बालिग मतद्वारा अस्वीकृत र पार्टी मतद्वारा परित्यक्त केपी कसरी एमालेका प्रभावशाली नेता भएका हुन् ? तिनको प्रभावको स्रोत के हो ? सामन्ती वंशवाद ? राजतन्त्रीय हैकमवाद ? वा अन्त कतैका ख्वामित्को कृपा र आशीर्वाद ?
कहालीलाग्दो संक्रमणकालीन राजनीतिको जँघार तार्ने अगुवाको कार्यकारी आसनमा झलनाथ खनाल उकालिएका छन् । तिनका हातमा ढोडको लौरो छ । जँघारको उत्ताल वेगमा लुला खनाललाई लड्न नदिन दह्रा प्रचण्ड कटिबद्ध छन् । तिनका हातमा पनि ढोडैको लौरो छ । कतिपय ज्ञानीले खनाललाई प्रमको कुर्सीमा माधवकै नयाँ संस्करण भनेका छन् । अतीतको ऐनामा झलनाथको अनुहार हेर्दा तिनको भनाइमा उत्रो अर्घेल्याइँ म देख्दिनँ । फरक यति हो, माधव डबल हरूवाको अलंकारले विभूषित पात्र हुन् । तिनलाई माओवादीले बोरामा हालेर संविधानसभामा छिराएको थियो । र, तिनलाई त्यही बोरामा हालेर कांग्रेसले प्रधानमन्त्रीको गद्दीमा बैठाएको थियो । माधव सरकार यथास्थितिप्रेमीहरूका भग्न सपनाहरू राख्ने झुत्रो झोली थियो । रमरम वाम रङ भएका झलनाथ भने डबल जितुवा हुन् । संविधानसभाको चुनावमा माओवादी आँधीबीच यिनले जिते । र, पार्टी अध्यक्षमा केपी कणको कपट, जाल र दौलतको खेललाई पनि यिनले सहजै परास्त गरे । तर, प्रमको कुर्सीमा बसेर जितुवा झलनाथले हरूवा माधवले भन्दा गतिलै काम गर्लान् भनी पत्याउन गाह्रो गाह्रै छ । प्रम झलनाथको बादलु बिहानीले यिनको दिनको लक्षण झल्काइसक्यो । जिब्रो लकपकाउनु, पिँडुला कमाउनु र लत्रिनु त झलनाथको सुपरिचित चारित्रिक धर्मै हो ।झलनाथ सातबुँदे स्रेस्ताको लहरोमा झुन्डिएर, बालुवाटारमा पूजाआजा र न्यासध्यान गरी मखलेल मुद्रामा सिंहदरबार भित्रिए । तर, भित्रिनु के थियो उनकै दलका भयाक्रान्त दक्षिणपन्थीहरू समवेत स्वरमा कुर्लिन थाले । कुर्लिनेहरूका दुई नायक परे श्री केपी शर्मा ओली र मिस्टर माधवकुमार नेपाल । पवित्र विष्ट केपी-माधवलाई दलित माओवादीको समर्थन अपवित्र लाग्यो । र, तिनले गर्जन गरे- अपवित्रले बनाएको प्रधानमन्त्री अपवित्र हो । यो अपवित्र चोखिनुपर्छ । दुई विष्टगणको मन राख्न दुई अध्यक्षले सातबुँदे स्रेस्ताको सविनय व्याख्या गरे । सत्तामा एकाधिकार कायम गर्ने दाउ हाम्रो होइन भनेर तिनले सफाइ दिए । र, तिनले सहमतिको मन्त्र हामीले बिर्सेका छैनौँ भनेर शिर पनि झुकाए । तैपनि, विष्ट केपी-माधवको चित्त बुझेन । यी भन्दाछन्- सातबुँदे अझै अपवित्र छ । यसलाई थप धोइ-पखाली गर । लाग्छ, यो धोइ-पखाली फगत निहुँ हो । यिनको इरादा सरकार बन्न नदिनु, सरकारमा माओवादीलाई सास फेर्ने ठाउँ नदिनु, शान्ति र संविधानको बाटो छेकिराख्नु र अराजकतामा आप\mनो खोटो भाग्य अजमाउने यत्न गर्नु हो ।
झलनाथका अगाडि प्रमको रसभरि चमचमतुल्य गद्दी थियो । उनका तृषित अर्जुन दृष्टि गद्दीमा स्थिर भएका थिए । प्रचण्डले भने- यो अग्लो गद्दी हजुरलाई भो । सट्टामा म अकिञ्चन गृहमन्त्रीको होचो गद्दी पाऊँ । झलनाथ मौन रहे । तिनको मौनलाई होस्ल्याङे प्रचण्डले सम्मतिको रूपमा बुझे । पछि झलनाथ केपी-माधवको घेरामा परे । झलनाथलाई दाब्दै तिनले भने- अछूत माओवादीलाई सुरक्षाका कुर्सी कालत्र दिनुहुन्न । तिनमा दाग लाग्छ । झलनाथ फेरि पनि मौन रहे । र, तिनको मौनलाई केपी-माधवले सम्मति ठाने । तिनले आप\mनो विष्ट जातका चोखा विष्णु पौडेललाई दौरा-सुरालले चिरिच्याँट्ट सजाए । र, झलनाथलाई भने- वत्स, प्रमको गद्दी भोगचलन गर्ने नै भए यी पवित्र विष्णुलाई गृहमन्त्री बनाइहाल । झलनाथ फेरि पनि मौन रहे । र, ती दोबि्रएर लतारिँदै विष्णु पौडेललाई अघि लाएर शीतलनिवास पुगे । मैले देखेँ, विष्णु पौडेललाई शपथ ख्वाउँदाको आत्महीन क्षणमा झलनाथको प्रम पद खरानी भइरहेको थियो ।
विष्ट विष्णु पौडेल झलनाथका घाँटीको घाँडो हुन् । घाँडो भिरेको झलनाथ आफैँले हो । चोखा विष्णु पौडेल सरकारलाई आकार दिने बाटोमा खडा गरिएका काँडेतारका बार हुन् । बार वरण गरेको झलनाथ स्वयंले हो । अब घाँडो झकिेर फालुँ, सामुन्नेमा केपी-माधव कोर्रा लिएर उभिएका छन् । काँडे तारको बार ढालुँ, उनै दक्षिणपन्थीद्वय तरबार उजाएर रौद्र मुद्रामा उभिएका छन् । यस्तोमा मौन रहनु, सुस्केरा हाल्नु, झुक्नु र लत्रिनुसिवाय झलनाथसँग उपाय नै के छ र ? आखिर उनले जानेको र गरिआएको कर्म यस्तै त हो ।
अध्यक्ष झलनाथको एमाले भूतलभरिकै अजीवको पार्टी हो । त्यहाँ हरूवाले जितुवाको ठाउँ लिन्छ । जितुवा हरूवाका टाँगामुनि छिर्न विवश हुन्छ । केपी शर्मा ओली एमालेका प्रभावशाली नेता कहिन्छन् । केपीको कुल योग्यता तुक्का खेलाउनु र हार्नु, हार्नु र फेरि पनि हार्नु हो । नचुनिएको र हारेको जीवात् गणतन्त्रको अख्तियारपति हुँदैन भन्ठानिएको थियो । नचुनिएका ज्ञानेन्द्र शाह जनआवेगको उत्ताल समुद्रमा बगेर सकिए । तैपनि हरुवाहरूको जग्जगी र ठालुगिरी भने कायमै रह्यो । माधव सरकार हरुवाहरूको लाजमर्नु भीड थियो । त्यो भीडको स्रष्टा थियो आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने वृद्ध, शुष्क र सुस्त कांग्रेस । एमालेले 'जबज' अर्थात् जनताको बहुदलीय जनवादको सूत्र जप्न छाडेको छैन । तर, एमालेमा न जनभावनाको सम्मान छ, न बहुदलीयताको अर्थ छ, न त जनवादको कुनै हैसियत छ । छ त केवल हरुवाहरूको नांगो नाच । बालिग मतद्वारा अस्वीकृत र पार्टी मतद्वारा परित्यक्त केपी कसरी एमालेका प्रभावशाली नेता भएका हुन् ? तिनको प्रभावको स्रोत के हो ? सामन्ती वंशवाद ? राजतन्त्रीय हैकमवाद ? वा अन्त कतैका ख्वामित्को कृपा र आशीर्वाद ?
प्रधानमन्त्री पदका अति प्यासा झलनाथका आप\mना भोट थिए जम्मा एक सय सात थान । माओवादीले आप\mना र आप\mना मितहरूका गरी दुई सय अठचालीस भोट झलनाथको झोलीमा हालिदियो । झलनाथका तालुमा सपनामा पनि नचिताएको आलु फल्यो । तर, तिनले लेसमात्र पनि कृतज्ञता प्रदर्शन गरेको देखिएन । तिनले सरकारमा माओवादीको बाटो छेक्नेगरी म विष्णु पौडेल नामक घाँडो भिर्दिनँ भन्न सकेनन् । तिनले यो घाँडो भिर्नुको सट्टा बरु म पदै छाड्छु भन्न आँट गरेनन् । उता गयो, उतै लुत्रुक्क । यता आयो, यतै लुत्रुक्क । लुत्रुक्कमार्गी नाथेले संकटको यो भवसागरमा राजनीतिको ढलपले डुंगा कसरी तार्छ ? र, ढोडधारी प्रचण्ड धुकचुके र धरमरे झलनाथलाई बोकेर कसरी जँघार तर्छन् ? विष्णुरूपी घाँडो अहंकार र प्रतिष्ठाको विषय बनेर झलनाथका घाँटीमा झुन्डिएको छ । त्यसले झलनाथलाई न शोभा दिन्छ न गति । यो अशोभनीय अगति झलनाथको आप\mनै दुर्बल चरित्रको विषतुल्य फल हो ।
एकबारको जुनीमा जसरीतसरी प्रधानमन्त्री बन्नु झलनाथको ध्येय नहोला । प्रधानमन्त्री त तुलसी गिरी पनि बनेकै हुन्, नगेन्द्रप्रसाद रिजाल पनि बनेकै हुन्, मरिचमान पनि बनेकै हुन् । दक्षिणको आशीर्वाद र दक्षिणपन्थीहरूको प्यार पाएर, बोरामा बोकिएर यी राजावादीहरूको लहरमा फोटो त माधव नेपालले पनि टाँगेकै हुन् । केवल त्यै लहरमा एउटा फोटो टाँग्नु थियो त माधवको फोटोमै म हाजिर छु भनिदिए भएकै थियो ।
झलनाथ ठान्दा हुन्, म प्रचण्डवेगी जँघारको किनारामा सुरक्षित छु । मलाई प्रचण्डले बोकेर जतनले पारि पुर्याउनेछन् । तर, यो तिनको भ्रम हो । अभागी प्रचण्डले त यिनलाई आप\mनो जो भएको सिरिखुरी सम्पत्ति दिइसके । अब दिने पालो यिनको हो । बल यिनको कोर्टमा छ । बरा प्रचण्डको हात खाली छ । अहिले झलनाथ चालै नपाई जँघारको मझधारतिर हुत्तिँदै छन् । घाँटीमा भिरेको घाँडो पानीले भिजेर झन्झन् गह्रुंगो हुँदै छ । अब यिनका सामु दुईवटा नियति छन् । डुब्नु अथवा पारि पुग्नु । सदाका लागि पतीत हुनु अथवा कीर्तिगाथा रच्नु । राजनीति जोखिमको खेल हो । जोखिम नउठाउने अकर्मण्य, अल्छे र पामरले के गर्छ राजनीति ? दक्षिणपन्थी, हरूवा र मानवमंगलका शत्रुहरूका सामु सततः लत्रिएर के गरिन्छ जनराजनीति ?
सिद्धिचरण श्रेष्ठले इहलोकका झलनाथहरूलाई हेरेर रचेको कविताका चार पाउ सम्झनामा आएः
सागरको बीच आइसकेपछि
भयले अब हट्न हुँदैन
आँधी आई कुर्ले कुर्लोस्
अब हिम्मत हार्न हुँदैन
डुब्ला मर्ला अरू के होला
यति न हो त्रास तँलाई
लाखौँ डुब्छन् लाखौँ मर्छन्
जगको रीत चलाउनलाई ।
No comments:
Post a Comment