रमेश विवश बाजारा/संगीन श्रेष्ठ
एउटी अवोध किशोरी, जसलाई न कुनै पार्टी थाहा थियो न कुनै राजनीति नै । हो उनै किशोरी अर्थात् काभ्रेको खरेल- थोककी मैना सुनारको हत्यामा संलग्न भएका कारण राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चामा आएका छन् नेपाली सेनाका मेजर निराजन बस्नेत । उनै बस्नेत हुन् घरमा बसिरहेकी १५ वर्षिया मैनालाई पक्रेर पाँचखालस्थित तालिम केन्द्रमा ल्याउने र आफ्ना हाकिम महासेनानी बबी खत्रीको आदेशमा मैनालाई बाल्टीको पानीमा चोपल्दै करेन्ट लगाउने । उनै वस्नेतलाई त्यसैगरी करेन्ट लगाइएको भए के हुन्थ्यो अनी तातोपानीमा चोपल्दै उनीमाथि यातना दिइएको भए के हुन्थ्यो तर उनले त्यो सोँच्न समेत सकेनन । आतङ्ककारी भएको भन्दै मैनामाथि यातनाका क्रम दोहोर् याइरहे । अन्ततः मैना सुनारले यो धर्ती छाडिन् । तर मैनाको आत्माले वस्नेतमात्रै होइन खत्री र उनका सहयोगीहरु सुनिल अधिकारी र अमित पुनलाई पछ्याइ- रहेको छ । न्यायको खोजी गर्दै ।
२०६० साल फागुनमा घटेको त्यो हत्याकाण्डले पटक पटक नेपाली साचार जगतमा चर्चा पाउने गरेको छ । र दिनदिनै अखबार र देलिभिजन च्यानल हरुमा छाएको छ यो घटना । वस्नेतलाई शान्ति सेनाबाट फर्काइएपछि उनी चर्चामा आएका हुन् । उनलाई नेपाल प्रहरीको जिम्मा लगाएर नागरिक अदालतमा उभ्याउन सारा संसारले माग गरिरहेको छ । तर नेपाली सेना यो मान्न तयार छैन । उ अझै वस्नेतलाई निर्दोष ठान्दै आइरहेको छ र भनिरहेको छ "उनको कुनै कसुर छैन ।" तर मैनाको परिवार मात्रै होइन सारा संसार यो मान्न तयार छैन ।
मैना सुनार हत्याकाण्डको नालिबेली जान्न चाहने हाम्रा असंख्य पाठकहरुको चाहनालाई ध्यानमा राखी मैना सुनार हत्याकाण्डको विस्तृत जानकारी तल उल्लेख गरेका छौँ ।
यसरी भयो मैना सुनारको हत्या
द्वन्द्व चर्किंदै थियो । मान्छे धमाधम मारिँदै थिए । नेकपा माओवादी र तत्कालिन शाही सेनाबीच जिल्लाका विभिन्न स्थानमा भिडन्त भइरहेका थिए । जिल्लाका दुर्गम भेगमा माओवादी र शहरी क्षेत्रमा शाही सेनाको चलखेल व्यापक थियो । निर्दोष जनताहरु आतङ्ककारीको नाममा मारिने क्रम पनि जारी थियो । सोही क्रममा २०६० माघ २९ गते पोखरीचौरीकी १७ वर्षिया रिना रसाइलीलाई राती घरबाटै पक्राउ गरी घर नजिकै विहानीपख सुरक्षाकर्मीले गोली हानी हत्या गरे । आफ्नी दाइकी छोरीको हत्या भएको सुनेर माइती पुगेकी खरेलथोक-५ की देवी सुनारले घटनाबारे मानवअधिकारवादी र पत्रकारलाई बताइन् र तत्कालिन शाही नेपाली सेनाको नजरमा परिन देवी सुनार । केही दिनपछि सेनाले खरेलथोक-५ कि विमला बिकलाई पक्राउ गरी उनैको सूचनाको आधारमा देवीको खोजीमा सेना लागेको थियो । स्रोतका अनुसार पाँचखालस्थित युद्ध कार्य शान्ति तालिम केन्द्रका कार्यवाहक प्रमुख महासेनानी बबी खत्रीलाई बिमलाले भनेकी थिइन् "देवी सुनार माओवादी हो । उसलाई घरबाटै समाउन सकिन्छ ।" हो यही खबरले १५ वर्षिय बालिका मैना सुनारको पाशविक तरिकाले हत्या भयो । र अहिले यो हत्या प्रकरणले सिङ्गो नेपाली सेना विवादको घेरावन्दीमा परेको छ । महासेनानी बबी खत्रीले आदेश दिए "त्यो देवी सुनारलाई जसरी भए पनि पक्रेर ल्याउनु ।" सोही आदेशलाई पालना गर्दै तत्कालिन सहसेनानी निराजन वस्नेतको नेतृत्वमा सेनाको कोभर्ट टोली ५ फागुन २०६० मा खरेलथोक हिँड्यो । केन्द्रबाट आठ किलोमिटर टाढा रहेको सुनारको घरमा उक्त टोलीले देवीलाई भेटेन । अनी उठायो कक्षा ९ मा पढ्दै गरेकी १५ वर्षिया मैना सुनारलाई । आँखामा पट्टी लगाएर हात बाँधेर मैनालाई केन्द्र ल्यायो उक्त टोलीले । मैनालाई जब तालिम केन्द्र ल्यायो अनि सुरु भयो यातना दिने कार्य ।
अन्तर्राष्ट्रिय कानूनको उलङ्घन मानवअधिकारको हनन र युद्धको नियमसमेत पालना नगरी माओवादी भएको भन्दै मैनामाथि यातना दिन सुरु भयो । सेनाले गठन गरेको "कोर्ट अफ इन्क्वाइरी" को प्रतिवेदनमा समेत "उनीमाथि चरम यातना दिएको" उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार महासेनानी खत्रीको नेतृत्वमा मैनालाई सुरुमा बाँधेर पिटियो । अनी बाल्टीमा पानी राखेर डुबाउँदै निकालिँदै गरियो । यतिमात्र यातना सहिनन् मैनाले । उनीमाथि पटक-पटक करेन्टका झट्काहरु लगाइए । एक घण्टाभन्दा बढी यातना दिइसकेपछि मैना बेहोस् भइन् र बिस्तारै मुखबाट फिँज काटेर त्यहीँ मृत्युवरण गरिन् ।
उता गाउँमा मैनालाई सेनाले लगेको खबर आगोसरी फैलिसकेको थियो । माइती गएकी देवी घर फर्केर आइन् । तीन दिनपछि तालिम केन्द्रमा गाउँको एक टोली पुग्यो । "हाम्री मैनालाई यहाँ ल्याइएको छ ।" टोलीको जिज्ञासामा महासनेनाी खत्री कड्किए "को मैना मैनाबारे हामीलाई केही पनि थाहा छैन । हामीले यहाँ ल्याएका छैनौँ ।" उनीहरुले मैनासँगै एक महिला यात्रुबस चढेर काठमाण्डौंतिर लागेको समेत बताएका थिए ।
न्यायको खोजी
आफ्नी छोरीलाई सेनाले बेपत्ता बनाएदेखि न्यायको खोजीमा भौँतारिइरहे आमा देवी र बाबु पूर्णबहादुर । तर अहिलेसम्म उनीहरुले न्याय पाएका छ्रैनन् । छोरीलाई न्याय दिलाउन धेरै जोर जुत्ता फटाइसकेका पूर्णबहादुरको सोही चिन्ताले केही समयअघि मृत्यु भइसकेको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । तर आमा देवी अहिले पनि छोरीको न्यायका लागि लागिरहेकी छिन् । उनको निरन्तरतामा कमी आएको छैन । हाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा काम गरिरहेकी देवी कामको सिलसिलामा डोटी पुगेकी छिन् । तर पनि उनको न्यायका लागि चलिरहेको कदम रोकिएको छैन । ९ बैशाख २०६१ मा काठमाण्डौंबाट प्रकाशित एक साप्ताहिकमा पाँचखालस्थित तालिम केन्द्रमा कार्यरत जवानहरुको नाममा पाठकपत्र छापिएको थियो जसमा मैनालाई ब्यारेकमा ल्याएर यातना दिइ मारिएको उल्लेख भएपछि सेनामाथि उनको अवस्था सार्वजनिक गर्न दवाव बढेको थियो र अन्ततः नेपाली सेना मैनालाई तालिम केन्द्रमा पुर् याएर मारिएको स्वीकार्न तयार भयो । तर सेनाले मैनाको शव कहाँ छ भन्नेसमेत जानकारी दिएन ।
हत्या भएको स्वीकार
सेनाले केही समयपछि मैना सुनारलाई ब्यारेकमा ल्याइएको र उनी भाग्न खोज्दा लडेर मृत्यु भएको समेत बताएको अधिकारकर्मी भोजराज तिम_िल्सनाले बताए । तर पछि १ चैत २०६१ मा सेनाको जङ्गी अड्डाले मैनाको हत्या गलत तरिकाले भएको स्वीकार्दै 'कोर्ट अफ इन्क्वायरी' गठन भइसकेको विज्ञप्ति प्रकाशित गरेपछि मैनाको परिवार उनको हत्या भइसकेको स्वीकार्न बाध्य भएको थियो । वैशाख २०६२ मा सेनाका तत्कालिन प्राड विभाग प्रमुख विएकुमार शर्माले सैनिक अदालत गठन भएको र मैना सुनारको हत्याका विषयमा अनुसन्धान भइसकेको बताए । सैनिक अदालतको 'बोर्ड अफ इन्क्वायरी' तत्कालिन उपरथी किरणशम्शेरजबराको अध्यक्षतामा गठन गरिएको थियो र २३ भदौ २०६२ मा फैसला गर् यो जुन पछि मात्र सार्वजनिक भएको थियो । हत्याको नियत नदेखिए पनि अनुसन्धान र मृत्युपछिको 'प्रकृति र प्रकि्रया' गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी बबी खत्री सहसेनानीद्वय सुनिल अधिकारी र अमित पुनलाई दोषी ठहर गरी ६ महिना कैद सजाय दिएको उल्लेख गर् यो । सैनिक अदालतले महासेनानी बबी खत्रीलाई २ वर्ष बढुवा रोक्का र ५० हजार जरिवाना तथा सहसेनानीहरु सुनिल अधिकारी र अमित पुनलाई १-१ वर्ष बढुवा रोक्का र २५ हजार रुपैयाँ जनही जरिवानाको फैसला समेत गरेको थियो । तर मैनाको परिवार सैनिक अदालतको फैसला स्वीकार्न तयार भएन । सुरुदेखि नै नागरिक अदालतबाट मैना हत्याकाण्डबारे कारवाही प्रकि्रया अगाडी बढाउन माग गर्दै मैनाकी आमा देवी सुनारले २७ कात्तिक २०६२ मा जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गरेकी थिइन् । मुद्दामा सैनिक अदालतको कारवाहीको सूचीमा नपरेका तात्कालिन सहसेनानी वस्नेतलाई पनि कारवाहीको माग गरिएको थियो । अनुसन्धानको क्रममा मैनाको शवलाई ९ चैत २०६३ मा पाँचखाल-६ स्थित बुट्यान नजिकैबाट उत्खनन् गरिएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा शवको उत्खनन् गरेको थियो ।