- रोशन खड्का
यसअघि लामो समयसम्म सत्तामा बसेका केही मधेशवादी दलहरुले 'जनविद्रोह' तयारी गर्न लागेको समाचार सुन्दा अच्चम लागेको छ । सरकारबाट बहिगर्मन भएको एक महिना नबित्दै मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक)का नेता विजयकुमार गच्छदार, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तमलोपाका अध्यक्ष महन्त ठाकुरलगायत केही मधेशवादी दलका नेताहरुले आन्दोलनमा उत्रने चेतावनी दिनुलाई कुर्सीसँग र सत्तासँग जोडेर हेर्न मिल्ने कि नमिल्ने सबैभन्दा पहिलो प्रश्न यही बन्नुपर्छ ।
जसलाई संविधानसभामा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया चलिरहँदा मधेशका स्वतन्त्र सभासद बबनसिंहले छलकपट नगरी स्पष्ट चित्रण गरिसकेका छन् । जो पहिलो प्रश्नको सोझो र सटिक उत्तर हो ।माधव नेपाल गठबन्धमा सहभागी बनेका मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक), तमलोपा र सदभावनालगायतका दलहरुका नेता सत्ता गुमेको झोकमा आन्दोलन गर्छन् भन्ने तथ्य अब कसैका अगाडि लुकेर रहन सक्दैन् । जुन विषय उनीहरुको 'जनविद्रोह' गर्ने पछिल्लो निर्णयले झन छर्लङ पारिदिएको छ । करिब २० महिना माधव नेपाल नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका मधेशवादी दलका नेता विजय गच्छदारसहित एक दर्जन नेताहरुले त्यतिबेला मधेशी जनता र मधेशका साझा समस्याका बारेमा 'चु सम्म बोलेनन् । तर, अहिले मधेशका माग सरकारले सम्वोधन नगरेको भन्दै आन्दोलन गर्ने भनिरहेका छन् । तर, उनीहरुको कालो नियतलाई मधेश र त्यहाँका जनताले सफा ऐनामा राम्रैसँग चियाइसकेका छन् । त्यसैले जति अधिकारका सपना बाडे र चिल्ला राजनीतिक नाराहरु अगाडि सारेपनि मधेशका उत्पीडित जनताले पत्याउनेवाला छैनन् । बरु, मधेशका सड्कमा गच्छदारहरु भाषण गरिरहँदा सोध्नेछन्, "गच्छदार यसअघिका २० महिनामा कहाँ थियौ । वालुवाटार र लैनचौरको भोज सकियो ?"
सत्ताको भर्याङका लागि मधेशको राजनीतिलाई उपयोग गर्ने गच्छदारशैली अब मधेशका लागि स्वीकार्य हुने छैन । सत्तामा हुँदा मधेशी जनताको दुखः र कष्ट नदेख्ने तर सत्ताबाट हटिसकेपछि जनताका दुखः,कष्ट र अधिकारका कुरा उठाउदै सरकार जाने बाटो बलियो पार्ने 'दुई जिव्रे' नेताहरुलाई मधेशका जनताले चिन्न आवश्यक छ । सत्तामा रहँदा ठुला राजनैतिक दलहरुको प्रतिब्द्धता मात्र आवश्यक पर्ने तर सत्ताबाहिर हुनेबितिकै कार्यान्वयनको कुरा उठाउने मधेशवादी दलहरुको चरित्र दोहोरो देखिन थालेको छ । सत्ताकै लागी कहिले कोही पार्टीको भरौटे त कहिले कुनै पार्टीको भरौटे बनेका गच्छदार मार्काहरु दलका नेताहरु सत्ताकै लागी फुटेको हामीले देखेका छौ । उनीहरुको चरित्र सत्ता पाउने स्थिती भए जेसुकै गर्न तयार हुने देखिएको छ । यो आम मधेशका जनता र मधेश आन्दोलनका लागि नै बिडम्बनाको कुरा हो ।
मधेशका जनताको पहिलो रोजाई यतिवेला शान्ति र संविधान हो गच्छदार, महतो र ठाकुरहरुले भनेजस्तो जनविद्रोह होइन र कदापी हुन सक्दैन पनि । अझभन्दा लामो समयदेखि सशस्त्र समूहको चेपुवामा परेको मधेशको पहिलो रोजाइ भनेको शान्ति हो । किनभने लामो समयदेखि उनीहरु असुरक्षित महसुस गरिरहेको छन् । लामो समयदेखि मधेशका बस्तीहरु हत्या, अपहरण र चन्दाजस्ता समस्याहरुको भयबाट आजित बनिरहेका छन् ।
अर्को आवश्यकता भनेको संघीयता, समावेशी र मधेशका मुद्दाहरु नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नु हो । त्यसका लागि संविधानसभामा रहेर सकरात्मक र रचनात्मक भूमिका अहिले गच्छदारहरुबाट गरिएको अपेक्षा हो । मधेशी जनता निश्चित रुपमा पनि उत्पीडित र उपेक्षित छन् । तर, उनीहरुको वास्तविक मुक्ति नयाँ परिवर्तनले तयार पारेको वास्तविक संविधानसभाबाट मात्र पूरा हुन सक्छ । मधेशवादी नेताहरुको चरित्र भने जनतालाई अधिकार सम्पन्न बनाउने होइन त्यहाँका जनतालाई दास वनाउने किसिमको छ । यो सिङो मधेश र मधेशका जनताका लागि सबैभन्दा घातक विषय हो । त्यसैले मधेशका जनताहरुले गच्छदारहरुलाई जवाफ दिनुपर्छ र भन्नुपर्छ, "हामीले तिमीहरुलाई मत दिएर संविधान लेख्न र शान्ति प्रक्रिया पूर्णता दिने जिम्मेवारी दिएर पठायौ त्यसलाई पूरा गर अनि मात्र हाम्रो बस्तीमा आओ ।"
अब मधेशले कुर्सीकै लागि झगडा गर्ने र सधैभर लडिरहने नेताहरुबाट पनि स्पष्ट दृष्ट्रिकोण माग गर्नुपर्दछ । एक जना मधेशवादी दलका नेताले यो पंक्तिकारलाई निकै इमान्दारीपूर्ण तरिकाले भनेका थिए मधेषमा एक-दुई जना नेताबाहेक अरु मधेशका नेता इमान्दार छैनन् । अर्कोतर्फ, अहिले मधेशमा बेरोजारी, भ्रष्टाचार र असुरक्षाले सीमा नागेको छ । खै त यो विषयमा के बोल्दैछन् गच्छदारहरु ?
No comments:
Post a Comment