Friday, November 9, 2012

टेलिकमको द्रुत गतिको इन्टरनेट २७ गतेदेखि


नेपाल टेलिकमले कात्तिक २७ गतेदेखि द्रुत गतिको व्रोडब्याण्ड इन्टरनेट वाइम्यक्स सञ्चालनमा ल्याउने भएको छ ।
पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कूटनीतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाहरुलाई वितरण गरिने टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिनुभयो । वाईम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवा मध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट सेवा भएको टेलिकमको दावी छ ।
कम्तिमा २५६ किलोविट प्रतिसेकेण्डका दरले डाटा ट्रान्सफर गर्न सकिन्छ । दोस्रो चरणमा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने रसेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्‍याउने टेलिकमको लक्ष्य छ ।
टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा बाइफाइ हटस्पट निर्माण गरिने बताएको छ ।
नेपाल टेलिकम र अमेरिकन कम्पनी एयरस्पान नेटवर्क वीच गत फागुनमा भएको सम्झौता वमोजिम यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

पुर्वाञ्चल क्षेत्रीय कारागारबाट १२ कैदी फरार


  • फरार भएका एक बंगलादेशी र ११ भारतीय

  • फरार सबै कुख्यात

    इनरुवा, कार्तिक २४ - सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट बिहीबार राति १२ जना कैदी फरार भएका छन् । कारागारभित्रै सुरुङ खनेर उनीहरु फरार भएको सुनसरीका प्रहरी नायव उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।
    फरार हुनेहरुमा बंगलादेशी अपराधी अली असरफ अन्सारी, भारतीय कुख्यात अपराधी मुखिया भनिने धिरेन्द्र यादवसहित भारतीय अपराधीहरु बमबम भनिने दिनेश यादव, रमेश यादव, विनायक यादव, सुवास यादव, सुवास झा, सरफराज आलम, रमेश सदाय, फारुक मियाँ, ममताज मिया र जाकिर मिया रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
    फरार मध्ये धिरेन्द्रमाथि कृषी विकास बैंक राजविराजका प्रबन्धकको हत्या, राजविराजकै डाक्टर मुरलीप्रसाद सिंहको अपरहण लगायतका दर्जनौं हत्या र अपहरणको तथा नक्कली नागरिकता सम्बन्धी मुद्दा लागेको थियो । भारतको बिहारमा कोसी क्षेत्रको आतंकको उपनाम पाएका धिरेन्द्रले विहारमा पनि कयौं उधोगपतिको हत्या गरेका थिए ।
    उनलाइ प्रहरीले पाँचवर्ष अघि नाटकीय ढङ्गबाट सुनसरीको इटहरीवाट पक्राउ गरेको थियो । धिरेन्द्रले सुनसरीको पश्चिम कुसाहा र सप्तरीको बभनगामा कटीबाट नेपाली नागरिकता लिएका थिए ।
    यस्तै बंगलादेशी नागरिक अली असरफमाथि पनि नक्कली नागरिकता लगायतका मुद्दा थियो । भने भागेका अन्य भारतीय अपराधीमाथी हत्याकै अभियोग थियो । आज बिहान कैदी चेकजाँचका बेला १२ जना कैदी नदेखिएपछि मात्र प्रहरी र कारागार प्रशासनले कैदी भागेको थाहा पाएका थिए । क्षेत्रीय कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दे आएको थियो ।
    त्यहाँ प्रहरी निरीक्षक ईश्वर बस्नेतको नेतृत्वमा ४५ जना प्रहरी थिए । स्रोतका अनुसार केही प्रहरी र कारागार प्रशासनका केही कर्मचारीको मिलेमतोमा कैदीहरु सुरुङ खनेर भाग्न सफल भएका हुन् । कैदी फरार भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु कारागार पुगेका छन् ।
    प्रमुख जिल्ला अधिकारी थापाले कैदी भागेको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले फरार कैदीहरुको खोजी भइरहेको बताए पनि कारागार भएको ठाउँबाट भारतीय सिमा ३० किलोमिटर मात्र दक्षिण रहेकाले उनीहरु राति नै भारतीय क्षेत्रमा पसेको हुन सक्ने अनुमान गरिएको छ । भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।