Saturday, July 16, 2011

बजेटबारे सभासद्हरु के भन्छन् ?, बजेटमाथि छलफल जारी


काठमाडौ, अषाढ ३२ / व्यवस्थापिका–संसद्को शनिबार बसेको बैठकमा आर्थिक वर्ष २०६८/०६९ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल  जारी छ ।
बैठकको प्रारम्भमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८/०६९ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए  ।शनिबार बिहानबाट सुरु भएको बजेटमाथिको छलफलको सुरुमा सभामुख सुवास नेम्बाङले दलीय आधारमा बोल्नका लागि सात घन्टाको समय निर्धारण गरिएको बताए  ।
छलफलको प्रारम्भमा माओवादीका देव गुरुङले बजेट सकारात्मक रहेको बताउँदै मुलुकको सङ्क्रमणकालीन अर्थतन्त्रलाई सुधार गर्न बजेट सहयोगी हुने धारणा व्यक्त गरे । बजेटले प्राथमिकता नतोकेको, शान्ति प्रक्रियाको जिम्मेवारी पूरा गर्न द्वन्द्वपीडितलाई दिनुपर्ने राहतका बारेमा उल्लेख नभएको, महँगी नियन्त्रण गर्ने कुनै योजना नरहेको, राजस्व अनुमानको लक्ष्य पूरा हुन नसक्ने देखिएको नेता गुरुङको भनाइ थियो ।
 नेता गुरुङले बजेटले वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्ने, दुर्गम क्षेत्रमा विनियोजन गरिएको बजेट कार्यान्वयन हुनुपर्ने, योजनाहरूको प्रभावकारी अनुगमन र मूल्याङ्कन हुनुपर्ने, विगतमा भएका जलविद्युत् परियोजनाको सम्झौताको परिमार्जन गर्नुपर्ने, मुलुक सङ्घीयतामा जान लागेको सन्दर्भमा नयाँ ४१ वटा नगरपालिका घोषणा गर्ने कुरा विचारणीय रहेको र शिक्षा, स्वास्थ्यजस्ता सेवामुखी क्षेत्रमा राज्यले दायित्व लिनुपर्नेमा जोड दिए ।    
यस्तै काँग्रेसका नेता रामशरण महतले सबै पक्षको सहमति लिएर राष्ट्रिय सहमतिको दस्तावेज तयार गर्छु भन्ने प्रतिबद्धता गरिए पनि बजेट आउँदा त्यसको कुनै पनि सङ्केत देखिएन, त्यसमा कुनै सिद्धान्त र व्यवसायिकता नभएको बताए । उनले बजेट राजनीतिक भाषणमुखीबाट मुक्त हुन नसकेको उल्लेख गरे ।
राजस्व घटेको तर, बजेटको आकार ठूलो भएकाले आन्तरिक ऋणमा भर पर्नुपर्ने अवस्था आएको बताउँदै विदेशी ऋण आउने अवस्था नरहेको चर्चा गर्दै महतले ठूलो आकारका घाटा बजेटले मूल्य वृद्धि गर्ने जनाए । उनले मध्यपहाडी, हुलाकी मार्ग र तराई जोड्ने द्रुतमार्ग बाहेक अन्य आयोजना गफमात्र भएको बताउँदै एक दर्जन जति जलाशययुक्त योजना अध्ययन गरिने भनिएपनि पर्याप्त बजेट नछुट्याइएकाले कसलाई झुक्याउन खोजिएको हो भन्ने प्रश्न गरे ।
एमालेका नेता रवीन्द्र अधिकारीले सङ्क्रमणकालमा समयमै बजेट आएर छलफल हुनु नै ठूलो कुरा हो, सबै क्षेत्रमा भय र अविश्वास सिर्जना हुन सक्ने भएकाले जतिसक्दो छिटो राजनीतिक स्थिरता बनाएर आर्थिक विकासको लागि पहल गर्नु पर्नेमा जोड दिए । बजेटले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गरेको, सामाजिक न्याय र सहकारीलाई जोड दिएको, ग्रामीण क्षेत्रको आय वृद्धिका लागि पुँजी निर्माणमा जोड दिएको र पिछडिएका वर्ग, जातिको उत्थानका लागि ध्यान दिएको अधिकारीको भनाइ थियो ।
यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका  तिलक रावलले अनुत्पादक क्षेत्रमा वितरणमुखी बजेट आउँदा आर्थिक अस्थिरता र मुद्रास्फीति बढ्ने धारणा राख्दै बजेटको कार्यान्वयन हुन नसक्ने दावी गरे  । उनले विदेशी ऋण लक्ष्यअनुरूप आउन नसक्ने र अनुमानअनुसार राजस्व उठ्न नसक्ने बताउँदै विदेशीलाई लगानी गर्ने वातावरण तयार गर्ने प्रयाश बजेटले नगरेको बताए ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका आत्मरामप्रसाद शाहले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका छ बुँदे मागलाई बजेटमा नसमेटिएकोमा गुनासो गरे ।
उनले बजेटले सन्तुलित विकासमा जोड नदिएको, मधेसलाई विभेद गरिएको र मधेसका सहिदको नाममा विद्यालयको नामकरण नगरिएकोमा असन्तुष्टि व्यक्त गरे ।
मधेसी जनअधिकार फोरम नेपालका जयराम यादवले बजेटले शान्ति र संविधानलाई केन्द्रित गरेको, तराईका प्रथम सहिद रमेशकुमार महतोको नाममा प्रतिष्ठान स्थापना भएको र तराईका पर्यटकीय क्षेत्रहरुलाई संरक्षण गर्ने प्रतिबद्धता आएकोले बजेट सकारात्मक छ भने ।
तराई मधेस लोकतान्त्रिक पार्टीका ब्रजेशकुमार गुप्ताले तीन खम्बे आर्थिक नीति लिने भने पनि बढी भूमिका भएको निजी क्षेत्रलाई कम र कम आर्थिक योगदान रहेको सहकारीलाई बढी प्राथमिकता दिएको, बजेट कार्यान्वयनको पक्ष फितलो मात्र हैन हावादारी भएको र राजस्व अनुमानअनुसार उठ्न नसक्ने दाबी गरे ।
तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अरविन्द शाहले बजेट कार्यान्वयन नहुने र फ्रिज हुने प्रवृत्ति बढेकाले यसलाई कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्नुपर्ने, मधेसी मोर्चाले उठाएका माग कार्यान्वयन गर्नुपर्ने र मधेसका जनतालाई विभेद नगरी राहत दिनुपर्ने माग गरे ।
सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले मधेस मात्र हैन पहाड, हिमाल सबै क्षेत्रको सन्तुलित विकास हुनुपर्छ भन्ने हाम्रो चाहना हो भन्दै वीरगन्ज चिनी कारखानालाई सहकारीको माध्यमबाट स्थापना गरी सञ्चालन गरेमा त्यहाँका किसानले राहत पाउने सुझाव दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिभा राणाले मूल्यवृद्धि गरेर जनतालाई मार पार्ने काम बजेटले गरेको, राजस्व घट्दै गएको अवस्थामा सरकारले खर्च बढाएर जनतालाई आर्थिक भार थपिएको र बजेटमा विनियोजित रकमहरु पारदर्शी हुनुपर्ने धारणा राखे ।
नेकपा (माले)का सीपी मैनालीले बजेट जनमुखी चरित्रको छ, राम्रो उपलब्धि नै हो तर नीति तथा कार्यक्रमबाट उठाउँदै आएको सामाजिक, आर्थिक पक्षमा जोड दिनुपर्नेमा बजेटले ध्यान दिन नसकेको भन्दै प्राकृतिक स्रोत साधनको उपयोग र चुरे क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।
नेकपा संयुक्तका चन्द्रदेव जोशीले आर्थिक आधारशीलाको लागि सहकारी उपयुक्त माध्यम भएको, बजेटको ठूलो आकार बनाएर मात्र हुँदैन खर्च गर्ने क्षमता पनि हुनुपर्छ भन्दै निजी र सहकारीलाई एक अर्काका परिपूरक बनाउन सके आर्थिक विकासको आधार निर्माण हुन्छ भने ।
राष्ट्रिय जनमोर्चाका रश्मिराज नेपालीले देशभित्रै नै कृषि मल, औजारको उत्पादन हुनुपर्ने, औद्योगिकीकरणका लागि दीर्घकालीन नीति तयार हुनुपर्नेमा यी कुराहरु बजेटमा उल्लेख नगरिएकोमा गुनासो गरे ।
राष्ट्रिय जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनीले बजेटमा प्रसारमुखी र धेरै हावादारी कुरा गरिएको, अन्तर्राष्ट्रिय प्रतिष्ठाको लुम्बिनीको गुरु योजनाका लागि न्यून रकम विनियोजन गरिएको धारणा राख्दै शान्ति मन्त्रालयमा नौ अर्ब रकम किन छुट्याइयो, त्यसको जवाफ दिनुपर्ने बताए ।
राष्ट्रिय जनमुक्ति पार्टीका मालवरसिंह थापाले कृषिलाई वैज्ञानिकीकरण गर्ने बजेटमा कुनै योजना नरहेको भन्दै गुनासो गरे ।
नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले बजेट प्रचारमुखी, लक्ष्यहीन र झुटहरुको पुलिन्दा भएको टिप्पणी गर्दै बहुराष्ट्रिय कम्पनीलाई आमन्त्रण गरेर सरकारले राष्ट्रिय पुँजीलाई निरुत्साह गरेको, क्रान्तिकारी भूमिसुधारमा जोड नदिएको बताए ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नन्दनकुमार गुप्ताले सन्तुलित विकासका लागि बजेटमा प्रयास नभएको, बजेटको आकार धेरै बढे पनि मधेसको विकासको लागि रकम नबढाइएको र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागलाई ध्यान नदिएको तथा बजेट वितरणमुखी हो, उत्पादनमुखी होइन भने ।
दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले सरकारले ल्याएको बजेट जसरी नाटकीय ढङ्गबाट प्रस्तुत भयो त्यो नेपालको इतिहासमा दुर्भाग्यपूर्ण भएको भन्दै दलित, आदिवासी, जनजाति, महिलालगायतका पिछडिएका जनताको निम् बजेट उपयोगी छैन बरू बजेट कर छल्ने, कार्यकर्ता र धनी वर्गको पक्षमा छ भने ।
सभासद् रुक्मिणी चौधरी थारुले बजेट प्रस्तुत हुनुपूर्व नै बजेटको कपी इन्टरनेटमा वितरण हुनु अनुशासनको उल्लङ्घन हो भन्दै विधवा भएकै दिनबाट भत्ता दिनु सकारात्मक हो तर कमैयालाई रोजगार, पुनर्वासको कार्यक्रम नहुनु दुःखद कुरा हो भनिन् ।
नेवाः पार्टीका बुद्धरत्न मानन्धरले सार्वजनिक सेवामा समावेशी आयोग राख्नुपर्ने माग राख्दै आएकोमा त्यसको सुनुवाइ नभएको गुनासो गरे ।
सभासद् प्रेमबहादुर सिंहले साधन स्रोतको सीमितताका आधारमा हाम्रो प्राथमिकता हेरेर नागरिकले बुझ्ने गरेर राष्ट्रिय सङ्कल्पका साथ गन्तव्यमा पुग्ने स्पष्ट सोचाइका साथ बजेट आउनुपर्नेमा त्यसो हुनसकेन भने ।
सभासद् लक्ष्मीलाल चौधरीले बजेट सन्तुलित विकासको हिसाबले आएपनि यसको कार्यान्वयन फितलो भए लक्ष्य हासिल गर्न सकिँदैन भने ।
चुरे भावर पार्टीका केशवप्रसाद मैनाली गोपनीयता कायम हुन नसकेर, संसदीय मर्यादाको उल्लङ्घन गरेर आएको बजेट वितरणमुखी छ, स्थानीय निकायको निर्वाचन बिर्सेको छ भने मूल्यवृद्धिबारे चासो देखाउन सकेको छैन भने ।
स्वतन्त्र सभासद् बबन सिंहले बजेट समयमै आउनु राम्रो कुरा हो भन्दै भ्रष्टाचार नियन्त्रण गर्न, तस्करी नियन्त्रण गरेर बजेटले सन्तुलित विकासका लागि ध्यान दिनुपर्छ भने ।

No comments:

Post a Comment