पूर्वमा टिस्टा र पश्चिममा किल्ला कांगडासम्म फैलिएको विशाल नेपाल सुगौली सन्धिमा नेपालका प्रतिनिधि चन्द्रशेखर उपाध्यायले १८७२ चैत्र १ (२ मार्च १८१६) दिनको २:३० बजे सहिछाप गरेर इष्टइण्डिया कम्पनी सरकारका लेप्टिनेन्ट कर्णेल ब्रडसालाई मकवानपुरको सुगौलीमा हस्तान्तरण गरेपछि नेपाली सीमारेखाको लम्बाई घट्न पुग्यो । पूर्वको मेचीपारी टिष्टासम्म सिक्किमलगायत अन्य क्षेत्रहरु । त्यस्तै पश्चिमतर्फ महाकाली पारीका कुमाउ, गढवाललगायतका अन्य क्षेत्रहरु र दक्षिणतर्फ महाकाली र राप्ती (बांकेदेखि कञ्चनपुर) सम्म फैलिएको प्रायः सबै उर्वर भू-भाग कम्पनी सरकारले आफ्नो अधिनमा लियो ।
सुगौली सन्धिको पहिलो धारामै इष्टइण्डिया कम्पनी सरकार र नेपालका राजाबीच चिरस्थायी शान्ति र मैत्री सम्बन्ध कायम रहने छ भन्ने कुराको घोषणा गर्यो । यस घोषणाले उल्लेखित कम्पनी सरकारले आफ्नो अधिनमा लिएको स्थानमा रहेको गोर्खाली फौजलाई ४० दिनभित्र हटाई आत्मसमर्पण गर्न बाध्य बनायो । यसरी अंग्रेजहरुले नेपाली भू-भागलाई अतिक्रमण गरेर आफ्नो अधिनमा लिएका थिए । वि.सं. १९१७ (इ.सं. १८६०) मा भारतमा भएको पहिलो स्वतन्त्रता संग्रामको सिपाही विद्रोह दबाउनको लागि नेपालका तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले कम्पनी सरकारलाई सैनिक सहयोग गरेवापत नेपाललाई पुरस्कार स्वरुप महाकालीदेखि राप्तीसम्मको (बांके, बर्दिया, कैलाली र कञ्चनपुर) चार जिल्ला उपलब्ध गराएको थियो । जुन हाल नयां नेपाल भनेर हामीले चिन्दछौं । भारतमा तत्काल शासन गरेको इष्टइण्डिया कम्पनी सरकारले नेपाली जनताको हकहीत र अधिकारको वेवास्ता गरी आफ्नो निहीत स्वार्थको लागि एकतर्फी रुपमा सुगौली सन्धि गर्न लगाई नेपालीहरुलाई चुप लाग्न बाध्य बनायो भने अंग्रेजबाट स्वतन्त्र भएपछि भारतले नेपालको राष्ट्रिय आत्मनिर्भर एवं स्वतन्त्र आर्थिक, राजनैतिक र सामाजिक विकासको बाटो बन्द गरिदियो । नेपाललाई विदेशी पूंजीपतिहरुको लागि कच्चा माल उत्पादन गर्ने, उनीहरुको तयारी माल विक्री गर्ने, सस्तो र मुल्यहीन मानवश्रम खरिद गर्ने र साम्राज्यवादीहरुको रक्षाको लागि भाडामा सिपाही प्राप्त गर्ने बजारको रुपमा प्रयोग गर्दै आएको छ । त्यस्तै १९५०को कथित नेपाल भारत मैत्री सन्धिले भारतीय जनताहरुको हकहीत लगायत सुरक्षा तथा परराष्ट्र नीतिमा एकतर्फी रुपमा भारतीयहरुको पक्षमा वकालत गर्ने भएको कारण नेपाली जनता परनिर्भर भएर बांच्न बाध्य बनाइएको भन्ने कुरा हामी सवै नेपालीहरुले व्यवहारिक रुपमा नै भोग्दै आएको कुरा प्रष्ट छ ।
नेपाल र भारतको सीमाना जोडिएका २६ वटा जिल्लाको लगभग पांच दर्जनभन्दा बढी स्थानहरुमा नेपाली भूमि अतिक्रमण भएको छ भने पश्चिम नेपालमा पर्ने कालापानी क्षेत्रमा (नेपाली भूमिमा) भारतीय सेनाहरु आफ्नो कब्जा जमाएर बसेका छन् । सीमा क्षेत्रबाट नेपालीहरुलाई ज्यादती गरी धपाउने र नेपाली चेलीबेटीहरुमाथि अभद्र व्यवहार गरी यौन शोषण गर्ने र नेपाली जनतालाई गोली ठोक्ने जस्ता कार्यहरु दिन प्रतिदिन बढ्दै गइरहेको छ । यस्ता दादागिरीपूर्ण कार्यले नेपाली जनताको आत्मसम्मान र स्वाभिमानमा प्रत्यक्ष चोट पुर्याएको हुंदा नेपालीहरुको धैर्यताको बांध नभत्किएला भन्न सकिदैन । यहां हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के छ भने १८७२ मा हङकङलाई सदाको निम्ति भनेर अंग्रेजहरुले सन्धि गरेर लिएका थिए । तर, त्यो भू-भाग १५५ वर्षपछि अंग्रेज नतमस्तक भएर चीनलाई फिर्ता गर्न बाध्य भएको थियो । चारसय वर्ष अगाडि कब्जा गरेको मकाउ १९९९ डिसेम्बर २०मा फिर्ता भएको थियो र सुगौली सन्धिमा गुमेको महाकालीदेखि राप्तीसम्मको (बांके, बर्दिया, कैलाली र कञ्चनपुर) भू-भाग ४५ वर्षपछि फिर्ता हुन सक्यो भने १९३ वर्ष पहिला सोही सुगौली सन्धिमा गुमेको बांकी भू-भाग फिर्ता नहुने भन्ने त प्रश्न नै छैन र त्यो भू-भाग फिर्ता लिनु भनेको असम्भव र गाह्रो कुरा पनि होइन । नेपालको ऐतिहासिक तथ्यलाई मनन गरेर राष्ट्रियता र राष्ट्रप्रेम फिंजाउने र नेपालीहरुको सुतेको आत्मबललाई जगाउने राजनेता कोही निस्कन नसकेका कारण र दलगत स्वार्थभन्दा माथि उठ्न नसकी “म्युजिकल चेयर” खेल्ने नेतृत्व पंक्तिहरुको व्यवहारले गर्दामात्र यो कार्य असम्भव भएको हो । तरपनि समय यत्तिकै स्थिर रहंदैन । समय गतिशील र चलायमान छ, यस धर्तीमा असम्भव भन्ने कुनै वस्तु छैन । नेपाली धर्तीमा राष्ट्रियताको लडाई महान नेपाली जनताले लड्दै आइरहेका छन् । उनै नेपाली जनताले नै नेपाल आमाको छातीलाई विशाल बनाएर नेपाललाई राष्ट्रिय एकताको मुलधारमा डोर्याउने छन् । नेपाल र नेपाली राष्ट्रको अखण्डताको कुरा गर्दा सुगौली सन्धिमा गुमाउनु परेको नेपालको त कुरै छाडौं हाल आएर विभिन्न स्थानहरुमा भारतीय सीमा सुरक्षाबलद्वारा ज्यादती गरी अतिक्रमण गरेको भू-भागको फिर्ता गरी ज्यादती रोक्ने कार्यमा समेत सम्पूर्ण राजनीतिक दलका नेताहरु असफल भएको भन्ने कुरा टनकपुर र महाकाली सन्धिले प्रमाणीत गरिसकेको छ । अब हामी नेपाली जनता चुप लागेर बसी नेपालको राष्ट्रियता अखण्डता, एकता र स्वतन्त्रताको रक्षाको जिम्मेवारी राजनीतिक दलका नेताहरुलाई मात्र छाडिदिने हो भने वांकी देशलाई नै गुमाउन सक्ने खतरा हाम्रो सामू छ । तसर्थ यो देशको रक्षाको जिम्मा अब हामीले आफ्नो कांधमा लिनुपर्छ । किनकि हामी गोर्खाली भनि विश्वमा चिनिएका वीर पुर्खाका सन्तती हौं । त्यस्तै नालापानी र सतलजको किल्लामा हातहतियार तथा गोलाबारुदले सु-सज्जित अंग्रेजको फौजसंग खुकुरीको भरमा लड्ने पुर्खाका सन्तान हौं । हामीले आफ्नो पुर्खाले कमाएको विरतालाई सगरमाथाको शिखरजस्तै विश्वमा नै उच्च बनाउनुपर्छ ।
१९३ वर्ष पहिला सुगौली सन्धि गरी अन्यायपूर्ण तरिकाबाट खोसिएको आफ्नो भूमि फिर्ता लिनको लागि आफ्नो आत्मबल जगाउन र जाग नेपालीहरु हो कति सुतिरहेका छौ भनि नेपाल आमाले पुकारा गरिरहेकी छन् । यो चुनौतीलाई सहर्ष स्वीकार गरी अब हामी शारीरिक, मानसिक, राजनैतिक, वैचारिक र सांस्कृतिक रुपमा नै विशाल नेपाल निर्माणको कार्यमा अग्रसर हुन अति आवश्यक छ ।
No comments:
Post a Comment