Thursday, March 17, 2011

बल्खुदरबार र पेरिसडाँडा

-- केदारनाथ गौतम
क्रान्तिकारी स्पिरिटका साथ ०२८ मा झापामा सुरु गरिएको 'वर्गशत्रु खत्तम अभियान' को जगमा खडा भएको तत्कालीन माले त्यसैको ब्याज खाएर एमालेका रूपमा आजसम्म जसोतसो टिकेको छ । थुप्रै कमीकमजोरी र अष्पष्टता एवं दिशाहीनताका बाबजुद झापाली विद्रोह क्रान्तिकारी उद्देश्यमा आधारित सही आन्दोलन थियो भन्ने कुरा एकीकृत नेकपा (माओवादी) को नेतृत्वले दस्तावेजहरूमार्फत संश्लेषण गरिसकेको विषय हो । तर, आज एमाले कहाँ उभिएको छ, के गर्दैछ र उसले कुन भविष्य तर्फको यात्रा तय गरिसकेको छ भन्ने कुराको चर्चा गरिरहनु पर्दैन ।

१ फागुन, २०५२ देखि जनयुद्धको आह्वान गरी १० वर्षसम्म त्यसको सफल नेतृत्व गरेर आफ्नो छुट्टै सैन्य शक्तिसहित नेपालका ८० प्रतिशत भूभागमा जनसत्ता र जनअदालत सञ्चालन गरेको एकीकृत नेकपा (माओवादी) यतिबेला नेपालको जनअनुमोदित प्रमुख राजनीतिक दलका रूपमा क्रियाशील छ । चालू शान्ति-प्रक्रियाको आधा हिस्साका रूपमा रहेको माओवादी ७ मंसिर, २०६२ मा सम्पन्न बाह्रबुँदे समझदारी यता खुला राजनीतिक प्रतिस्पर्धामा छ । भूमिगतरूपमै जन्मे-हुर्केर १० वर्षसम्म जीवन-मरणको युद्ध लडेको सो पार्टी त्यतिबेला जनसमुदायको ठूलो हिस्साका अगाडि खुला नै भए तापनि विरोधी र आलोचकहरूका आँखामा भने गुप्त थियो । त्यस अवधिमा भएका उसका कमी-कमजोरी र गल्तीहरू जनताले औंल्याउनासाथ सच्याइन्थे, ध्वंसात्मक विरोध गर्नेहरू र पार्टीभित्र घुसेर अन्तर्ध्वंस मच्चाउन चाहनेहरूको पहुँच कमै मात्र हुन्थ्यो । आज स्थिति फेरिएको छ, पार्टीभित्र माओवादीभन्दा गैरमाओवादीहरूको बोलावाला र वर्चश्व बढ्दैछ भने बाहिरबाट हेर्दा पनि भित्रका दृश्यहरू छ्याङछ्याङती देखिने गरेका छन् । यस्तो स्थितिमा ०२८ देखि आजसम्मको एमाले व्यहोरेका नेपालीले माओवादी-यात्रालाई तत्कालीन माले-यात्रासँग र पेरिसडाँडालाई बल्खु दरबारसँग तुलना गरेर हेर्नुलाई अन्यथा ठान्न पनि त मिल्दैन ।

हाल सरकार गठनको प्रक्रिया चालू छ । माओवादीले सरकारलाई पनि 'संघर्षकै एउटा मोर्चा' बताउने गरेको छ । यस्तो मोर्चाको नेतृत्व र विधिका विषयमा नेताहरूबीच हानाथाप परेका र आपसी वैमनश्यता छाएका समाचार छ्याप्छ्याप्ती आए । बल्खुबाट आउने टुकुचाको गन्ध पेरिसडाँडाबाट पनि प्रवाहित हुनु कसैका लागि त खुशीकै कुरा होला तर बहुसंख्यक श्रमजीवी वर्गका लागि निकै दुःखद् विषय भएको छ । लाटासोझा जनताले बुझ्नेगरी बल्खुदरबार र पेरिसडाँडा बीचको भिन्नता प्रष्ट्याउने जिम्मेवारी पनि माओवादी नेताहरूकै होइन र ?

राजा अंकित नोट साट्नु नपर्ने

  • राष्ट्र बैंकले भने सर्वसाधारणलाई सस्ती भएकाले यथावत चल्न दिने निर्णय गरेको जनाएको छ ।
  •  'राजपत्रमा सूचना जारी नगरी काम सुरु गरिएको रहेछ,' अख्तियार स्रोतले भन्यो, 'त्यसैले यसलाई रोक्न निर्देशन दिएका हौं ।'
काठमाडौ, चैत्र ३ - अख्तियारको हस्तक्षेप पछि राष्ट्र बैंकले चैतदेखि राजाको तस्बिर अंकित नोट नचल्ने निर्णय परिवर्तन गरेको छ । केन्द्रीय बैंकले बिहीबार गरेको निर्णय अनुसार अबदेखि राजाको तस्बिर अंकित नोट पनि चल्ने भएको छ । साटिरहनु नपर्ने भएको छ ।
अख्तियारले नोट साट्नपूर्व जानकारी नदिएको भन्दै डेपुटी गभर्नर सहित अन्य पदाधिकारीसँग जानकारी मागेकोे थियो । 'राजपत्रमा सूचना जारी नगरी काम सुरु गरिएको रहेछ,' अख्तियार स्रोतले भन्यो, 'त्यसैले यसलाई रोक्न निर्देशन दिएका हौं ।' डेपुटी गभर्नर सहित विभिन्न विभागका चार पदाधिकारी अख्तियार गएका थिए ।
राष्ट्र बैंकले भने सर्वसाधारणलाई सस्ती भएकाले यथावत चल्न दिने निर्णय गरेको जनाएको छ । 'सबैलाई सास्ती भएकाले राजाको तस्बिर अंकित नोट चल्ने दिने निर्णय गरेका छौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
चैत १ गतेबाट दुई सरकारीका साथै तीन निजी बैंकमा राजाका तस्बिर अंकित नोट साट्न सुरु भएको थियो । नोट नै नचल्ने हल्ला भएर सर्वसाधारणको ठूलो लाम बैंकमा लागेको थियो ।
गणतन्त्र स्थापना पछि बनेको सरकारको २०६२ जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजाका तस्बिर अंकित नोट चलनचल्तीबाट क्रमशः हटाउँदै जाने निर्णय गरेको थियो । निर्णयलाई कार्यान्वयन गर्दै केन्द्रीय बैंकले फागुन मसान्तबाट राजाका तस्बिर भएका नोट चलनचल्तीबाट हटाउने तयारी गरेको थियो । बैंकमा जम्मा भएको नोट मात्र साट्दा राजाका तस्बिर अंकित नोट नहट्ने भएपछि तोकिएका केन्द्रमा मात्र साट्न सकिने व्यवस्था गरियो । 'अर्को व्यवस्था नभएसम्मका लागि बजारमा नोट यथावत चल्नेछन्,'     ज्ञवालीले भने । केन्द्रीय बैंकका अनुसार बुधबारसम्म बजारमा ८ अर्ब रुपैयाँ बराबरको राजाका तस्बिर अंकित नोट छन् । यो रकम बराबरको नयाँ नोट छापिसकिएको भए पनि अब साटेर चलाइने काम रोकिनेछ । केन्द्रीय बैंकले वित्तीय संस्था मार्फत नै यसलाई विस्थापन गर्दै जाने जनाएको छ ।
राजाको तस्बिर हटाएर नयाँ नोट प्रचलनमा आइसकेपछि पनि ६० देखि ७० अर्ब रुपैयाँको हाराहारीमा राजाका तस्बिर
अंकित नोट बजारमा थिए । यसलाई बिस्तारै प्रयोगबाट हटाएर गत माघसम्ममा २८ अर्ब रुपैयाँको पुरानो नोट मात्र बजारमा उपलब्ध थिए । केन्द्रीय बैंकले आयु सकिएका नोटलाई प्रणालीबाट बाहिर ल्याएर ँनयाँ नोट पठाउने गरेको छ । यसबाहेक आर्थिक वर्ष २०६६/०६७ को मौदि्रक नीति मार्फत राष्ट्र बैंकले सफा नोट नीति लिएको छ ।  नोट पुरानो भएपछि यसमा प्रयोग भएका सुरक्षा चिह्न मेटिने र नक्कली प्रयोगमा आउन सक्ने सम्भावना रहेकाले विभिन्न मुलुकले समयसमयमा पुराना नोट प्रतिस्थापन गर्ने गर्छन् ।