Sunday, February 13, 2011
सहमति भए दुई तिहाइ बहुमत
माओवादी एमालेबीच भएको सातबुँदे सहमतिको विवादका कारण सरकारले पूर्णता नपाइरहेकै बेला माओवादी अध्यक्ष दाहाल छिट्टै कुरा मिल्नेमा आशावादी देखिए । उनले सहमतिअनुसार अघि बढे यो सरकार दुई तिहाइको बन्ने र त्यसले दुई महिनाभित्र शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने विश्वास समेत व्यक्त गरे । मन्त्रिपरिषद् विस्तार, शान्ति, संविधान निर्माण र 'जनयुद्ध' वर्षगाँठबारे कान्तिपुरका सुधीर शर्मा, गंगा बीसी र कुलचन्द्र न्यौपानेले दाहालसँग गरेको संवाद:
सरकारले कहिले पूर्णता पाउला ?
प्रधानमन्त्रीको शपथग्रहण गरेकै दिनमा सरकार निर्माणको विषयलाई पनि आधारभूत रूपमा मिलाउनुपर्थ्यो। तर हुन सकेन । अहिले छलफल चलिरहेको छ । छलफल सकारात्मक दिशातिरै गएको हुनाले एक दुई दिनभित्र टुंगिन्छ भन्ने म ठान्छु ।
किन ढिलाइ भइरहेको छ ?
मुख्य त सातबुँदे सहमतिलाई आधार बनाएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । त्यो सहमतिका बारेमा एमालेभित्र गम्भीर विवाद हुनु नै सरकार गठनमा ढिलाइ हुनुको प्रमुख कारण हो ।
सातबुँदे सहमतिलाई एमालेले केही हदसम्म नसच्याएसम्म त्यसलाई लागू गर्न नसकिने निर्णय गरेको छ । यसमा माओवादी संशोधनका लागि तयार देखिन्छ ?
होइन, सातबुँदे सहमति ऐतिहासिक रूपमा स्थापित भइसक्यो । केही कार्यान्वयन पनि भइसक्यो । त्यही सहमतिका आधारमा झलनाथ खनालजी प्रधानमन्त्री हुनुभएको हो । अब त्यो सहमतिलाई संशोधन गरेर अनुमोदन गर्ने भन्ने कुरा हुन सक्दैन । सहमतिलाई पहिला ग्रहण गरिसकेपछि त्यसमा भाषा, शैली भविष्यमा प्रस्ट पार्न सकिन्छ । तर सहमतिका आधार नै भत्कने गरी संशोधन गर्न सम्भव छैन । त्यो विल्कुल गलत पनि हुन्छ । जहाँसम्म स्वामित्व एमालेले किन लिएन भन्ने कुरा छ, त्यो उसको आन्तरिक कुरा हो किनकि हामीले लुकेर, छिपेर कुनै गोप्य सहमति गरेका होइनौं ।
तपाईं र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालबीच गोप्य सहमति भएको हो भनिन्छ नि त ?
त्यो कुनै गोप्य सहमति थिएन । धेरै एमालेका नेताहरूको एउटा ठुलै टिम र माओवादी नेताहरूको पनि टिमका बीचमा गृहकार्य गरेर सहमति भएको हो । ड्राफ्ट गर्ने बेलामा एमालेबाट पनि एउटा टिम नै संलग्न छ । माओवादीबाट पनि नेताहरूको टिम नै संलग्न छ । अध्यक्षहरूको संलग्नतामा दुवैतिरका टिमलाई यसरी ड्राफ्ट गर्नुहोस् भनेपछि भएको हो । केही मानिसले भन्ने गरेजस्तो दुइटा अध्यक्षले मात्रै गरेको सहमति होइन । राजनीतिक सहमति गोप्य राख्ने कुरा पनि आउँदैन । मैले त हस्ताक्षर भइसकेपछि हाम्रो पार्टीको स्थायी समितिको बैठकमा सहमतिपत्र पढेर सुनाएँ । बैठकले अनुमोदन गरेपछि प्रक्रिया अघि बढेको हो । मेरो विश्वास के थियो भने झलनाथजीले पनि एमाले नेताहरूको सहमति लिएर नै हस्ताक्षर गर्नुभएको होला । हामीले त्यही दिन यसलाई सार्वजनिक नगरिहालौं, भोलिपर्सि गरौंला भन्ने मात्रै थियो । सायद झलनाथजीले यसलाई गोप्य राख्ने सोच्नुभएको थियो भने त उहाँको कुरा हो । तर गोप्य राख्ने कुनै सहमति थिएन ।
एमालेले सातबुँदे सहमतिलाई संशोधन गरेर मात्रै लागू हुन सक्ने भनेको छ । माओवादीलाई औपचारिक रूपमा त्यस्तो कुनै प्रस्ताव आएको छ कि ?
एमालेको आधिकारिक निर्णय संशोधन गरेर मात्रै अनुमोदन गर्ने हो भन्ने पनि अन्योल छ । प्रस्ट छैन । एमालेका नेताहरूसँग कुराकानी हुँदा मूलभूत रूपमा अनुमोदन भयो । केही कुरा स्पष्ट पार्नुपर्ने हुन्छ भन्नुहुन्छ । यो सहमति शान्ति र संविधानका पक्षमै गरेको हो । कतिपय विषयका सन्दर्भमा छलफल हुन सक्छ । विशेष गरी सेना समायोजनसँग सम्बन्धित विषय विशेष समितिमा राजनीतिक सहमति नभई हुन्न । यसमा स्पष्ट पार्नुपर्छ भन्नेसम्मको कुरा त हामीले पनि बुझेका छौं । एमाले स्थायी कमिटी बैठकको वक्तव्य पनि त्यस्तै देखिन्छ । तर अर्कोथरी नेताहरूले यो अनुमोदन भएकै छैन, यही रूपमा अनुमोदन गर्नै सकिँदैन भनेर मिडियामा बोलेको पनि देखिन्छ । यसमा एमाले प्रस्ट हुनुपर्छ । माओवादीको केही भूमिका पनि छैन । लिनुदिनु पनि केही छैन । सहमतिलाई संशोधन गरेर अनुमोदन गर्ने भन्ने कुरा सम्भव छैन । प्रस्टीकरण र व्याख्या हुन सक्छन् । कसैलाई अस्पष्ट छ, यसले शान्ति प्रक्रिया र संविधान बनाउनै अप्ठ्यारो पार्छ भन्ने लाग्या छ भने प्रस्टसाथ अघि बढ्न सकिन्छ । सेना समायोजनसँग सम्बन्धित विषय र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने विषयमा खालि एमाले र माओवादी मात्रै सहमति गरेर जान खोजेको हो कि भन्ने आशंका छ भने त्यस्तो सहमतिको भावना होइन । सबैलाई समेटेर लैजाने भनेर त्यहाँ (सहमतिमा) उल्लेख गरिएको छ । तर सहमतिका आधार नै खलबलिने गरी अर्को सहमति, परिवर्तन या संशोधन गर्ने विषय भने मान्न सकिँदैन ।
माओवादी सरकारमा नजाने निर्णय सातबुँदे सहमतिमा भएको असझदारीकै कारण हो कि गृहमन्त्रालय नपाएको कारण हो ?
भागबन्डामा कुरा नमिलेर हो भनी मिडियामा जसरी प्रचार भइरहेको छ, त्यसले म चिन्तित पनि भइरहेको छु । सवाल भागबन्डाको हुँदै होइन । सहमतिको मर्म र भावनाअनुसार अघि बढ्ने कि नबढ्ने भन्ने मात्रै हो । सहमतिको भावना मिल्यो र त्यसलाई कार्यान्वयन गरेर जाने भन्ने कुरा एमालेमा दृढतापूर्वक आयो भने मन्त्रालय बाँडफाँडको समस्या हुँदैन । सहमतिमै भनिएको छ, गृह, रक्षालगायत महत्त्वपूर्ण मन्त्रालय सम्मानजनक ढंगले बाँडफाँड गर्नु भन्ने छ । सहमति नै त्यहीँ भएपछि सम्मानजनक हुनुपर्यो । सम्मानजनक भएपछि समस्या नै हुँदैन ।
सहमतिको भावना र मर्म मिल्यो भने माओवादीले गृहमन्त्रालय छोड्न पनि सक्छ भन्ने तपाईंको अर्थ हो ?
त्यसरी नै त भन्न चाहन्नँ । सहमतिको मर्म र भावनाअनुसार जाने कुरा मिल्यो भने एमालेले गृह लिन्छु भन्ने सवाल नै पैदा हुँदैन ।
अहिलेसम्मको परिस्थितिमा सातबुँदे कार्यान्वयन गर्दै अघि बढ्ने अवस्था देखिँदै छ कि माओवादी-एमालेबीच कायम भएको गठबन्धन भंग हुनेतिर अघि बढ्दै छ ?
कुरा अलि गम्भीर छ । सतहमा मात्रै तर्क गरियो भने एक ढंगले तर्क गर्न सकिन्छ । गहिराइमा हेर्ने हो भने माघ २० गते सरकार निर्माणबारे हामीले जुन निर्णय गर्यौं र सरकार गठन गरेर जाने क्रम अगाडि बढ्यो, आफंैमा त्यो ऐतिहासिक र धेरै महत्त्वपूर्ण निर्णय हो । देशभित्र या बाहिरका प्रतिक्रियावादी तत्त्वले नेपालमा अस्थिरता, अन्योल, अराजकता र सरकारविहीनताको स्थिति बनाई राख्ने र त्यहाँमाथि आफ्नो निहित स्वार्थपूर्ति गर्ने सोचेको थियो, तिनीहरू सबैका निम्ति माघ २० को सरकार निर्माणको फैसला अप्रत्यासित हुन पुग्यो । उनीहरूको इच्छा र हितविपरीतको प्रक्रिया अघि
बढ्यो । त्यसैले सरकार गठन हुनै लागेका बेला यो मोर्चालाई असफल पार्ने या भत्काउने प्रक्रिया सुरुवात भयो । यो हामीले पहिल्यै बुझेकै कुरा पनि थियो । त्यसकारण नेपालमा शान्ति, संविधान, अग्रगमन, स्थिरता र समृद्धि खोज्नेहरूका निमित्त सबैलाई समेट्ने कुरा हामीले राखेका छौं । जसले त्यस्तो चाहिरहेको छैन । ती तत्त्वले असफल पार्न खोज्छन् । २३ गतको दिन एमालेको स्थायी कमिटी बैठकले जस्तो तरिकाले जे निर्णय गर्यो त्यसले निकै ठूलो धक्का लागेको छ । सहमतिले नेपाली सम्मानित हुने, राष्ट्र गौरवान्ति हुने अवस्था बनाएको थियो । झलनाथ एउटा व्यक्ति वा एमालेको यो गुट वा त्यो गुटको सवाल थिएन । आम नेपाली जनताको सम्मानलाई अघि बढाउने ऐतिहासिक प्रक्रिया थियो । त्यसमा सातबुँदेे सहमतिको मर्म, भावना र अन्तरनिहित उद्देश्यलाई २३ गतेको निर्णयले नराम्ररी कुल्चने काम भयो । हामीसँग सल्लाहसमेत नगरी तीनवटा मन्त्री र मन्त्रालयसमेत विभाजन गरी निर्णय गरियो, त्यसले गम्भीर बनायो, सातबुँदे सहमतिमाथि छुरा प्रहार गरेजस्तै भयो । सहमतिमा दुइटा अध्यक्षको संयन्त्रको व्यवस्था पनि छ । तर मलाई एक शब्द पनि नसोधीकन गृह, शिक्षा र अर्थ मन्त्री तोकेर जसरी आयो, यसले २० गते भएको सानो सानो क्रान्तिलाई २३ गतेको एमालेको निर्णयले सानो-सानो प्रतिक्रान्ति बनायो ।
प्रधानमन्त्रीले खुट्टा नटेकेकै कारण त्यस्तो भएको हो कि ?
उहाँले खुट्टा नटेकेर भयो, वा को कसले केके गरेर भयो त्यसको विश्लेषण आफ्ना ठाउँमा छ । अहिले धेरै आरोप लगाउने पक्षमा म छैन । तर जुन प्रक्रिया अघि आउन खोजेको छ । राष्ट्रिय आत्मसम्मानलाई ठेस पुग्नेखालको गम्भीर परिघटना हो भन्ने लाग्छ ।
तपाईंले बाह्य शक्तिको चलखेल, खास गरी भारतीयको हस्तक्षेपका कारण मन्त्रिमण्डल बन्न सकेन भन्नुभएको थियो । वास्तविकता त्यस्तै हो ?
तोकेर त म भन्न सक्दिनँ । २० गतेको निर्णय मन नपर्ने देशभित्र र बाहिरकाले माओवादी/एमाले मोर्चालाई छिट्टै तुहाउन खोजेको सजिलै बुझ्न सकिन्छ । सबैले आफ्नो इच्छालाई मूर्त रूप दिन पहल गर्नु स्वाभाविक हो, गरे होलान् । ककसले गरे । म अहिले नाम लिन चाहन्नँ ।
तपाईंले सातबुँदेलाई ऐतिहासिक सहमति भन्दै आउनुभएको छ । यो त सुरुमै विवादमा पर्यो नि ?
पहिलो कुरा त सहमतिलाई अघि बढाउन जुन मोर्चा बनेको छ यसलाई विस्तार गर्नु र मजबुद बनाउने सबैभन्दा बलियो आधार हो । जुन दृढता र विश्वासका साथ सहमति भयो त्यसलाई अक्षरमा मात्रै होइन, व्यवहारमा पनि लागू भयो भने सबैको प्रतिरोध त्यसैले गर्छ । सहमतिमा अन्तरनिहित भावना र विचारलाई हेर्ने हो भने कसैले पनि अहिले नेपालमा यसलाई तोड्न सक्ने हैसियत राख्दैन । यो सहमतिलाई कार्यान्वयन गर्दा स्पष्ट बहुमत मात्रै होइन, दुई तिहाइ बहुमत हुन्छ । खुट्टा नमाईकन दृढतापूर्वक नेपाली जनता र राष्ट्रलाई माया गरेर अघि बढ्ने हो भने यो गठबन्धनले दुई तिहाइ बहुमत कमान्ड गर्छ ।
तर अहिलेसम्म गरेको छैन । प्रधानमन्त्रीको निर्वाचनदेखि अहिलेसम्म जुन घटनाक्रम अघि बढिरहेको छ । त्यो तपाईंहरूले अपेक्षा गर्नुभएको थिएन होला ?
होइन, अपेक्षा नगरको आश्चर्यजनक त लागेको छैन । त्यस्तो हुने खतरा त २० गतेको निर्णय लिँदा पनि थियो । हामीले पटकपटक त्यो खतरालाई एमालेका साथीहरूसँग राख्यौं । ऐतिहासिक कदम चालिसकेपछि दृढता र आत्मविश्वासको आवश्यकता पर्छ । देश, जनता, संविधानसभा र संसद्लाई विश्वास गर्नुपर्छ । त्यहाँ दायाँबायाँ गर्नु हुँदैन भन्दाभन्दै पनि यस्तो पनि हुन सक्छ भन्ने पनि हामीलाई लागेको हो । लागेकै हुनाले हामीलाई सहज रूपमा निर्णय लिइरहेका छौं । आश्चर्य र आकस्मिक लागेको छैन, खतरा छ । अहिलेको मोर्चाबाट विपरीत अर्को धारतिर गयो भने पनि त्यसको ऐतिहासिकता घट्दैन । नेपाली जनताले सम्भिmराख्ने दिन हुन्छ । माघ २० गते जे भएको छ, नेपालका इतिहासविद्, राजनीतिक शास्त्री र देशभक्तहरूले सधैंसधैं सम्झने भयो । आजभोलि एमालेले पीठ फर्कायो र पछि हट्यो भने त्यसको जबाफदेही एमाले नै हुन्छ । हामीले जे गरेका थियौं, सही गरेका थियौं भन्ने कुरा नै हुन्छ । सहमति नभए प्रतिपक्षसम्म पुग्न त हामीले मानसिकता बनाएकै छौं ।
यो अवस्थामा माओवादी कसरी अघि बढ्छ त ?
सातबुँदे सहमति र यसको कार्यान्वयनका बीचमा अहिले एकखाले संक्रमणकालजस्तो देखापरेको छ । संक्रमण रहँदासम्म सकारात्मक, रचनात्मक ढंगले नेपाली जनताको इच्छाआंकाक्षालाई सम्मान गरेर सरकारलाई समर्थन जारी राखेका छौं । संक्रमणकाल सकियो, एमाले सम्पूर्ण रूपमा पुरानै ट्रयाकमा गयो र सहमतिको मर्म र भावनामाथि कुठाराघात गर्यो भने हामी सहमतिमाथि विश्वासघात गर्न सक्दैनौं । इमानदार रहेर हामी जनतालाई सम्झाउने र राख्नेतिर जान्छौं ।
त्यस्तो भनेको ?
त्यो भनेको सरकारलाई समर्थन गर्ने आधार सकिन्छ । आधारमा समर्थन गरेका हौं । त्यो सकिएपछि स्वाभाविक रूपले समर्थन रहँदैन ।
यसका लागि कहिलेसम्म पर्खनुहुन्छ ?
अब धेरै दिन रहन्छ भन्ने लाग्दैन । कुराकानी भइरहेको छ । हाम्रा कमरेडहरू लागिरहनुभएको छ । झलनाथजीसँग मेरो भर्खरै कुराकानी पनि भयो । कुरा गर्दा त एमालेका साथीहरूसँग सकारात्मक रूपमा अघि बढेको छ । सकेसम्म भोलि नभए पर्सि बेलुकासम्म कुरा टुंगिन्छ भन्ने लागेको छ ।
यसका लागि सात दिनको अल्टिमेटम दिएको कुरा पनि आइरहेको छ नि ?
होइन । हामीले कुनै किसिमको अल्टिमेटम दिएका छैनौं । कुनै कमरेडहरूले बोल्दाखेरि छिटो हुनुपर्यो भन्नुभएको होला । अल्टिमेटम दिने निर्णय गरेका छैनौं । हाम्रो तर्फबाट छलफल सकारात्मक, रचनात्मक र जिम्मेवारीपूर्ण ढंगबाट भइरहेको छ । एमालेका साथीहरू र स्वयं झलनाथजीसँग कुरा भइरहेको छ । एक/दुई दिनभित्र सकारात्मक टुंगो लाग्छ ।
सातबुँदेमा सरकार निर्माण गर्दा आलोपालो सरकारको नेतृत्व लिने भनिएको छ । त्यो भनेको कुन चरणमा पुगेपछि तपाईंहरूको नेतृत्वमा सरकार आउने हो ?
ठोस रूपमा त हामीले भनेका छैनौं । त्यस्तो समझदारी पनि भएको छैन । तर सामान्य सैद्धान्तिक रूपमा पहिल्यैदेखि -तीन पार्टीका बीचमा पनि कुरा भएको थियो) कुरा हुँदा जसले पहिला लिन्छ, त्यसले शान्ति प्रक्रिया र संविधान निर्माण टुंग्याउने बेलासम्म, त्यसपछिको पालो निर्वाचन प्रक्रियाका लागि अर्कोले लिने भन्ने सैद्धान्तिक चर्चा चाहिं भएको हो । तर यति महिना, दिन भनेर सहमति बनाउँदा ठ्याक्कै सहमति भएको छैन ।
शान्ति र संविधानालाई निष्कर्षमा पुर्याउने तपाईंको के योगदान हुनेछ ?
एमाले र हामीबीच सातबुँदे सहमति गरेपछि सरकारहीनताको स्थिति अन्त्य भयो । त्यसमा हाम्रो पार्टीले ठूलो त्याग गर्यो । हामीले प्रधानमन्त्री दाबी छाडेर सरकार बनाउने निर्णय गर्नु आफंैमा ठूलो त्याग हो । मैले त्याग भनेको कुन अर्थमा हो भने भिन्न रूपमा तरिका बदल्दा माओवादीको नेतृत्वमा सरकार बनिहाल्ने भन्ने स्थिति देख्दादेख्दै नेपाल र नेपालीको सर्वोत्तम हितका लागि २० गते सरकार बनाउने निर्णय गर्यौं । भलै केही मान्छेले सातबुँदेमा प्रश्न उठाउँदै त्याग हो कि के हो भनेका
छन् । इमानदार नेपालीले भावना र मर्मलाई बुझ्छन् । यो इतिहासको रचना गर्ने प्रक्रिया हो ।
सातबुँदेमा शान्ति प्रक्रियाको भावना अन्तरनिहित छ । हामीले पहिले नै तीन पार्टी बस्दा शान्ति प्रक्रिया अघि बढ्दा सचिवालय बनाउने, विशेष समितिमातहत समारोह गरी शिविर हस्तान्तरण गर्ने काम भएको छ । समूह विभाजन गर्ने कुरा सरकार बन्नेबित्तिकै अघि बढ्छ । जनमुक्ति सेनाको समूह विभाजन भइसकेपछि समायोजनको मोडालिटीका बारेमा तीन पार्टीबीच पर्याप्त छलफल भएको पनि हो । गोकर्णको बैठकमा पनि तीनवटै पार्टीबीच करिब सहमति भएको थियो । जनमुक्ति सेनाको अलग फोर्स बनाउने वा मिश्रति फोर्स बनाउने करिब सहमति भइसकेको कुरा हो । अहिले आएर मानिस के कारण विरोध गर्छन् ? म सबै कुरा भन्न चाहन्नँ । सैद्धान्तिक रूपमा सहमति भइसकेको कुरा हो यसको । त्यही कुरा एमालेसँग गर्दा अन्यथा गरिएको छ भन्ने लागेको छैन । फेरि त्यो प्रमुख दलसँग सहमति नभई कार्यान्वयन हुनेवाला छैन । साँच्चै शान्ति प्रक्रिया टुंग्याउन को चाहन्छ र चाहँदैन छुट्टँिदै छ अब । नेपाली जनताले पनि तीखा आँखाले हेर्छन् । कसले शान्ति प्रक्रिया टुंग्याउन चाहेको छ । कसले विभिन्न बहानामा भाँड्न चाहेको छ भन्ने कुरा अब अन्तिममा जनताले थाहा पाउने बेला आएको छ । यो सहमतिपछि केही दिनभित्र थाहा हुन्छ । एमाले र कांग्रेसभित्र विवाद उठाउन चाहने साथी पनि साँच्चै शान्ति प्रक्रिया टुंग्याउन चाहेको हो भने यो सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिने वातावरण बनाइदिएर एक दुई महिनाभित्र शान्ति प्रक्रिया फटाफट अघि बढेको हेर्नुपर्यो । त्यो नगरेर विभिन्न बहाना, तर्ककुतर्क गरेर शान्ति प्रक्रिया टुंग्याउन नदिनु भएन ।
शान्ति प्रक्रिया टुंग्याउँदा लडाकुको छुट्टै फोर्स बनाउने मात्रै हो कि अरू विकल्प पनि छ ?
विकल्प छलफलका निम्ति धेरै हुन सक्छन् । तर अहिले हामीले सोचेको छुट्टै वा अलग्गै जिम्मेवारी भएको मिश्रति फोर्स हुन सक्छ । छलफलका निम्ति सकारात्मक र राम्रा विकल्प आए माओवादी अडिग हुँदैन ।
चार महिनाभित्र शान्ति र संविधान निर्माण गर्न तपाईंको के भूमिका रहन्छ ?
हाम्रो पार्टी नेतृत्वका हिसाबले मैले जनयुद्ध, शान्ति प्रक्रियासम्म आइपुग्दा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, जनताको भावनालाई समातेर निर्णय गर्दै आएको छु । नेतृत्वका हिसाबले भूमिका खेलेको छु । अहिले पनि शान्ति प्रक्रियालाई सम्मानजनक ढंगले टुग्याउनुपर्छ भनेर हामी लागेका हांै । सरकार बन्न ढिला गरे पुगिँदैन । सरकार बनाउन ढिला गरेर जेठ १४ पुग्यो भने शान्ति प्रक्रिया र संविधान निष्कर्षमा पुग्दैन । नेपाली जनतालाई चिन्ता, छटपटी छ । जनताको हृदय धड्किरहेको छ । मैले त्यसैलाई हेरेर पहल लिनुपर्छ । छिटो सरकार बनाएर यो प्रक्रियालाई अघि बढाउनुपर्छ भनेर निर्णय गरेको हो । यो गर्दा के भइन्छ सोचेको छैन ।
चार महिनामा शान्ति र संविधान टुंगोमा पुग्छ ?
अहिले जुन ढंगले अघि बढ्न खोजेका छौं त्यो प्रक्रियाले पूर्णता पाएर गति लिएपछि मलाई लाग्छ शान्ति प्रक्रिया दुई तीन महिनामा मजाले टुंगिन्छ । नटुंगिने कारण छैन । समायोजन पुनस्र्थापन गर्ने सैद्धान्तिक सहमति भएको छ । संविधानको कार्यदलमा बसेर मैले हेरँे । संविधानका केही विषय जेठभित्र सहमति हुन बाँकी रहन सक्छन् । राज्य पुनसर्ंरचनामा कति प्रदेश, कस्ता हुने बहस रहन सक्छन् । शासकीय स्वरूपमा केही बहस रहन सक्छन् । जेठसम्म त्यस्ता बहस रहेछन् भने जनताले जनमत संग्रहबाट हल गर्न सक्छन् । भोलिको संसद्ले हल गर्न सक्छ । यदि नेपाली जनताले शान्ति प्रक्रिया र संविधान निर्माण टुंगिनै लागेको छ भन्ने ठाने भने राजनीतिक दल, सरकारलाई एक दुई महिना म्याद थप्न दबाब दिन्छन् भन्ने लागेको छ ।
माओवादी जनयुद्ध १६ वर्ष पुगका बेला दलदलमा फसेको जस्तो लाग्दैन ?
मलाई र हाम्रो पार्टीलाई दलदलमा फसेको जस्तो लाग्दैन । बरु हाम्रो उद्देश्यमा विश्व परिस्थिति र क्षेत्रीय परिस्थिति सबैलाई विचार गर्दा नेपाली जनताको भावना र आवश्यकतालाई विचार गर्दा जुन तरिकाले अघि बढेका छौं । जनयुद्धका उद्देश्यलाई भिन्न रूपमा पूरा गर्न सकिन्छ भनेर अघि बढेका छौं । हामी विज्ञानलाई आत्मसात् गर्दै अघि बढेका छौं । हामी यान्त्रिक रूपमा या सम्पूर्ण प्रतिक्रियावादीसँग सम्झौता गर्ने रूपमा नभएर संघर्षलाई भिन्न रूपमा अघि बढाएको हुनाले त्यस्तो लाग्दैन । १५ वर्षमा नेपालको राजनीतिमा ठूल्ठूला परिवर्तन र उथलपुथल भए, युगान्तकारी परिवर्तन भए । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक, समावेशी यी सबै कुरा स्थापित भएका छन् । जनयुद्धमा नेपालीका सर्वश्रेष्ठ छोराछोरीले गरेको बलिदानी, माओवादीको नेतृत्वको जिम्मेवारीले परिवर्तन ल्याएको हो । पछिल्लो परिस्थितिअनुसार हामी माक्र्सवादलाई जड वस्तुको होइन, गतिशील विज्ञानका रूपमा बुझ्छौं । परिस्थितिमा आउने उतारचढाव र फेरबदलसँग विचारलाई विकास गर्नुपर्छ भन्ने बुझ्छौं । हामीले जनयुद्धकै बेलामा संविधानसभा, गणतन्त्रको कुरा गर्यौं, हामी जनयुद्ध जित्दै थियौं । हामीले हारेका थिएनौं । त्यतिबेला हामी शान्तिका पक्षमा छांै भन्यौं । वार्ता गर्न, संविधानसभाबाट नेपाली जनताको भविष्य तय गर्न तयार हुने हो भने हामी तयार छौं भन्यांै । एक्काइसौं शताब्दीमा जनवादको विकास गरी कम्युनिस्टहरूले प्रतिस्पर्धात्मक प्रणालीमा गएर विचारको श्रेष्ठता सिद्ध गर्नुपर्छ भनेर त्यतिबेलै भन्यौं । हामी यान्त्रिक खालका कम्युनिस्ट होइनांै ।
शान्ति प्रक्रियामा आइसकेपछि विभिन्नखालका समस्या उत्पन्न नभएका होइनन् । पार्टीभित्र ठूला बहस भइरहेका छन् । हामी यसलाई स्वाभाविक ठान्छौं । पार्टीभित्र विचारको प्रतिस्पर्धालाई एक हदसम्म स्वीकार गरेर अघि बढेका छांै । हामी नेपाल राष्ट्र र नेपाली जनतालाई विदेशी हस्तक्षेपबाट मुक्त गरी समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यबाट विचलित छैनौं । नयाँ क्रान्ति सम्पन्न गर्ने र समाजवाद, साम्यवादका दिशामा अघि बढ्ने भन्ने कुराबाट हामी विचलित छैनौं । तर त्यसो गर्दा अरू देशको जस्तो नक्कल गर्ने सोचाइमा पनि हामी छैनांै । तपाइर्ंहाम्रो पिँढीले जनयुद्ध, जनआन्दोलन, संविधानसभा, शान्ति प्रक्रिया गणतन्त्र पनि देख्यो । हामीलाई सामान्य लाग्ला । भोलि इतिहासमा फर्केर हेर्दा माओवादी पार्टी र नेतृत्वले विचारको विकास गर्यो, क्रान्ति अघि बढायो, यो धेरै ठूलो कुरा हुनेछ । यसलाई संश्लेषण गर्दा नेपाली क्रान्तिमा गरिएको असाध्यै साहसिक प्रयोग पनि हो । जसले विश्वको क्रान्तिका लागि र साम्राज्यवाद, सामन्तवादविरुद्ध ठूलो शिक्षा छ भन्ने लाग्छ ।
यहाँ आइपुग्दा तपाईंको पार्टी चुनौतीको बीचमा भएको जस्तो लाग्दैन ?
हामी चुनौतीका बीचमा भएको जस्तो लाग्छ । हामी जनयुद्ध सुरु गर्दाका चुनौती र अहिले शान्ति प्रक्रियामा आइसकेपछि हेर्दा बढी चुनौती महसुस हुन्छ किनकि जनयुद्ध हुँदा पनि पार्टीभित्र बहस हुन्थ्यो । अहिले पनि छ । तर अहिले पनि हाम्रो पार्टीभित्रको विचारको बहसलाई, हामीले जसलाई प्रतिक्रियावादी भन्छौं, हामी जसका विरुद्ध लड्यांै, उनीहरूले पार्टीमा प्रभाव पार्ने, उत्तेजित गर्ने स्थिति बढेको छ । पार्टी खुला ठूलो भएपछि नेता तथा कार्यकर्ताको त्याग, निष्ठा कमजोर भएको छ । उनीहरू व्यक्तिवादी र आत्मकेन्दि्रत भएका छन्, यो पनि ठूलो चुनौती हो । माओवादीलाई कुनै न कुनै रूपमा कमजोर पार्ने, नेतृत्वको जुन क्रेज आएको छ एउटा हिरोको रूपमा । त्यसलाई धमिल्याउन ठूलो शक्ति प्रयोग भएको छ । चुनौतीसँग संघर्ष गर्ने शक्तिको विकास गर्यौं, हामीलाई गौरवको अनुभूति भएको छ । हामीले अहिले गरेका निर्णयमा अझ ठूलो प्रहार हुन्छ भन्ने हामीलाई थाहा छ । नेतृत्वमाथि बदनाम गर्ने अभियान मात्र होइन त्योभन्दा अघि बढी हमला हुन्छ भन्ने थाहा छ । अहिले विभिन्न प्रवृत्तिलाई प्रोभोक गरी फुटाउने शक्तिका साथ आउँछन् भन्ने पनि थाहा छ । हामी माओवादीको संस्कृति यही छ कि संघर्ष गर्न पाउँदा गर्व लाग्छ ।
अहिले पनि जनयुद्धको वर्षगाँठ मनाउन किन जरुरी छ ?
परिवर्तन भइरहेको छ । विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, १२ बुँदे समझादी भनौं । यी सबैले जनयुद्धको भावनालाई आत्मसात् गरेको छ । नेपाली जनताले पनि आत्मसात् गरेको छ । जनयुद्ध नभए शान्ति पनि आउने थिएन । जनयुद्ध दिवसलाई ऐतिहासिक रूपमा अहिले मात्र होइन, सय वर्षसम्म पनि सम्भिmरहनेछ । यसरी सम्झनु नकारात्मक होइन । जनयुद्धबाट शिक्षा लिनु राम्रो कुरा हो ।
जनयुद्धको १६ औ बर्षगाँठ बिषेश उल्लासका साथ मनाईदै
रोल्पा, १ फागुन । जनयुद्धको उदगम स्थल भनेर चिनिने रोल्पामा पनि १६ औ बर्षगाँठ बिषेश उल्लासका साथ मनाउन थालिएको माओवादीले जानकारी दिएको छ । महान जनयुद्धको दिशामा अघि बढौ भन्ने नारा संगै रोल्पाको होलेरी, रुकुमको राधि, सिन्धुलीको सिन्धुलीगढी चौकी र गोरखाको कृषि बिकास बैक कब्जा संगै २०५२ साल फागुन १ गतेबाट तत्कालिन माओवादीले जनयुद्धको घोषणा गरेको थियो ।
शसस्त्र युद्धबाट शान्ति प्रक्रियामा प्रवेश गरेको माओवादी अवको उसको जनयुद्ध दिवश कसरी मनाउला भन्ने सर्वस चासोको बिषय बनेको बेला उसको आधार ईलाका भनेर चिनिने उद्गम स्थल रोल्पाको थबाङमा आज विशेष कार्यक्रमको आयोजना गर्दैछ ।कार्यक्रममा सहभागि हुन राजधानीको व्यस्तता र सरकार गठनमा अल्झेको विवादलाइ थाति राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका माओवादी शीर्षस्थ नेताहरु रोल्पा आउने बताइएको छ । राज्य र जिल्ला संगठनलाई बर्षगाँठ भव्य रुपमा मनाउन निर्देशन गरेको एकीकृत नेकपा माओवादीले रोल्पाको थवाङमा १६ औ जनयुद्ध दिवस मनाउने विशेष तयारी गरेको हो ।
शसस्त्र जनयुद्धको कार्यदिशा परिवर्तन गरि खुल्ला राजनीतिमा आएको चार वर्षपछि संविधान निर्माणमा अवरोध भए जनविद्रोह गर्ने कार्यदिशा पास गरेको माओवादीले जनयुद्ध दिवसको बेला फेरि रोल्पालाई सम्झेको छ । बर्षगाँठको अवसरमा आज माओवादी अध्यक्ष प्रचण्ड, स्थायी समिति सदस्य नेत्र बिक्रम बिप्लब, वाईसिएल ईन्चार्ज सोनाम र सभासद सन्तोष बुढा लगायतका नेताहरु थबाङ आउने कायक्रम रहेको छ ।थबाङमा माओवादी अध्यक्ष प्रचण्डले सहकारी अस्पतालको उद्घाटन गर्ने, थबाङबासीलाई सम्बोधन गर्ने, स्थानिय कार्यकर्ताहरु संग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।कार्यक्रमको तयारी भइरहेको माओवादीले जनाएको छ ।
शसस्त्र युद्धबाट शान्ति प्रक्रियामा प्रवेश गरेको माओवादी अवको उसको जनयुद्ध दिवश कसरी मनाउला भन्ने सर्वस चासोको बिषय बनेको बेला उसको आधार ईलाका भनेर चिनिने उद्गम स्थल रोल्पाको थबाङमा आज विशेष कार्यक्रमको आयोजना गर्दैछ ।कार्यक्रममा सहभागि हुन राजधानीको व्यस्तता र सरकार गठनमा अल्झेको विवादलाइ थाति राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका माओवादी शीर्षस्थ नेताहरु रोल्पा आउने बताइएको छ । राज्य र जिल्ला संगठनलाई बर्षगाँठ भव्य रुपमा मनाउन निर्देशन गरेको एकीकृत नेकपा माओवादीले रोल्पाको थवाङमा १६ औ जनयुद्ध दिवस मनाउने विशेष तयारी गरेको हो ।
शसस्त्र जनयुद्धको कार्यदिशा परिवर्तन गरि खुल्ला राजनीतिमा आएको चार वर्षपछि संविधान निर्माणमा अवरोध भए जनविद्रोह गर्ने कार्यदिशा पास गरेको माओवादीले जनयुद्ध दिवसको बेला फेरि रोल्पालाई सम्झेको छ । बर्षगाँठको अवसरमा आज माओवादी अध्यक्ष प्रचण्ड, स्थायी समिति सदस्य नेत्र बिक्रम बिप्लब, वाईसिएल ईन्चार्ज सोनाम र सभासद सन्तोष बुढा लगायतका नेताहरु थबाङ आउने कायक्रम रहेको छ ।थबाङमा माओवादी अध्यक्ष प्रचण्डले सहकारी अस्पतालको उद्घाटन गर्ने, थबाङबासीलाई सम्बोधन गर्ने, स्थानिय कार्यकर्ताहरु संग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।कार्यक्रमको तयारी भइरहेको माओवादीले जनाएको छ ।
१६ औं जनयुद्ध दिवसको अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना ब्यक्त
काठमाडौं, १ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा नेपाली क्रान्तिका नायक प्रचण्डले आज नेपाली जनताको जनयुद्ध १५ बर्ष पुरा गरी १६ औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ । आज अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना बक्तब्यमा उक्त कुरा जनाईएको छ । उहाँले जारी गर्नुभएको शुभकामना बिज्ञप्तीमा सहिदको सपना साकार पार्न निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्प र प्रतिबद्धता दोहोर्याउन चाहेको बताउनु भएको छ ।
नेपाली जनयुद्धको मौलिक प्रयोग र बिकास हुँदै वर्तमानमा नेपाली क्रान्ति दृढता र सिर्जनशीलतासहित विकसित भइरहेको उक्त शुभकामनामा बताईएको छ । शुभकामना विज्ञप्तीमा अध्यक्ष प्रचण्डले क्रान्तिको विजयकोलागि देशभक्त, वामपन्थी र जनताको संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुबीचको संयुक्त मोर्चा अपरिहार्य बन्न गएको उल्लेख गर्नुभएको छ । १६ औं जनयुद्ध दिवसको शुभअवसरमा शान्ति र संविधानकोलागि संघर्ष गर्दै सम्पुर्ण शक्तिकासाथ एकढिक्का भई दृढतापुर्वक नेपाली क्रान्तिका एतिहासिक कार्यभार पुरा गर्न आव्हान पनि गर्न भएको छ ।
नेपाली जनयुद्धको मौलिक प्रयोग र बिकास हुँदै वर्तमानमा नेपाली क्रान्ति दृढता र सिर्जनशीलतासहित विकसित भइरहेको उक्त शुभकामनामा बताईएको छ । शुभकामना विज्ञप्तीमा अध्यक्ष प्रचण्डले क्रान्तिको विजयकोलागि देशभक्त, वामपन्थी र जनताको संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुबीचको संयुक्त मोर्चा अपरिहार्य बन्न गएको उल्लेख गर्नुभएको छ । १६ औं जनयुद्ध दिवसको शुभअवसरमा शान्ति र संविधानकोलागि संघर्ष गर्दै सम्पुर्ण शक्तिकासाथ एकढिक्का भई दृढतापुर्वक नेपाली क्रान्तिका एतिहासिक कार्यभार पुरा गर्न आव्हान पनि गर्न भएको छ ।
बाजुरामा बिभिन्न कार्यक्रम गर्दै जनयूद्ध दिवस मनाईयो
बाजुरा १ फागुन । बाजुरा जिल्लाको सदरमुकामा मार्तडीमा आज बिहान देखी माओबादी कार्याक्रता र सुभ चिन्तको भिड लागेकेा थियो । एकीकृत नेकपा माओबादीले रोल्पा बाट सुरुवात गरेकेा जनयुद्धाको सफलताको १५ बर्ष पुरा भई १६ बर्षमा प्रबेस गरेकेा खुसीयाली मनाउन कार्यक्रताको भिड बढेकेा हो। कार्यक्रममा जिल्लाका सरकारी निकाय देखी गैसस र पत्रकार हरुको उपस्थिति रहेकेा थियो भने कार्यक्रमको अध्यक्षता नन्दराज पण्डीत नबिन ले गरेका थिए भने कार्यक्रमको प्रमुख अथितिमा क्षेत्रीय सदस्य देबीचन्द्र बुढाले गरेका थिए । सो १६ औ जनयुद्ध दिवसकेा खुशीयाली र सहीद हरुको आहुती प्रतिमोहन धारण लगाएतका कार्याक्रम गरीएको थियो ।
यो आन्दोनमा बाजुरा जिल्लाका ११४ जनाले ज्यान गुमाएका छन्। बालक देखी महिा सम्मला र युवा देखी बृद्धहरु बिभिन्न भिडन्तमा मारीएका थिए । कार्याक्रमा आज देखी एक महिना सम्मको नियमीत कार्याक्रमको समेत जानकारी गराईएको थियो । आज बेलुकी सदरमुकाम लगाएतका सम्पुण जिल्ला भरी मसाल जुलुस, सदरमुकममा दिपावली, भोज लगाएतका कार्यक्रम र सहीद परीवासलाई सम्मान , जन भेला लगाएतका कार्यक्रमको घोषण गरीएको कुरा सत्य बुढाले जनकारी दिनु भएको छ। दुई सय बढी को उस्थीति रहेकेा सो कार्याक्रम सदरमुकाममा रहेकेा पार्टी कार्यालयमा भएको थियो ।
यो आन्दोनमा बाजुरा जिल्लाका ११४ जनाले ज्यान गुमाएका छन्। बालक देखी महिा सम्मला र युवा देखी बृद्धहरु बिभिन्न भिडन्तमा मारीएका थिए । कार्याक्रमा आज देखी एक महिना सम्मको नियमीत कार्याक्रमको समेत जानकारी गराईएको थियो । आज बेलुकी सदरमुकाम लगाएतका सम्पुण जिल्ला भरी मसाल जुलुस, सदरमुकममा दिपावली, भोज लगाएतका कार्यक्रम र सहीद परीवासलाई सम्मान , जन भेला लगाएतका कार्यक्रमको घोषण गरीएको कुरा सत्य बुढाले जनकारी दिनु भएको छ। दुई सय बढी को उस्थीति रहेकेा सो कार्याक्रम सदरमुकाममा रहेकेा पार्टी कार्यालयमा भएको थियो ।
धादिङबेसीमा जनयुद्ध दिवसको अवसरमा चियापान
धादिङबेसीमा जनयुद्ध दिवसको अवसरमा चियापान
धादिङ १ फागुन । १६ औं जनयुद्ध दिवशको अवसर पारेर एकीकृत नेकपा माओवादी जिल्ला कमिटि धादिङको आयोजनामा आज धादिङबेसीमा शुभाकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम धादिङ क्षेत्र नं. १ का सभाषद पुष्पविक्रम मल्ल, केन्द्रीय सदस्य बेदनिधि अधिकारी, धादिङका सह-इञ्चार्ज रामबहादुर भण्डारी, सचिव राजु नेपाल, नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेल, विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु, संघ-संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, वुद्धिजिवि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई टिका लगाएर स्वागत गरिएको थियो । सो अवसरमा एक आपसमा शुभकामना साटासाट गरिएको थियो । कार्यक्रम उद्योग बाणीज्य संघको सभाहल धादिङबेसीमा सम्पन्न भएको हो ।
जनयुद्ध दिवसको अवसरमा विरामीलाई फलफूल बितरण
दाङ, १ फागुन । नेकपा एकीकृत माओवादी १५ नं. एरिया कमिटीले १६ औं जनयुद्ध दिवसको अवसरमा आज राप्ती अञ्चल अस्पताल तुलसीपुरका विरामीहरुलाई फलफूल वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, अधिवक्ता पदम बैदिक, राप्ती अञ्चल अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. केदार सेन्चुरी, माओवादी थारुवान राज्य समिति सदस्य सितल, १५ नं. एरिया इन्चार्ज प्रदीप वली, इश्वरी पाण्डेय, पत्रकार लगायतको सहभागिता थियो । यसैबीच जनयुद्ध दिवसको अवसरमा तुलसीपुरको गणतन्त्र चोकमा बेलुकी दीप प्रज्वलन गर्ने एरिया इन्चार्ज वलीले जानकारी दिनुभयो ।
आज देशभर १६ औं जनयुद्ध दिवस मनाईदै
काठमाडौं, १ फागुन । नेपाली जनताले सुरु गरेको जनयुद्ध आज १५ औं बर्ष पुरा गरी १६ औं बर्षमा लागेको उपलक्ष्यमा आज देशभर जनयुद्ध दिवस मनाईदै छ । एकीकृत नेकपा माओवादीको नेतृत्वमा २०५२ साल आजकै दिन अर्थात फागुन १ गते सुरु भएको जनयुद्ध १५ बर्ष पुरा गरी १६ औं बर्ष लागेको छ । आज उत्पीडित जनताले आफ्नो मुक्तिको उद्घोष गरेको दिनका रुपमा देशभर मनाउँछन् । आज एक आपसमा जनयुद्धको शुवकामना आदान प्रदान गर्ने, एक आपसमा अबिर लगाउने र साथीहरुबीच मिठो खाने चलन छ ।
आज एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु जनयुद्धको उद्गम भूमि रोल्पाको थवाङ जाने कार्यक्रम छ । उहाँहरु त्याहाँका जनतासंग जनयुद्धको शुभकामना आदान प्रदान गर्ने र जनताको पीरमार्का बुझ्ने कार्यक्रम रहेको छ । थवाङलाई नेपाली जनयुद्धको येनान पनि भनिन्छ । माओत्सेतुङले चीनमा जनयुद्ध सुरु गरेको ऐतिहासिक स्थान येनान भए जस्तै नेपालको जनयुद्धको उद्गम भूमि थवाङ बनेको छ ।
आज माओवादी नेताहरुले थवाङमा जनयुद्धका सहिद परिवार, बेपत्ता परिवार र घाईतेहरुसंग साक्षात्कार गर्ने कार्यक्रम पनि रहेको छ । माओवादीले आज काठमाडौंको भृकुटी मण्डपमा जनयुद्धको शुभकामना आदान प्रदानकालागि कार्यक्रमको पनि आयोजना गरेको छ ।
Subscribe to:
Posts (Atom)