Monday, May 2, 2011

गच्छदारहरुलाई मधेशका प्रश्न ?


- रोशन खड्का 




यसअघि लामो समयसम्म सत्तामा बसेका केही मधेशवादी दलहरुले 'जनविद्रोह' तयारी गर्न लागेको समाचार सुन्दा अच्चम लागेको छ । सरकारबाट बहिगर्मन भएको एक महिना नबित्दै मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक)का नेता विजयकुमार गच्छदार, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तमलोपाका अध्यक्ष महन्त ठाकुरलगायत केही मधेशवादी दलका नेताहरुले आन्दोलनमा उत्रने चेतावनी दिनुलाई कुर्सीसँग र  सत्तासँग जोडेर हेर्न मिल्ने कि नमिल्ने सबैभन्दा पहिलो प्रश्न यही बन्नुपर्छ ।
जसलाई संविधानसभामा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया चलिरहँदा मधेशका स्वतन्त्र सभासद बबनसिंहले छलकपट नगरी स्पष्ट चित्रण गरिसकेका छन् । जो पहिलो प्रश्नको सोझो र सटिक उत्तर हो ।
माधव नेपाल गठबन्धमा सहभागी बनेका मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक), तमलोपा र सदभावनालगायतका दलहरुका नेता सत्ता गुमेको झोकमा आन्दोलन गर्छन् भन्ने तथ्य अब कसैका अगाडि लुकेर रहन सक्दैन् । जुन विषय उनीहरुको 'जनविद्रोह' गर्ने  पछिल्लो निर्णयले झन छर्लङ पारिदिएको छ । करिब २० महिना माधव नेपाल नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका मधेशवादी दलका नेता विजय गच्छदारसहित एक दर्जन नेताहरुले त्यतिबेला मधेशी जनता र मधेशका साझा समस्याका बारेमा 'चु सम्म बोलेनन् । तर, अहिले मधेशका माग सरकारले सम्वोधन नगरेको भन्दै आन्दोलन गर्ने भनिरहेका छन् । तर, उनीहरुको कालो नियतलाई मधेश र त्यहाँका जनताले सफा ऐनामा राम्रैसँग चियाइसकेका छन् । त्यसैले जति अधिकारका सपना बाडे र चिल्ला राजनीतिक नाराहरु अगाडि सारेपनि मधेशका उत्पीडित जनताले पत्याउनेवाला छैनन् । बरु, मधेशका सड्कमा गच्छदारहरु भाषण गरिरहँदा सोध्नेछन्, "गच्छदार यसअघिका २० महिनामा कहाँ थियौ । वालुवाटार र लैनचौरको भोज सकियो ?"  
सत्ताको भर्‍याङका लागि मधेशको राजनीतिलाई उपयोग गर्ने गच्छदारशैली अब मधेशका लागि स्वीकार्य हुने छैन । सत्तामा हुँदा मधेशी जनताको दुखः र कष्ट नदेख्ने तर सत्ताबाट हटिसकेपछि जनताका दुखः,कष्ट र अधिकारका कुरा उठाउदै सरकार जाने बाटो बलियो पार्ने 'दुई जिव्रे' नेताहरुलाई मधेशका जनताले चिन्न आवश्यक छ । सत्तामा रहँदा ठुला राजनैतिक दलहरुको प्रतिब्द्धता मात्र आवश्यक पर्ने तर सत्ताबाहिर हुनेबितिकै कार्यान्वयनको कुरा उठाउने मधेशवादी दलहरुको चरित्र दोहोरो देखिन थालेको छ । सत्ताकै लागी कहिले कोही पार्टीको भरौटे त कहिले कुनै पार्टीको भरौटे बनेका गच्छदार मार्काहरु दलका नेताहरु सत्ताकै लागी फुटेको हामीले देखेका छौ । उनीहरुको चरित्र सत्ता पाउने स्थिती भए जेसुकै गर्न तयार हुने देखिएको छ । यो आम मधेशका जनता र मधेश आन्दोलनका लागि नै बिडम्बनाको कुरा हो ।

मधेशका जनताको पहिलो रोजाई यतिवेला शान्ति र संविधान हो गच्छदार, महतो र ठाकुरहरुले भनेजस्तो जनविद्रोह होइन र कदापी हुन सक्दैन पनि । अझभन्दा लामो समयदेखि सशस्त्र समूहको चेपुवामा परेको मधेशको पहिलो रोजाइ भनेको शान्ति हो । किनभने लामो समयदेखि उनीहरु असुरक्षित महसुस गरिरहेको छन् । लामो समयदेखि मधेशका बस्तीहरु हत्या, अपहरण र चन्दाजस्ता समस्याहरुको भयबाट आजित बनिरहेका छन् ।

अर्को आवश्यकता भनेको संघीयता, समावेशी र मधेशका मुद्दाहरु नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नु हो । त्यसका लागि संविधानसभामा रहेर सकरात्मक र रचनात्मक भूमिका अहिले गच्छदारहरुबाट गरिएको अपेक्षा हो । मधेशी जनता निश्चित रुपमा पनि उत्पीडित र उपेक्षित छन् । तर, उनीहरुको वास्तविक मुक्ति नयाँ परिवर्तनले तयार पारेको वास्तविक संविधानसभाबाट मात्र पूरा हुन सक्छ । मधेशवादी नेताहरुको चरित्र भने जनतालाई अधिकार सम्पन्न बनाउने होइन त्यहाँका जनतालाई दास वनाउने किसिमको छ । यो सिङो मधेश र मधेशका जनताका लागि सबैभन्दा घातक विषय हो । त्यसैले मधेशका जनताहरुले गच्छदारहरुलाई जवाफ दिनुपर्छ र भन्नुपर्छ, "हामीले तिमीहरुलाई मत दिएर संविधान लेख्न र शान्ति प्रक्रिया पूर्णता दिने जिम्मेवारी दिएर पठायौ त्यसलाई पूरा गर अनि मात्र हाम्रो बस्तीमा आओ ।"

अब मधेशले कुर्सीकै लागि झगडा गर्ने र सधैभर लडिरहने नेताहरुबाट पनि स्पष्ट दृष्ट्रिकोण माग गर्नुपर्दछ । एक जना मधेशवादी दलका नेताले  यो पंक्तिकारलाई निकै इमान्दारीपूर्ण तरिकाले भनेका थिए मधेषमा एक-दुई जना नेताबाहेक अरु मधेशका नेता इमान्दार छैनन् । अर्कोतर्फ,  अहिले मधेशमा बेरोजारी, भ्रष्टाचार र असुरक्षाले सीमा नागेको छ । खै त यो विषयमा के बोल्दैछन् गच्छदारहरु ?

नेपाली स्वाभिमान भारतलाई बैच्दैछ काठमाण्डौँका ग्यालेक्सी पब्लिक स्कुल



बालो मष्तिषकयूक्त कलिला बाबुनानीलाई जे सिकायो त्यहि सिक्छन्, हामी सबैलाई थाहा छ । यसैकारण हामी आफ्ना बालबच्चालाई क,ख १,२, वा ए,बि,सी पढाउन सानै उमेरमा विद्यालय पठाउछौँ तर यही कलिलो मष्तिष्कमा नेपालको राष्ट्रिय पंछी मयुर, नेपालको राष्ट्रिय जनावर बाघ र नेपालको राष्ट्रिय फूल कमल भनि सिकाइदै छ जुन भारतका राष्टिय प्रतिक हुन् । यही पढाउदै बनाइदैछ बालबवालिकलाई भारतीय । कुरो हो काठमाडौका सुकिलामुकिलाका पदवी पाएकाहरूका सन्तान पढ्ने , २४ सय विद्यार्थी भएको भन्ने ग्यालेक्सी पब्लिक स्कूलको कक्षा १ जो पठनपाठनको । जहाँ नेपाली पाठ्यक्रमको कुनै प्रयोग छैन । यस्तै कक्षा एकको गणित बिषय पढाउदाँ ‘पैसे’ भनेर नेपाली नोट चिनाइन्छ । रुपये भनेर गान्धीको टाउको भएको आईसी चिनाइन्छ र, त्यसैलाई जोडा मिलाउ भन्छ । यस्तै पढिरहेछ नेपाली बालक। र, ग्यालेक्सीले कक्षा १ मा अध्यापन गराइरहेको टाइम टु राइट नामको अंग्रेजी किताब, जुन भारतस्थित मधुवन पब्लिकेशनले प्रकाशन गरेको हो ।यसमा लेखिएको छ राष्ट्रिय पंछी मयुर, राष्ट्रिय जनावर बाघ र राष्ट्रिय फूल कमल ।
एक कक्षामा पढ्ने नेपाली बालकको मस्तिष्कमा यस्तै घुसाउँदै छ त्यो पाठ्यलय यसरी नै बिताइसकेको छ एकबर्ष ग्यालेक्सीले । कक्षा एककै अर्को विषय गणितमा पनि नेपाली विषयवस्तुहरु समावेश गरिएको छैन । छ त भारतीयहरुको प्रचारबाजिमात्र । पैसे भनेर नेपाली नोट चिनाइन्छ। र, त्यसैलाइ जोडा मिलाऊ भन्छ। यस्तै शिक्षाको ब्यापार गरिरहेको छ ग्यालेक्सी पब्लिक स्कुल । त्यसकी अध्यक्ष गीता राणाको भनाइ बेग्लै छ र दु:ख लागदो छ । नेपाली किताबमा विषयवस्तु नै कम छन् रे अनि इन्डियन किताब पढाउन बाध्य भईयोरे । यो कस्तो तर्क हो ? के यस्तो स्वभाविक छुट छ यो गणतन्त्रमा ?राष्ट्रियताको खिल्ली उडाउनपनि कतिसम्म सकेको त ? मस्तिष्कमा अमीट छापको सुरुवात हो कक्षा एक र, तिनलाई नेपाली पहिचानबारे गलत ज्ञान दिइयो भने त्यसको असर कति भयानक हुन्छ होला ? अनि यो ग्यालेक्सी पब्लिक स्कूल के राष्ट्रिय चिन्हहरु जान्दैन ? नत्र, के सिकाएको त त्यस्तो ? ग्यालेक्सी पब्लिक नामको स्कूलमा पढ्न गएका नेपाली सन्तानलाई उसले सिकाइरहेको नेपाली पहिचानविरुद्धको अध्यायमा लेखिएको छ : तिम्रो राष्ट्रिय चिनारीहरु भारतका हुन् वा तिमी भारतीय हौ । यो पनि धेरै नेपाली विद्यार्थीहरुलाइ पढाइसकिएको छ र अझ पनि यो पढाइदै छ । एक कक्षामा पढ्दै गरेका नेपाली बालबालिकालाई उसले पढायो : भारतको राष्ट्रिय चिनारी नै तिम्रो देशको चिनारी हो ।
यो नेपाली स्वाभिमानको क्षतिमा ग्यालेक्सी नामको स्कुलले गुमाउनु पर्ने शायद केही हुँदैन होला फेरि पनि ।
अनि ती विद्यालयमा आफ्ना बालबालिका पढ्न पठाउने ती सुकिला मुकिला पनि के भारतकै दलाल हुन् ? या तिनीहरूलाई आफ्ना सन्तानलाई कुन स्तरको शिक्षा दिईदैछ भन्ने यिनलाई थाहा नै छैन । थाहा नभएको भए यी कस्ता बाबुआमा जस्लाई आफ्नो सन्तानको भविष्यबारे केही पनि मतलब छैन । आफ्नो सन्तानको मष्तिष्कमा कस्तो शिक्षा भरिदिदै छ भन्ने थाहा नपाउने बाबुआमाले पनि आफूलाई जन्म र कर्म मैले दिएको भन्न मिल्ला र ? यदी आफ्नो सन्तानको भविष्यको चिन्ता छ र उनीहरूलाई यस्तो पढाइदै छ भन्ने थाहा भने यी के हेरेर बसिरहेका छन् त ? देशको स्वाभिमानमा आँच आउने यस्ता कुरामा किन बोल्दैनन् यी बाबुआमा भनाउँदाहरू ।
की यी सम्भ्रान्त परिवारले पनि त्यही भारतको फरियाभित्र छिरेर आफ्नो स्वाभिमान बेचिसकेको छ । हामी नेपाली वीर गोर्खालीका सन्तान भनेर विश्व भर चिनिन्छौ तर यस्तो अवस्थामा देशलाई अर्को देशको प्रान्त बनाउन किन लागिपरेका छन् यी नेपालका नेता अनि यी सम्भ्रान्त परिवारहरू ? के हाम्रो कुनै अस्तित्व छैन के हामी भारतीय नै भैसक्यौ त ? हरेक पटक, हरेक क्षेत्र, हरेक ठाऊँमा भारतको दवावमा बाच्नु पर्ने यो कस्तो बिडम्बना हो हामी नेपालीको अनि कति लज्जास्पद !