Sunday, November 4, 2012

काठमाडौं-हेटौंडा सुरुङमार्ग माघदेखि


हेटौंडा, कार्तिक २० - निजी क्षेत्रले निर्माण जिम्मेवारी पाएको काठमाडौं- कुलेखानी-हेटौंडा सुरुङ मार्गको निर्माण माघदेखि सुरु गर्ने भएको छ । सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेकाले माघ महिनादेखि निर्माण कार्य सुरु गर्ने पूर्वाधार विकास कम्पनीले जनाएको हो । मुलुकमा पहिलो पटक निजी क्षेत्रले निर्माण गर्न लागेको सुरुङ मार्गको प्रारम्भिक र वातावरणीय प्रतिवेदन सम्बन्धित निकायमा प्रस्तुत गरिसकेको र डीपीआरको तयारी ९५ प्रतिशत पूरा भएको कम्पनीका उपाध्यक्ष तथा विज्ञ लालकृष्ण केसीले बताए । 'एक महिनामै डीपीआर तयार हुन्छ,' उनले भने, 'सरकारसँग निर्माण कार्यको अन्तिम सम्झौता गरेर आगामी फेब्रुअरी महिनाबाट निर्माण कार्य सुरु गर्ने छौं ।' कम्पनीले हेटौंडामा शनिबार गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा सुरुङ मार्गको प्राविधिक पक्षको साथै हालसम्म भएको प्रगति पनि प्रस्तुत गरेको थियो । केसीले स्वदेशी तथा विदेशी अत्याधुनिक प्रविधि र उपकरण प्रयोग गरेर सुरुङ मार्गको निर्माण कार्य चार वर्षभित्रमा सम्पन्न गरिसक्ने दाबी गरे ।
केसीका अनुसार काठमाडौं- कुलेखानी- हेटौंडा सुरुङमार्गमा तीन टनेल निर्माण गरिने छ । चोभार-कुलेखानी, कुलेखानी- भीमफेदी र भैंसे-त्रिखण्डी गरी चार सुरुङको लम्बाइ साढे ४ किलो मिटर लामो हुने छ ।
सार्वजनिक-निजी क्षेत्र साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागेको सुरुङ मार्गका लागि कम्पनीले सेयर खरिद गर्न आह्वानसमेत गरेको छ । सुरुङ मार्गको आसपासमा पर्ने २६ गाविसका २ लाख ७० हजार बासिन्दालाई सेयर दिइने छ ।
सुरुङ मार्गमा पर्ने ८७ हेक्टर खेतीयोग्य जमिन अधिग्रहण गरेर मुआब्जा वा रकम सेयरमा परिणत गर्ने व्यवस्था मिलाएको कम्पनीका अध्यक्ष्ा कुशकुमार जोशीले बताए ।

No comments:

Post a Comment