री झलनाथ खनालले तेस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा एमालेबाट राज्यमन्त्री बनेका ल्हारक्याल लामा बाहेक सात राज्यमन्त्री पुल्चोक क्वाटरमा बसिरहेका छन् । यसअघि राज्यमन्त्रीहरुलाई घरभाडा बापत मासिक १० हजार रुपैयाँ दिएपनि सरकारी आवास भने प्रयोग गर्न दिदैनथ्यो ।