Monday, May 16, 2011

२५५५औँ बुद्ध जयन्ती विशेष कार्यक्रम


बुटवल, ३ जेष्ठ  / भगवान् बुद्धको २५५५ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मंगलबार यहाँ विशेष कार्यक्रमसहित मनाइँदैछ । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले बिहान मायादेवी मन्दिर र बुद्धसँग सम्बन्धित क्षेत्रहरुमा सरसफाइ, बुद्ध प्राथना, माआयानी, बज्रयानि, थेरवादी गुरु भिक्षु तथा लामा गुरुहरुबाट धार्मिक पूजा सम्पन्न भएका छन् ।
अहिले बिहान लुम्बिनीमा शान्ति¥याली निकाल्ने तथा बौद्ध र विश्व सम्पदास्थल सम्पदाहरुको फोटो प्रर्दशनी गरिने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
यसै अवसरमा आजै बिहान राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा मुख्य कार्यक्रम हुने छ । कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापानको हिरोसिमा र नागासाकीका मेयरद्धयलाई ५० हजार अमेरिकी डलर प्रदान गरिने छ ।
मुख्य कार्यक्रममा सहभागी हुन यहाँ उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरुलगायत आएका छन् ।
शान्ति क्षेत्र प्रवेशद्वार शिलान्यास
 भारतबाट कपिलवस्तु प्रवेशको मुख्य नाका चाकडचौडामा अन्तर्राष्ट्रिय शान्तिद्वारको शिलान्यास भएको छ ।  बुद्ध जयन्तीको अवसर पारेर जिल्ला विकास समिति कपिलवस्तुले उक्त कार्यको थालनी गरेको हो ।
भारतले कृत्रिम कपिलवस्तुको रुपमा अलिगढवा क्षेत्रलाई प्रचारप्रसार गरिरहेकै विषयलाई चुनौती दिँदै भारतीय नाकाबाट नेपाल प्रवेशतर्फ प्रवेश गर्ने मुख्य नाकामा प्रवेशद्वारको शिलान्यास गरिएको हो ।
नेपालको प्रवेशद्वारको सिधा दक्षिणमा भारतको नक्कली कपिलवस्तु प्रवेशद्वार रहेको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्रबहादुर थापामगर र कपिलवस्तुका प्रजिअ लक्ष्मणकुमार थापाले एक बृहत् समारोहबीच संयुक्तरुपमा सोमबार उक्त प्रवेशद्धारको शिलान्यास गरेका हुन् ।
जिल्ला विकास समिति कपिलवस्तुले चालु आवबाट खर्च हुने गरी उक्त प्रवेशद्वारको लागि रु १३ लाख बजेट उपलब्ध गराएको स्थानीय विकास अधिकारी चिरन्जीवी भण्डारीले बताए ।
उनका अनुसार ६ महिनाभित्रमा निर्माण कार्य पूरा हुने छ । बुद्ध सम्पदाका रुपमा कपिलवस्तुमा ५ दर्जन भन्दा बढी महत्वपूर्ण स्थान रहेता पनि औपचारिक प्रवेशद्वारको निर्माण गरी बौद्ध दर्शनका अनुयायी र अन्य पर्यटकहरुलाई स्वागत गर्ने काम भने यसअघि खासै भएको थिएन ।
बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले अिहंसाको प्रतिक तथा शान्तिका नायक महामानव गौतम बुद्धको सन्देश तथा प्रेरणाबाट मुलुकमा मेलमिलाप तथा सहकार्यको संस्कृति विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । 
मुलुक अत्यन्तै असहज राजनीतिक परिस्थितिबाट गुजि्ररहेको भन्दै राष्ट्रपति यादवले समझदारीका साथ अघि बढ्न पनि सबैलाई आग्रह गर्नुभएको छ । सरकारले यस वर्षको बुद्ध जयन्ती राष्ट्रियस्तरमै पहिलो पटक भव्यताका साथ मनाउन लागेको बताएको छ ।
विश्वमा शान्ति छर्ने बुद्धको नेपालमा भने शान्तिनै धरापमा पर्दै गइकोले शान्तिको खोजिका लागि बुद्ध जयन्ती मनाइदै छ ।
यसै सन्दर्भम्ा नेपाल सरकारले ु२५५५ औं बुद्ध जयन्तीको प्रतिवद्धता शान्तिको लागि नयाँ सविधानमा धर्म निरपेक्षताको सुनिश्चितताु भन्ने मूल नाराका साथ भव्य रुपमा मनाउन सबैम्ा आग्रह गरेको छ ।
आजको दिन सरकारले मुलुकभर सार्वजनिक बिदा दिएको छ ।
नेपालको कपिलबस्तु जिल्लामा जन्मनुभएको गौतम बुद्धलाई बिश्वले शान्ति छर्ने प्रभुत्वको रुपमा मनाउन थालेपछि भारतले अनैतिक तवरले अफ्नो भूमिमा जन्मेको भन्ने दाबि गलत सबित बन्दै गएपनि उसको हस्तक्षेपकारी भूमिकाको सामाना हामी नेपालीले गर्नु परेको छ ।

मापदण्डबिनै सरकारी सुविधा


काठमाडौ, ३ जेष्ठ  / सरकारले निश्चित मापदण्डबिनै पहुँचका आधारमा राज्यको साधन, स्रोत वितरण गरेको देखिएको छ । संसद्को राज्य व्यवस्था समितिको निर्देशनअनुरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले तयार पारेको विवरणमा समान हैसियतका व्यक्तिहरूले पनि फरक-फरक सुविधा लिएको पाइएको हो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा नेताहरूलाई दिएको सुविधामा एक रूपता देखिँदैन भने पहुँचका आधारमा अधिकांशले अनावश्यक सुविधा लिएको विवरणमा छ । राज्यको साधनस्रोत प्रयोगमा एकरूपता ल्याउने र दुरुपयोग रोक्ने सम्बन्धमा समितिले सरकारसँग विवरण मागेको थियो ।
राष्ट्रप्रमुख राष्ट्रपति रामवरण यादव र सरकार प्रमुख प्रधानमन्त्री झलनाथ खनाल तथा उनका सल्लाहकारहरूले लिएको सुविधामा ठूलो भिन्नता छ । विवरणअनुसार राष्ट्रपतिलाई एक जिप, एक कार, मासिक ३ सय १० लिटर तेल, १ सय ९६ सुरक्षाकर्मी, १८ जना निजामती कर्मचारी, पत्रपत्रिका, अतिथि सत्कार खर्च मासिक एक लाख र मोबाइल फोन दिइएको छ ।
प्रधानमन्त्री झलनाथ खनालले दुई कार, जिप दुई, माज्दा पिकप ३, निसान जिप एक, मासिक एक हजार लिटर तेल, सशस्त्रबाट ३८ र नेपाल प्रहरीबाट ५० सुरक्षाकर्मी लिएका छन् । त्यसका साथै प्रधानमन्त्री कार्यालयका लागि बा१झ ८२२० नम्बरको किया रियो कार, बा१झ ८३२९ र ७१६३ नम्बरको स्कार्पियो जिप, बा४च ५३७९ नम्बरको टोयोटा ल्यान्डक्रुजर जिप पनि छ ।
गृह मन्त्रालय स्रोतका अनुसार, कार्यकारी प्रमुख भएकाले प्रधानमन्त्रीको सुविधा बढी भएको हो । तर उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पनि सुरक्षाकर्मीबाहेकको सुविधा राष्ट्रपतिको भन्दा बढी छ । उनले बा१झ ८२१८ नम्बरको गाडी, सशस्त्र प्रहरीबाट टाटा टेल्को गाडी, चालक १, सेना १२, सशस्त्र ८ र प्रहरी २ जना लिएका छन् ।
यसका साथै अर्थमन्त्रीको निजी सचिवालयका लागि भन्दै बा१झ ७९१४ नम्बरको टोयोटा जिप, बा५च ९१५४ र ७३३९ नम्बरका दुई हुन्डाइ सेन्ट्रो कार र बा१झ ८४६९ नम्बरको महिन्द्रा स्कापियो गाडी लिएका छन् । अर्का उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले पनि बा१झ ८२२३ नम्बरको गाडी, बा१झ ५५५३ नम्बरको निसान जिप र सशस्त्रबाट टाटा टेल्को गाडी, चालक १, सेना १२, सशस्त्र ६ र प्रहरी २ जना लिएका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारको सुविधामा अझ ठूलो भिन्नता छ । राष्ट्रपतिका सल्लाहकार सूर्य ढुंगेल, हरि शर्मा र राजेन्द्र दाहालले कार र मासिक सय लिटर तेल सुविधा पाएका छन् । यस अतिरिक्त शर्मा र दाहालले मासिक दुई हजारमा नबढ्ने गरी टेलिफोन सुविधा पाएका छन् । दाहालले पत्रपत्रिका घर भाडाबापत मासिक थप पाँच हजार बुझ्छन् । राष्ट्रपतिका प्रेस सल्लाहकारसमेत रहेका दाहालका अनुसार तीनै जनालाई राज्यमन्त्रीसरह मानिएको छ । राज्यमन्त्रीसरहका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेलले भने गाडीसहित मासिक १ सय ८० लिटर तेल लिन्छन् । सहायकमन्त्रीसरहका प्रधानमन्त्रीका सल्लाहकारहरू निर्मलकुमार भट्टराई -जनसम्पर्क) र सूर्यबहादुर थापा छेत्री -प्रेस) ले पनि गाडीसहित १ सय ८० लिटर तेल सुविधा लिइरहेका छन् । राष्ट्रपतिका राज्यमन्त्रीसरहका सल्लाहकारभन्दा प्रधानमन्त्रीका सहायकमन्त्री सरहका सल्लाहकारले ८० लिटर तेल बढी लिने गरेका छन् ।
प्रधानमन्त्रीका सचिवसरहकै स्वकीय सचिवहरू दीपकचन्द्र अमात्य र रामबाबु अधिकारीले गाडीसहित ९० लिटर तेल पाएका छन् । मन्त्रीसरह भएकाले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले ६५८२ नम्बरको सवारीसाधान र २०० लिटर तेल सुविधा लिइरहेका छन् । 'राष्ट्रपतिलाई आलंकारिक भनेर हामी सल्लाहकारलाई पनि कम सुविधा दिइएको होला,' राष्ट्रपतिका एक सल्लाहकारले भने । 
पूर्वप्रधानमन्त्रीमा सबैभन्दा बढी सुविधा लिनेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल
छन् । पार्टीकै लडाकुको समेत सुरक्षा लिएका उनले ३३ सुरक्षाकर्मीसहित विभिन्न सुविधा लिएका छन् । सुविधा लिनेमा उपप्रधान र गृहमन्त्री बनिसकेका एमाले नेता केपी ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई समेत उछिनेका छन् । उनले २७ सुरक्षाकर्मी, गाडीलगायतको सुविधा लिएका छन् भने तेल सुविधामा त दाहाललाई पनि उछिनेका छन् ।
नेता ओलीले गृहबाट २ सय र प्रहरीबाट २ सय ५० गरी ४ सय ५० लिटर तेल लिन्छन् । पूर्वप्रधानमन्त्रीले लिएको सुविधा व्यक्तिपिच्छे फरक छ । २०४७ यताका गृहमन्त्रीहरूले लिँदै आएको सुविधामा त ठूलो असमानता छ । कसैले पूर्वप्रधानमन्त्रीभन्दा बढी सुविधा लिएका छन् भने कसैले एक जना प्रहरीमै चित्त बुझाएका छन् । शक्तिका भरमा कतिपय पूर्वमन्त्रीले धेरै सुविधा लिएका छन् ।
पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले सशस्त्रबाट टाटा टेल्को पिकअप, सशस्त्र ७ र प्रहरी ३ जना लिएकी छन् । स्रोतका अनुसार विवरणमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका नाममा उल्लेख सशस्त्र १० जना, प्रहरी १ जना पनि उनको र कांग्रेस सभापति सुशील कोइरालाको सुरक्षामा खटिएका छन् । कांग्रेस सभापति बनेदेखि कोइरालाले सशस्त्र प्रहरीबाट टाटा टेल्को पिकप, १ सय २० लिटर तेल, १७ जना सशस्त्र र ६ प्रहरीको सुविधा पनि लिएका छन् ।
राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकालले राज्य सुविधामा एकरूपता, पारदर्शिता आओस् र कसैले पनि दुरुपयोग नगरोस् भनेर छलफल चलाउन लागेको बताए । 'आवश्यकताभन्दा पनि शक्ति प्रदर्शनका लागि सुविधा लिने प्रचलन बढेको देखिन्छ । आवश्यकताका अनुसार राज्यले निश्चित सुविधा दिन्छ, दिनुपर्छ तर त्यसको एउटा निश्चित मापदण्ड बनाइनुपर्छ,' ढकालले भने, 'सुविधाबारे विस्तृत अध्ययनपछि हामी सरकारलाई आवश्यक निर्देशन दिन्छौं ।'
बढी सुविधा लिने पूर्वमन्त्रीमा रामशरण महत पनि अगाडि छन् । उनले सशस्त्रबाट ७ जना, प्रहरीबाट २ जना सुरक्षाकर्मी लिएका छन् । पूर्वमन्त्रीहरू प्रकाशशरण महत, ईश्वर पोखरेल र अर्जुननरसिंह केसीले ३/३ सुरक्षाकर्मी लिएका छन् । जबकि पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, बाबुराम भट्टराई, पशुपतिशमशेर जबरा, बालकृष्ण खाँड, रामबहादुर थापा, उपेन्द्र देवकोटा, प्रकाशमान सिंहले २/२ सुरक्षाकर्मी लिएका छन् ।
पूर्वमन्त्री पम्फा भुसाल, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, गोपाल किराँती, लेखराज भट्ट, विद्या भण्डारी, राजेन्द्र महतो, सुरेन्द्र हमाल, शरदसिंह भण्डारी, सर्वदेव ओझा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, सुरेन्द्र चौधरी श्यामसुन्दर गुप्ता, रघुजी पन्त, गिरीराजमणि पोखरेल, राज्यमन्त्री सुरेश मल्लले १/१ सुरक्षाकर्मी लिएका छन् । पार्टीका लडाकुको सुरक्षासमेत लिएका माओवादी नेताहरू सीपी गजुरेल, नारायणकाजी श्रेष्ठले २/२ र मोहन वैद्यले एक सुरक्षाकर्मी लिएका छन् । त्यसैगरी सभासदहरू विश्वनाथ अग्रवाल, सरिता गिरी, कृष्ण यादव, कौशल राय, प्रमोद गुप्ता, रामचन्द्र प्यासी, अजय चौरासिया, देवेन्द्र पटेल, सञ्जय साह, अजय द्विवेदी, ओमप्रकाश शर्मा, जयराम दाहाल, शिवचन्द्र कुशवाहा, प्रभु साह, भरत साह, नारायणप्रसाद अधिकारीले एक/एक सुरक्षाकर्मी लिएका छन् ।
सुविधा लिन पहुँच चाहिन्छ भन्ने उदाहरण हुन्, पूर्वसांसद अमरेशकुमार सिंह । उनले बा१झ ७६४८ नम्बरको गाडी, मासिक १२० लिटर तेल र एक सुरक्षाकर्मी लिएका छन् । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीले र गृहसचिव उमेश मैनालीले २/२ र पूर्वगृहसचिव भक्तबहादुर कोइराला, सचिव मोदराज डोटेलले १/१ सुरक्षाकर्मी लिएका छन् । त्यसैगरी पूर्वगृहराज्यमन्त्रीहरू देवेन्द्रराज कँडेलले ३, रामकुमार चौधरी र रिजवान अन्सारीले २/२ सुरक्षाकर्मी लिएका छन् ।
पूर्वप्रधानमन्त्रीहरु
पुष्पकमल दाहाल :    बा७च१०२९ नम्बरको गाडी, सशस्त्रबाट टाटा टेल्को गाडी, प्रहरीबाट ७९८८ नम्बरको बलेरो जिप, ३०० लिटर तेल, घर भाडा, बिजुलीका लागि मासिक ८० हजार रुपैयाँ सशस्त्र प्रहरी २३, नेपाल प्रहरी १० जना ।
माधवकुमार नेपाल :    बा७च १०३० नम्बरको गाडी सशस्त्रबाट माज्दा जिप, ३०० लिटर तेल, चालक १, सशस्त्र १२ प्रहरी २ जना ।
शेरबहादुर देउवा :    बा६च १०२५ र बा१झ ७५१४ नम्बरका दुई गाडी, मासिक ३०० लिटर तेल, दुई प्रहरी चालक, सशस्त्र २१, प्रहरी ३ जना ।
लोकेन्द्रबहादुर चन्द :    बा२च ९१४५ नम्बरको गाडी, तेल २०० लिटर, सशस्त्र १२, प्रहरी ७ जना ।
सूर्यबहादुर थापा :    बा२च१६०२ र बा१झ ७३६८ नम्बरका दुई गाडी, ३०० लिटर तेल, १४ सशस्त्र, प्रहरी २ जना ।
मरिचमान सिंह :    प्रहरी २ जना ।
पूर्वगृहमन्त्रीहरू
केपी ओली :    बा५च४७१८ नम्बरको गाडी, सशस्त्रबाट टाटा टेल्को पिकअप, प्रहरीबाट ८०८० नम्बरको गाडी, तेल ४५० लिटर, सशस्त्र १७, प्रहरी १० जना ।
भीम रावल :    बा६च ५५५५ नम्बरको गाडी, सशस्त्रबाट टाटा टेल्को गाडी, २०० लिटर तेल, प्रहरी सवारी चालक १, सशस्त्र १५, प्रहरी ६ जना ।
रामचन्द्र पौडेल :    बा१झ८३२८ नम्बरको गाडी, २०० लिटर तेल, चालक १, सशस्त्र १० प्रहरी २ जना ।
बामदेव गौतम :    बा६च ७८१ नम्बरको गाडी, सशस्त्रबाट माज्दा पिकअप, तेल २०० लिटर, सशस्त्र १४, प्रहरी २ जना ।
कृष्णप्रसाद सिटौला :    बा३च २९९४ नम्बरको गाडी, मासिक २०० लिटर तेल, सशस्त्र १०, प्रहरी २, सवारी चालक १ जना ।
खुमबहादुर खड्का :    बा१झ ८२२७ नम्बरको गाडी, मासिक १०० लिटर तेल, प्रहरी सवारी चालक १, सशस्त्र ९ र प्रहरी २ जना ।
पूर्णबहादुर खड्का :    बा५च ७३०४ नम्बरको गाडी, तेल २०० लिटर, सशस्त्र १२, प्रहरी २ जना । साथै गृहको २०५७ भदौ १४ को पत्रले शिक्षा मन्त्रालयबाट बा१झ ५१२४ नम्बरको जिप ।
गोविन्दराज जोशी :    सशस्त्रबाट ७ र प्रहरीबाट २ जना ।
बुद्धिमान तामाङ :    प्रहरी १ जना ।
निरन्जन थापा :    प्रहरी २ जना ।
कमल थापा :    प्रहरी ३ जना ।
दानबहादुर शाही :    प्रहरी १ जना ।

बम पड्काएर मार्दै हिँड्नेको अन्तर्वार्ता बजाएर 'शान्तिको अभियान'?


काठमाडौँबाट स्याटेलाइटको माध्यमबाट प्रसारण हुने च्यानल हिमालय टेलिभिजनले बिहीबार राति प्रसारण गरेको कार्यक्रम कुनै ‘एक्सक्लुसिभ’ काम हैन, यो त अपराधलाई प्रोत्साहन दिने एउटा निन्दनीय कुकृत्यमात्रै हो। नेपालको सार्वभौमसत्तामाथि नै धावा बोल्दै राज्यद्रोहको अभिव्यक्ति प्रसारण गर्नु दण्डनीय अपराध हो। यो अपराधलाई  ’समृद्धि र शान्तिको अभियान’ भन्ने ट्यागलाइन नारा राख्दैमा छोप्न सकिन्न।  प्रेस स्वतन्त्रताको दुहाइ दिएर पनि यसबाट बच्न पाइन्न।  किनभने कुनै पनि देशमा प्रेस स्वतन्त्रता निराकार हुँदैन। राष्ट्र र राष्ट्रियताविरुद्ध अपराध गर्न कुनै पनि देशले प्रेसलाई छुट दिँदैन। 
च्याउ झैँ उम्रिएका नेपाली टिभी च्यानलहरुले आफूलाई अरुभन्दा पृथक देखाउने होडबाजी गरिरहेका छन्। यसै क्रममा दुई वर्षअघि कात्तिकमा चेङ अग्रवालको नाममा लाइसेन्स पाएर गत वर्षदेखि प्रसारण थालेको हिमालय टेलिभिजनले एक्सक्लुसिभ प्राइम स्टोरीको नाममा बिहीबार एउटा अन्तर्वार्ता प्रसारण गर्‍यो। अन्तर्वार्ता प्रसारण हुनु दुई दिनअघिदेखि नै पत्रपत्रिकाहरुमा सो टेलिभिजनले यस्तो विज्ञापन छापेको थियो-
अन्तर्वार्ता भगत सिंहको थियो। सामान्य मानिसलाई यो भगत सिंह भनेको को हो थाहा नहुन सक्छ। तर नेपाल प्रहरीको मोस्ट वान्टेड लिस्टमा रहेका अपराधी हुन् यिनी।
गत चैत १३ गते लु १ ख ३६६६ नम्बरको बुटवल भैरहवा सडक खण्डमा चल्ने  माइक्रोबस यात्रु खचाखच भरिएको अवस्थामा विस्फोट भयो। त्यसमा सवार दुई निर्दोष यात्रुको ज्यान गयो। कयौँ घाइते भए। माइक्रो बस पूर्ण रुपमा क्षतिग्रत भयो। यो आक्रमणको जिम्मा यही भगत सिंह समूहले लिएको थियो। यो माइक्रोमा टाइम बमसहितको झोला भैरहवा बसपार्कबाट राखेर बीच बाटोबाटै फरार भएका तीन जनालाई प्रहरीले पछि पक्रेको थियो। उनीहरुले पनि आफू भगत सिंह कै समूहमा आवद्ध रहेको बयान दिएका थिए।
‘अब हामी भगत सिंहको जीवनको पहिलो टेलिभिजन अन्तर्वार्ता लिन अज्ञात स्थलतर्फ लाग्दैछौँ’ भनी रमाई रमाई टेलिभिजनमा बोल्ने पात्रले के त्यो माइक्रोमा चढेर बित्थामा ज्यान गुमाउनु परेकाको आत्माको पीडालाई अलिकति पनि बुझ्ने चेष्टा गरे ?  एक्सक्लुसिभको लेप लगाएर पर्दामा त्यो अपराधीको अन्तर्वार्ता बजाउने निर्णय गर्दा त्यो आक्रमणमा ज्यान गुमाएकाको परिवार र अंगभंग भएकाहरुको पीडा महसूस गरेर  अलिकति पनि इमान डगमगाएन ?
त्यो माइक्रोमा गरिएको आक्रमणमात्र हैन, अन्य कयौँ आपराधिक विस्फोटको जिम्मा उनको समूहले लिएको छ। ती मध्ये गएको महिना भएका घटना मात्र यस्ता छन्-
२०६७ साल चैत ११ गते रौतहटको भेडियाई गा.वि.स २ स्थित चोकमा बा १ ख ५७२१ न. को यात्रुबाहक बसमा  सकेट बम बिष्फोट, १२ जना यात्रु घाइते। जिम्मा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) ले लिएको।
२०६७ साल चैत १२ गते बांकेको गनापुर गा.वि.स ७ स्थित ना.४ ख १३३२ न.को बसमा  बम बिष्फोट, ६ जना घाइते। विस्फोटबाट बस पूर्णरुपमा क्षतिग्रस्त भयो। जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष भगत सिंहले फोनबाट विस्फोटको जिम्मा लिए।
२०६७ साल चैत १३ गते बुटवलको मिलनचोकमा भैरहवाबाट बुटवल आउँदै गरेको यात्रुवाहक माइक्रोबसमा बम विस्फोट भयो जसमा १५ जना घाइते भए। जिम्मा उही भगत सिंहले लिए।
(यसमा जनधनको क्षति नभएको र विस्फोट हुनुअघि नै सुरक्षाकर्मीले निस्क्रिय पारेको बमको घटना राखिएको छैन। त्यस्ता घटना दर्जनभन्दा बढी छन् उनको समूहले जिम्मा लिएका)
यस्तो आपराधिक समूहका नाइकेको कुरालाई टेलिभिजनमा पहिलो अन्तर्वार्ता भन्दै हिन्दी भाषामा नेपालको राजधानीबाट प्रसारण हुने टेलिभिजनमा राख्‍नुको औचित्य के ? उनको यो अन्तर्वार्ता प्रसारण नभएको भए के बिग्रन्थ्यो ? के त्यो दिनै पर्ने कार्यक्रम थियो ? यो अन्तर्वार्ता प्रसारण हुँदा देश र समाजलाई राम्रो हुन्थ्यो कि नहुँदा ? यस्तो अन्तर्वार्ता प्रसारण गरेर प्रेस स्वतन्त्रताको रक्षा भयो ठान्नुहुन्छ तपाईँहरु ? यो प्रेस स्वतन्त्रताको उपभोग हैन, अराजकताले सीमा नाघेको हो। हामीले भुल्नु हुन्न, यही प्रेसले तत्कालीन माओवादी द्वन्द्वलाई चरम सीमामा पुर्‍याउन अतुलनीय सहयोग गरेका थिए। माओवादी मर्दा ‘हत्या’ र माओवादीले प्रहरी मार्दा ‘मृत्यु’ शब्द लेखेर जो मरे पनि जनता कै छोरा मरेको तथ्यलाई भेदभाव गरेर द्वन्द्वलाई अझ भड्काउने काम कसले गरेको थियो ? अहिले त्यस्तै गल्ती यी टेलिभिजन च्यानलहरुले गर्न खोज्दैछन्। जनताका छोराछोरी प्रहरीलाई निर्मतापूर्वक मारेर ‘भट्टेडाँडामा साहसिक आक्रमण’ भनेर भंगेरा टाउके शीर्षक र फोटो हालेर उतिबेला समाचार छाप्नु जस्तो गल्ती थियो, अहिले यो मान्छे मारेर मैले पडकाएको हुँ भनेर जिम्मा लिँदै हिँड्ने भगत सिंहको अन्तर्वार्ता प्रसारण गर्नु पनि उस्तै गल्ती हो। अझ बढी गल्ती हो। किनभने उतिबेला माओवादीले आफूलाई विद्रोही पक्ष भन्थ्यो र प्रहरीलाई राज्य पक्ष। यहाँ त भगत सिंहले मारेका कुनै पनि पक्षका हैनन्, मात्र सर्वसाधारण, जो बस चढेर आफ्नो गन्तव्यतर्फ लाग्दै थिए।
स्वतन्त्रतासँगै जिम्मेवारी पनि जोडिएर आउँछ। हो, २०१७ सालमा महेन्द्रको कूपछि  ३० वर्षमा प्रेसले निकै दुःख पायो। सत्तासीनले नरुचाएको विषय प्रकाशन गर्न नदिने, त्यस्तो विषय छापिएमा पत्रिकाको दर्ता नै खारेज गर्ने, प्रेस नै बन्द गर्ने र सम्पादकहरूउपर मुद्दा चलाउने घटनाहरु भए। तर ०४७ सालको संविधानले त्यसलाई रोक्यो। अझ नेपालको अन्तरिम संविधान २०६३ ले त पत्रपत्रिका र छापाखानलाई मात्र हैन, टेलिभिजन, रेडियो र अनलाइनलाई समेत सुरक्षा प्रदान गरेको छ। तर यो स्वतन्त्रता पूर्णरुपेण भने होइन। सार्वभौमसत्ता, अखण्डता, राज्यद्रोह, हिंसात्मक कार्यलाई दुरुत्साहन गर्ने  जस्ता कामलाई संविधानले पनि निषेध गरेको छ। माथिको विज्ञापनले त्यो निषेधको खुलेआम उल्लङ्घन गरेको छ। ‘पूरै नेपाल कब्जाको तयारीमा’ भनेर टेलिभिजनले एउटा अपराधीलाई उसको हैसियतभन्दा बढीको स्तर त दिएको छ नै, संविधानले निषेध गरेको राज्यद्रोह र हिंसात्मक कार्यलाई दुरुत्साहन गरेको छ।
मान्छे मर्ने गरी बम राख्‍ने अनि फोन गरी जिम्मा लिने अपराधीको अन्तर्वार्ता प्रसारण गरेर हिमालय टेलिभिजनले आफ्नो नारामा भने जस्तो समृद्धि र शान्तिको अभियान पूरा हुन्छ भने वैशाख ८ गतेसम्म सञ्चार मन्त्रालयले लाइसेन्स दिएका सबै २८ वटै टेलिभिजनलाई उनकै अन्तर्वार्ता प्रसारण गर्न लगाउँ। देशभरका एफएमहरुमा बिहान बेलुकी भजनको ठाउँमा उनकै अन्तर्वार्ता बजाउन लगाउँ। हैन, त्यसो हुँदैन भने यो अन्तर्वार्ता प्रसारण गर्नुको औचित्य के ? यस्तै गैर जिम्मेवारी लहडले भएको अधिकार पनि गुमाउनु पर्ने स्थिति आउन सक्छ। सचेत होऔँ।
को हुन् भगत सिंह ?
भगत सिंहको सक्कली नाम अर्जुन सिंह हो। सिंह प्रहरीका ‘मोस्ट वान्टेड’ हुन्। उनीविरुद्ध आधा दर्जन मुद्दा नेपाल प्रहरीमा दर्ता छन्। महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक चक्रबहादुर बमको हत्या प्रयासको अभियोगमा २०६४ जेठ २ मा उनी पक्राउ परेका थिए। तर कांग्रेसका नेताहरूको जमानीमा उनी छुटेका थिए। गत असोजमा उनलाई भारतीय सीमा सुरक्षा प्रहरी एसएसबीले भारतको रूपैडियादेखि करिब डेढ किलोमिटर टाढा पचपकरीमा पेस्तोलसहित पक्राउ गरेको थियो। एसएसबीले रुपैडिया थानामार्फत् जिल्ला कारागार बहराइच चलान गरेको थियो। अवैध हतियार राखेको आरोपमा कारागार चलान गरिएपनि जिल्ला अदालत वहराइच चिफ जुडिसियल मजिस्ट्रेट कोर्टबाट उनलाई रिहा गरिएको थियो। दुई जना भारतीय नागरिकको रोहवर र जमानतमा सिंह छुटेका थिए। नेपालमा हत्या, हिंसा र अपहरणमा संलग्न रहेको अभियोगमा मोस्ट वान्टेड सूचिमा रहेका सिंहलाई सुपुर्दगी गर्न नेपाल प्रहरीले भारतसँग आग्रह गरेको थियो तर भारतले बुझाउन मानेन।
भारतमा बसेर सिंहले लामो समयदेखि नेपालगन्जमा हत्या, अपहरण, लुटपाट र चन्दा असुलीमा संलग्न रहँदै आएको बाँके प्रहरीको दावी छ। संभवतः हिमालय टेलिभिजनले भारत मै गएर यो अन्तर्वार्ता रेकर्ड गरेको हो।
मधेसी नेताहरु भारत भ्रमणमा फर्किएपछि माथि उल्लेख गरिएका भगत सिंहले जिम्मा लिएका विस्फोटका घटना भएकोले यो विस्फोटको जिम्मा मधेसी नेताहरुले लिनुपर्ने र उनीहरुकै मिलेमतोमा यस्ता घटना भएको आरोप सभासद बबन सिंहले संसदको बैठकमा लगाएका थिए।

जो पायो त्यहीलाई सुरक्षा सुविधा


काठमाडौ, २ जेष्ठ / जनशक्ति अभावमा प्रभावकारी सुरक्षा व्यवस्था कायम हुन नसकेको दाबी गरिए पनि प्रहरीका रासन ठेकेदारदेखि संन्यासीसम्मले सरकारबाट सुरक्षा सुविधा लिइरहेका छन् ।
संसद्को राज्यव्यवस्था समितिको निर्देशनअनुरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले तयार पारेको विवरणमा पहुँचका आधारमा यस्ता व्यक्तिले सुरक्षा सुविधा लिएको देखिएको हो ।
राज्यको साधनस्रोत प्रयोगमा एकरूपता ल्याउन र दुरुपयोग रोक्न समितिले सरकारसँग विवरण माग गरेको थियो । मुख्यसचिव माधवप्रसाद घिमिरेले विभिन्न मन्त्रालयसँग माग गरी तयार पारेको विवरणमा सयभन्दा बढी सुरक्षाकर्मी अनावश्यक रूपमा परिचालित भएको देखिएको छ ।
विवरणअनुसार पर्साका प्रहरीका रासन ठेकेदार विनोद शाहको व्यक्तिगत सुरक्षाका लागि २०६७ असोजदेखि तीन प्रहरी खटिएका छन् । धनुषाका अर्का रासन ठेकेदार दीपेन्द्र ठाकुरलाई २०६७ माघदेखि एक प्रहरी दिइएको छ ।
प्रहरीको सुरक्षा सुविधा लिनेमा साधुसन्त पनि छन् ।सुनसरी चतराधामस्थित रामनन्द पीठका जगतगुरु रमानद्यचार्य पीठाधीश्वर कृष्ण दासले २०६७ भदौदेखि र सुनसरी चतराकै पीठाधीश्वरका बालसन्त मोहनशरण महाराज जगतगुरुले २०६६ जेठदेखि एक/एक सुरक्षाकर्मी लिएको विवरणमा छ । त्यसैगरी महन्थ लक्ष्मीनारायण मठ मटियानी महोत्तरीका साधु जगरनाथ दासले २०६७ पुसदेखि एक सुरक्षाकर्मी लिएका छन् ।
सुरक्षा सुविधा लिनेमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी पनि छन् । उनले पूर्वयुवराज पारस शाहसँग झगडा हुनुभन्दा निकैअघि २०६६ देखि नै दुई सुरक्षाकर्मी लिएका छन् । पहुँचका आधारमा जिल्लास्तरीय नेताले समेत सुरक्षा सुविधा लिएको विवरणमा छ ।
सिराहका एमाले जिल्ला अध्यक्ष लीला श्रेष्ठ र सप्तरीका एमाले नेता जगदीशप्रसाद साहले २०६७ असोज १२ देखि एक/एक प्रहरी लिएका छन् । सिराहकै कांग्रेस सभापति सीतादेवी यादवले २०६७ भदौ २३ देखि एक प्रहरी लिएकी छन् ।
कांग्रेस पर्साका सभापति राजेन्द्र अमात्यले २०६७ मंसिरदेखि, तरुण दलका बारा अध्यक्ष लोकेश सिंहले २०६७ वैशाखदेखि, पर्साका एमाले नेता अशोक टिमानीले २०६७ पुसदेखि, रूपन्देही मधेसी जनअधिकार फोरमका जिल्ला सचिव सन्तोष पाण्डेले २०६७ माघदेखि एक/एक प्रहरी लिएका छन् । शरणार्थी नेता टेकनाथ रिजालले समेत २०६५ कात्तिकदेखि एक प्रहरी लिएका छन् ।
सुरक्षा सुविधा लिने उद्योगपति, व्यापारी, डाक्टरहरू पनि उल्लेख्य रूपमा छन् । सुरक्षा सुविधा लिने उद्योगी व्यापारीमा अधिकांश पर्सा जिल्लाका छन् । पर्साका उद्योगपतिहरू सञ्जय केडियाले २०६७ देखि र विनोद अग्रवालले २०६६ फागुनदेखि दुई प्रहरी लिएका छन् भने पवन अग्रवालले २०६७ असोज, अनिल रुगटाले २०६७ असार, गणेश लाठ, रतन अग्रवाल र सत्यनारायण क्यालले २०६६ चैतदेखि एक/एक प्रहरी लिएका छन् ।
पर्साकै उद्योगपति अशोक वैद्यले २०६७ असोज, राजेश अग्रवालले २०६७ मंसिर, अनिल अग्रवालले २०६७ असार, वीरेन्द्र संगडाई, अशोक लाठ र ज्योतिलाल साहले २०६६ मंसिर, उद्योगपति विश्वनाथ साहले २०६५ कात्तिक, गोपाल केडियाले २०६७ जेठ, उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सकारियाले २०६७ जेठदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् ।
एमडीएस ट्रेडर्स पसार्का सज्जन तिवारीले २०६६ असोज, पर्साकै व्यापारी राजेन्द्र गुप्ताले २०६६ मंसिर, मनोज चौधरीले २०६७ असार र डाबर नेपाल पर्साका महाप्रबन्धक इन्द्रमिल गुप्ताले २०६६ माघदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् ।
सुरक्षा लिने अन्य उद्योगी व्यापारीमा गोरखा डिपार्टमेन्ट स्टोर सुनसरीका बलराम आचार्य, इन्भेस्टमेन्ट बैंकका ज्योति पाण्डे, रूपन्देहीका उद्योगपति इस्तिहाज अहमद, उद्योग वाणिज्य महासंघ रूपन्देहीका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि छन् ।
यी सबैले एक/एक सुरक्षाकर्मी लिएका छन् । लामो समयदेखि सुरक्षा सुविधा लिने चिकित्सकमा बीएन्डबीका डाक्टरद्वय जगदीशलाल वैद्य र अशोक बाँस्कोटा छन् । उनीहरू दुवैले २०६३ जेठदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् ।
सगरमाथा अञ्चल अस्पताल, सप्तरीका डाक्टर मुरलीप्रसाद सिंह, राजविराजका डाक्टरहरू कल्पना बछार र कमलेशप्रसाद सिंहले २०६६ वैशाख तथा टेकनाथ मण्डल र लक्ष्मण मण्डलले २०६७ असोजदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् । 
भरतपुर क्यान्सर अस्पतालका डाक्टर भक्तमान श्रेष्ठले २०६७ असारदेखि दुई, सोही अस्पतालका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले २०६७ भदौ, भरतपुर मेडिकल कलेजका निर्देशक नटराजप्रसादले २०६७ जेठ, मोरङका डाक्टर यमबहादुर रोकाले २०६७ कात्तिकदेखि एक/एक सुरक्षाकर्मी लिएका छन् ।
पर्साका डाक्टरहरू मुकेश अग्रवालले ०६६ वैशाख, रवीन्द्र सिंहले ०६७ कात्तिक, जेनुदिन अन्सारीले ०६७ साउनदेखि एक/एक र एडभान्स अस्पतालका एक डाक्टरले ०६७ भदौदेखि दुई सुरक्षाकर्मी लिएका छन् ।
पूर्वराजालाई अझै सुरक्षा
पूर्वराजा र परिवारका सदस्यले उल्लेख्य सेवा, सुविधा पाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले १ सय १२ सुरक्षाकर्मीसहित टाटा टेल्को पिकप, निर्मल निवासका लागि टाटा सुमो र इन्धन सुविधा लिइरहेका छन् । पूर्वराजपरिवार सदस्यहरू दिलाशा राणा, शोभा शाही र विमला शाहलाई २०६५ असारदेखि ५/५ सुरक्षाकर्मी दिइएको छ । राजपरिवारकै स्व. रवीन्द्र शाहलाई २०४७ सालभन्दा अघिदेखि पाँच सुरक्षाकर्मी दिइएकामा उनीहरू अहिलेसम्मै परिचालित छन् ।