२९ वैशाख, काठमाडौं / सभासद्हरुले अहिलेसम्म सुडान घोटालाका दोषीमाथि कारवाही नभएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गरेका छन् ।
व्यवस्थापिका संसद अन्तरगतको राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकमा सभासदहरुले उपसमितिको प्रतिवेदन कार्यान्वयन नभएकोमा आपक्ति जनाएका हुन् ।
‘हामीले पहिलेदेखि नै अख्तियारमा भाइरस पस्यो कि भनेका हौं’ एमाले सभासद् राजबहादुर बुढाले भन्नुभयो-’झलनाथ, प्रचण्ड, सुशीलजस्ता ठूलै भाइरस पसेको भए पनि भन्नुस् हामी हटाउन सहयोग गर्छौं ।’
एमाले सभासद् एवं घोटाला छानबिन उपसमितिका संयोजक प्रदीप ज्ञवालीले उपसमितिको प्रतिवेदनअनुसार तत्काल कारबाही सुरु गर्न आग्रह गर्नुभयो । जनमोर्चाका चित्रबहादुर केसीले कारबाहीमा ठूलै मान्छे पनि पर्ने भएकाले समितिको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आशंका व्यक्त गर्नुभयो ।
सभासद्हरूले आलोचना गरेपछि समितिका सभापति रामनाथ ढकालले सुडान घोटालाका दोषीमाथि तत्काल कारवाही गर्न अख्तियारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा अख्तियार सचिव काफ्लेले दोषीमाथि कारवाही गर्न अख्तियारलाई कुनै अप्ठ्यारो नभएको बताउनु भयो । ‘अख्तियारको संयन्त्रमा भाइरस पसेको छैन’उहाँले भन्नुभयो-’दोषीलाई कारबाही गरेरै छाड्छौं ।’ गृहमन्त्री महराले छानवीन र कारवाहीका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।
सुडानमा शान्ति स्थापनार्थ तैनाथ प्रहरीका लागि किनिएको आर्मड पर्सनल करियर (एपीसी) लगायतका बन्दोबस्तीका करिव ४५ करोडका सामान गरिदमा करिव ३१ करोड घोटाला भएको ज्ञवाली संयोजकत्वको समितिले प्रतिवेदन तयार गरेको थियो ।
No comments:
Post a Comment