Saturday, March 12, 2011

ओली-नेपाल : रायमाझीका नयाँ अवतार

-केदार गौतम 

सैद्धान्तिक-वैचारिक र राजनीतिक मूल्य-मान्यताबाट विचलित हुनुको सीमा नाघेपछि मान्छे कस्तो हुँदोरहेछ भन्ने कुराको पछिल्लो उदाहरण बनेका छन्- एमाले नेता केपी ओली । डा. केशरजंग रायमाझीको प्रतिक्रियावादमा पतन नेपाल कम्युनिस्ट पार्टीको उपल्लो तहसम्म घुसेको प्रतिक्रियावादी एजेन्टको नांगो उद्घाटनको पहिलो उदाहरण थियो । त्यसयता सीपी मैनालीको नांगो रूपमा भएको प्रतिक्रियावादमा पतन कम्युनिस्ट पार्टीको उपल्लो नेतृत्वमा पुगिसकेका व्यक्तिमा आएको स्खलनको अर्को भद्दा र कुरूप नमूना थियो ।
यसबीच मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, माधव नेपाल आदिले प्रदर्शन गरिरहेको कम्युनिस्ट आन्दोलन र जनपक्षीय प्रयत्नहरूका विरुद्ध प्रतिक्रियावाद र विस्तारवादलाई सघाउने हर्कतहरूको प्रसंग र स्वरूप अलि फरक देखिन्छ । सारतः डा. रायमाझीकै 'पथ' को निरन्तरता भए तापनि तिनका हर्कतको स्वरूप फरक रहृयो । नांगो रूपमा नेपाली प्रतिक्रियावाद, सामन्तवाद, भारतीय विस्तारवाद र यथास्थितिवादको भरिया बन्दै केपी ओलीले अहिले गरिरहेका हर्कतहरूलाई पनि डा. रायमाझीहरूकै 'पथ' को श्रृङ्खलामा पछिल्लो कडी मान्नु पर्दछ ।
केही वर्ष कम्युनिस्ट आन्दोलनमा 'क्यान्सर' का रूपमा रहे पनि छोटै अवधिमा खुलस्त रूपले प्रतिक्रियावादमा पतन भएकाले डा. रायमाझीहरूले कम्युनिस्ट आन्दोलनमा धेरै लामो अवधिसम्म भ्रम छर्न र क्षति पुर्‍याउन पाएनन् । शायद रायमाझीहरूबाटै पाठ सिकेर हुनुपर्छ- सीपी मैनाली, रोहित र माधव नेपालहरूले काम रायमाझीकै गरे तापनि विधि चाहिँ फरक अपनाए । अर्थात्, उनीहरू रायमाझीले जसरी कम्युनिस्ट आन्दोलनबाटै अलग्गिएर घोषित रूपमा प्रतिक्रियावादी कार्यकर्तामा रूपान्तरित भएनन्, बरु पार्टीलाई सदैव आˆनो कब्जामा राखेर वा फुटाएरै किन नहोस् आफूलाई 'कम्युनिस्ट' भनाउन छाडेनन् । अथवा, यिनले 'रायमाझीपथ' कार्यान्वयन गर्ने नयाँ र फरक बाटो रोजे ।
नाम, झन्डा र साइनबोर्ड कम्युनिस्टको दुरूपयोग गर्नु तर नीति, सिद्धान्त र व्यवहारमा चाहिँ घोषित रूपमा दक्षिणपन्थी पार्टी र समूहहरूलाई समेत उछिन्नु रायमाझीका नयाँ अवतारहरूको विशेषता रहिआएको छ । नयाँ दिल्लीमा बुनिएका षडयन्त्रका तानाबानाहरूलाई काठमाडौंबाट कार्यान्वयन गर्नु नै रायमाझीका पछिल्ला उत्तराधिकारीहरूको 'राजनीति' बन्दै आएको छ । ०७ साल, १५ साल, ३६ साल, ४६ साल र ६३ सालमा जनताले उत्कर्षमा पुर्‍याएका परिवर्तनकारी आन्दोलनहरूलाई तुहाएर घुमाइफिराइ यथास्थितिवाद कायम राख्ने काममा कांग्रेस त लाग्ने नै भयो, यस काममा रायमाझी र उनका उत्तराधिकारीहरूले राणा र कांग्रेसलाई समेत उछिने । मोहनविक्रम, सीपी मैनाली र रोहितहरूका मुखुन्डो उहिल्यै उदांगिसकेकाले तिनले यतिबेलासम्म पनि 'कम्युनिस्ट' नामधारी नाङ्लेपसल थाप्न त छाडेका छैनन् तैपनि जनतलाई धेरै भ्रमित पार्न र यथास्थितिवाद-विस्तारवादलाई उल्लेख्य ढंगले काँध थाप्न सकिरहेका छैनन् । करिव १५ वर्षसम्म यस कामको 'बिँडो थामेका' माधवकुमार नेपाल पनि अब पूर्णतः 'एक्स्पोज' भइसकेको तथ्यलाई संविधानसभाको निर्वाचनमा दुईदुई स्थानबाट हराइदिएर नेपाली जनताले प्रमाणित गरिसकेका छन् । माधव नेपालको राजनीतिक पतनपछि घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवादले वाम नामधारी समूहभित्रैबाट वामपन्थीविरोधी गतिविधिका लागि केपी ओलीलाई अगाडि सारेको छ । यद्यपि उनी पनि माधव नेपालकै समकक्षी हुन् र संविधानसभामा जनताले लज्जाजनक तवरबाट पराजित गरी उनलाई पनि इतिहासको कुँडाकर्कटमै थन्क्याउने फैसला गरिसकेका छन् ।
कि त नांगो रूपले भारतीय दलाल पुष्टि भइसकेका माधव नेपाललाई नै प्रधानमन्त्री कायम राख्नुपर्ने नत्र कुनै पनि हालतमा कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सोही हर्कतमा लागेका केपी ओली यतिबेला माओवादी-एमालेबीच बन्दै गइरहेको सहमतिपूर्ण वातावरण भत्काउन ज्यान छाडेर लागेका छन् । ६२ प्रतिशत वर्चश्व रहेको संविधानसभाभित्र मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी- माओवादी र एमालेबीच मात्र सहकार्य हुँदा पनि अत्यधिक बहुमतको स्थिर, सक्षम र प्रभावकारी सरकार मुलुकले पाउनेÙ आमचुनावबाटै सत्ता, शान्ति र संविधानको नेतृत्व गर्न जनताले दिएको स्पष्ट जनादेशको सम्मान हुने अनि वर्तमान राजनीतिक परिवर्तनको एजेन्डा जसले अघि सारेको हो उसैको नेतृत्वमा तिनको व्यवस्थापन र सम्बोधन हुने मात्र नभई वामपन्थीहरू र सापेक्ष प्रगतिशील एजेन्डा बोकेका मधेशवादी दलहरूका बीच सहमति हुनासाथ दुईतिहाई पुगेर कांग्रेसविनै सहज ढंगले नयाँ संविधान समेत बन्न सक्ने वर्तमान सन्दर्भमा केपी ओलीहरूको कांग्रेसप्रेमको अर्थ कम्युनिस्ट राजनीतिविरुद्ध दक्षिणपन्थको सेवाबाहेक अरु के हुन सक्छ ? वामपन्थी र मधेशवादी मोर्चाबन्दीले दुईतिहाइ पुग्छ भन्दैमा कांग्रेसलाई बेवास्ता गरेर अघि बढ्नुपर्छ भन्ने मत कसैको पनि छैन । जनताले निर्वाचन मार्फत वामपन्थीहरूको भन्दा एकचौथाई सानो हैसियत दिएको कांग्रेसका राजनीतिक एजेन्डा हावी हुने तर झन्डैझन्डै दुईतिहाई शक्तिका कम्युनिस्टहरू चाहिँ कांग्रेसी जुवामा नारिएका गोरु मात्र बनिरहनुपर्ने वर्तमान विडम्बना कायम राख्ने केपी ओलीहरूको हर्कत रायमाझीपथबाहेक अरु के हुन सक्छ ? वामपन्थीहरूलाई जनताले दिएको हैसियत र साइजको सोझो अर्थ हो- वामपन्थीहरूले शासन गर, नयाँ संविधानमा वामपन्थी एजेन्डा पास गर, जनताले निर्वाचनमार्फत दिएको साइज अनुसार प्रतिपक्षीको हैसियत प्रदान गर्दै जनअभिमतका विपरीत नहुनेगरी कांग्रेसले अघि सार्न सक्ने धेरथोर प्रगतिशील धारणालाई पनि नयाँ संविधानमा ठाउँ दिँदै सहमतिपूर्वक संविधान लेख्ने प्रयास गर, यदि कांग्रेस अग्रगामी र परिवर्तनशील संविधानका पक्षमा रौंसम्म पनि उभिन चाहँदैन भने उसलाई सोझै बाइपास गरेर वामपन्थी र मधेशवादीहरूको दुईतिहाइले नयाँ संविधान पास गर- कांग्रेसलाई इतिहासको रछयानमा मिल्काइदेऊ । यही हो संविधानसभा निर्वाचनको फैसला । इतिहासको यस्तो निर्मम र अकाटय फैसलाका विरुद्ध सधैंभरि कांग्रेसले नारेको गोरु बनिरहने केपी ओली-माधव नेपालहरूका हर्कत अब नेपाली जनतालाई सहृय हुन सक्दैन । लगभग दुईतिहाई मतका बाहक कम्युनिस्टहरूलाई समेत कांग्रेसी एजेन्डामै घिसारेर १७ साले चेतना र परिवेशको संविधान बने बन्न दिइने नत्र मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने ओली-नेपाल गुटको हर्कतलाई केशरजंग रायमाझीको नयाँ अवतार नभनेर के भन्ने ?
दरबार, पञ्च, कांग्रेस र भारतीय विस्तारवादसँग घाँटी जोडेर सामन्तवादको रक्षकवच बन्दै संविधानसभा र नेपाली समाज एवं राजनीतिमा अग्रगामी रूपान्तरणको मागका साथ जनयुद्ध लडिरहेका क्रान्तिकारीहरूको टाउकाको मोल तोक्न लाज नमान्ने ओली-नेपाल गुट यतिबेला माओवादी-एमाले समिकरणका आधारमा आˆनै अध्यक्षको नेतृत्वमा सरकार बन्दा चाहिँ लाजले पानीपानी भएको छ, शरमले शिर निहुरिएको छ । जनअभिमतको सम्मान गर्दै शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन सक्ने हैसियत बोकेको वर्तमान सरकारलाई कसरी अप्ठयारोमा पार्ने, हातखुट्टा बाँध्ने र सकेसम्म छिट्टै गिराउने भन्ने चिन्ताले ओली-नेपाल गुट दिनमा भोक न रातमा निदको अवस्थामा पुगेको छ । हालै बन्दै गएको माओवादी-एमाले समझदारीको वातावरण कतै दीर्घकालीन मोर्चाबन्दीमै पो विकसित हुन पुग्ने हो कि ! अथवा, बिस्तारै नेपालमा कम्युनिस्टसत्ता नै संस्थागत हुने पो हो कि ! आदिजस्ता चिन्ताले पो ओली-नेपाल गुट भयाक्रान्त छ । ओली-नेपाल गुटको रायमाझीपथमा पतनले पराकाष्ठा नाघ्न अब के चाहिँ बाँकी छ त ?

No comments:

Post a Comment