Tuesday, July 13, 2010

धिरेन अब खलनायक नबन्ने


अभिनेता धीरेन शाक्यले अब नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय नगर्ने घोषणा गरेका छन् ।
२०४८ सालबाट अभिनेताको रुपमा चलचित्रयात्रा सुरु गरेका धिरेनले पछिल्लो समयका दुई चलचित्रमा आएको खलपात्रको भुमिका अस्विकार गरेका छन् । नायकको भुमिकामा भन्दा खलनायकको भुमिकामा बढी पारिश्रमिक दिने प्रस्ताव आएको भएपनि उनले सो प्रस्तावलाई ठाडै अस्विकार गरिदिए ।
"पैसा भन्दा ठूलो मेरो करियर हो त्यसैले मैले करियर बिग्रने डरले यस्तो प्रस्ताव अस्विकार गरेको हुँ" धिरेनले बताए । कलाकार भएपछि नकरात्मक र सकरात्मक दुवै भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यतामा भने धिरेन छैनन् । चलचित्र क्षेत्रमा एक दशक बिताएका धिरेनले थुप्रै नेपाली चलचित्रमा खलपात्रको रुपमा अभिनय नगरेका भने हैनन् ।
नायक धिरेन २०४९ सालतिर बनेको चलचित्र 'चट्याङ' मा खलपात्रको रुपमा अभिनय गरेर चर्चामा आएका हुन् । तर पनि अब उनी खलपात्रको रुपमा अभिनय गर्न तयार छैनन् । बिगत केही बर्ष नेपाली चलचित्र क्षेत्रबाट टाढिएर व्यापारमा लागेका धिरेनलाई अहिले केही निर्माता÷ निर्देशकहरुले नायकको रुपमा लिन थालेका छन् ।
धीरेनले पछिल्लो समयमा कर्ण शाक्यको 'पल' चिराजीवी बस्नेत निर्मित 'भुल्नै सकिनँ' शोभित बस्नेतको 'चिनो' 'कन्यादान' आरके थापाको 'दुइ मुटु एक धडकन' जस्ता चलचित्रमा नायकको रुपमा अभिनय गरेका छन् ।

गजल

- सुरेश ज्योतिपुन्ज
जन्मिएपछी यहाँ बुद्ध अर्को फेरि ।
डर सधैं हुने हो कि युद्ध अर्को फेरी ।
रगतैमा हात हजुर नचोप्ने को छ र
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरी ।

भजन गाउनुपर्न हो अझै क-कसको
एउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरी ।

कलमैको अब अन्तिम लडाईं साथी
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरी ।

नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरी ।
डर सधैँ हुने हो कि युद्ध अर्को फेरि ।

Thursday, July 8, 2010

करेन्टको झट्काबाट मैना सुनारको हत्या : बबी खत्रीले दिएका थिए ठाडो आदेश


रमेश विवश बाजारा/संगीन श्रेष्ठ
एउटी अवोध किशोरी, जसलाई न कुनै पार्टी थाहा थियो न कुनै राजनीति नै । हो उनै किशोरी अर्थात् काभ्रेको खरेल- थोककी मैना सुनारको हत्यामा संलग्न भएका कारण राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चामा आएका छन् नेपाली सेनाका मेजर निराजन बस्नेत । उनै बस्नेत हुन् घरमा बसिरहेकी १५ वर्षिया मैनालाई पक्रेर पाँचखालस्थित तालिम केन्द्रमा ल्याउने र आफ्ना हाकिम महासेनानी बबी खत्रीको आदेशमा मैनालाई बाल्टीको पानीमा चोपल्दै करेन्ट लगाउने । उनै वस्नेतलाई त्यसैगरी करेन्ट लगाइएको भए के हुन्थ्यो अनी तातोपानीमा चोपल्दै उनीमाथि यातना दिइएको भए के हुन्थ्यो तर उनले त्यो सोँच्न समेत सकेनन । आतङ्ककारी भएको भन्दै मैनामाथि यातनाका क्रम दोहोर् याइरहे । अन्ततः मैना सुनारले यो धर्ती छाडिन् । तर मैनाको आत्माले वस्नेतमात्रै होइन खत्री र उनका सहयोगीहरु सुनिल अधिकारी र अमित पुनलाई पछ्याइ- रहेको छ । न्यायको खोजी गर्दै ।
२०६० साल फागुनमा घटेको त्यो हत्याकाण्डले पटक पटक नेपाली साचार जगतमा चर्चा पाउने गरेको छ । र दिनदिनै अखबार र देलिभिजन च्यानल हरुमा छाएको छ यो घटना । वस्नेतलाई शान्ति सेनाबाट फर्काइएपछि उनी चर्चामा आएका हुन् । उनलाई नेपाल प्रहरीको जिम्मा लगाएर नागरिक अदालतमा उभ्याउन सारा संसारले माग गरिरहेको छ । तर नेपाली सेना यो मान्न तयार छैन । उ अझै वस्नेतलाई निर्दोष ठान्दै आइरहेको छ र भनिरहेको छ "उनको कुनै कसुर छैन ।" तर मैनाको परिवार मात्रै होइन सारा संसार यो मान्न तयार छैन ।
मैना सुनार हत्याकाण्डको नालिबेली जान्न चाहने हाम्रा असंख्य पाठकहरुको चाहनालाई ध्यानमा राखी मैना सुनार हत्याकाण्डको विस्तृत जानकारी तल उल्लेख गरेका छौँ ।
यसरी भयो मैना सुनारको हत्या
द्वन्द्व चर्किंदै थियो । मान्छे धमाधम मारिँदै थिए । नेकपा माओवादी र तत्कालिन शाही सेनाबीच जिल्लाका विभिन्न स्थानमा भिडन्त भइरहेका थिए । जिल्लाका दुर्गम भेगमा माओवादी र शहरी क्षेत्रमा शाही सेनाको चलखेल व्यापक थियो । निर्दोष जनताहरु आतङ्ककारीको नाममा मारिने क्रम पनि जारी थियो । सोही क्रममा २०६० माघ २९ गते पोखरीचौरीकी १७ वर्षिया रिना रसाइलीलाई राती घरबाटै पक्राउ गरी घर नजिकै विहानीपख सुरक्षाकर्मीले गोली हानी हत्या गरे । आफ्नी दाइकी छोरीको हत्या भएको सुनेर माइती पुगेकी खरेलथोक-५ की देवी सुनारले घटनाबारे मानवअधिकारवादी र पत्रकारलाई बताइन् र तत्कालिन शाही नेपाली सेनाको नजरमा परिन देवी सुनार । केही दिनपछि सेनाले खरेलथोक-५ कि विमला बिकलाई पक्राउ गरी उनैको सूचनाको आधारमा देवीको खोजीमा सेना लागेको थियो । स्रोतका अनुसार पाँचखालस्थित युद्ध कार्य शान्ति तालिम केन्द्रका कार्यवाहक प्रमुख महासेनानी बबी खत्रीलाई बिमलाले भनेकी थिइन् "देवी सुनार माओवादी हो । उसलाई घरबाटै समाउन सकिन्छ ।" हो यही खबरले १५ वर्षिय बालिका मैना सुनारको पाशविक तरिकाले हत्या भयो । र अहिले यो हत्या प्रकरणले सिङ्गो नेपाली सेना विवादको घेरावन्दीमा परेको छ । महासेनानी बबी खत्रीले आदेश दिए "त्यो देवी सुनारलाई जसरी भए पनि पक्रेर ल्याउनु ।" सोही आदेशलाई पालना गर्दै तत्कालिन सहसेनानी निराजन वस्नेतको नेतृत्वमा सेनाको कोभर्ट टोली ५ फागुन २०६० मा खरेलथोक हिँड्यो । केन्द्रबाट आठ किलोमिटर टाढा रहेको सुनारको घरमा उक्त टोलीले देवीलाई भेटेन । अनी उठायो कक्षा ९ मा पढ्दै गरेकी १५ वर्षिया मैना सुनारलाई । आँखामा पट्टी लगाएर हात बाँधेर मैनालाई केन्द्र ल्यायो उक्त टोलीले । मैनालाई जब तालिम केन्द्र ल्यायो अनि सुरु भयो यातना दिने कार्य ।
अन्तर्राष्ट्रिय कानूनको उलङ्घन मानवअधिकारको हनन र युद्धको नियमसमेत पालना नगरी माओवादी भएको भन्दै मैनामाथि यातना दिन सुरु भयो । सेनाले गठन गरेको "कोर्ट अफ इन्क्वाइरी" को प्रतिवेदनमा समेत "उनीमाथि चरम यातना दिएको" उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार महासेनानी खत्रीको नेतृत्वमा मैनालाई सुरुमा बाँधेर पिटियो । अनी बाल्टीमा पानी राखेर डुबाउँदै निकालिँदै गरियो । यतिमात्र यातना सहिनन् मैनाले । उनीमाथि पटक-पटक करेन्टका झट्काहरु लगाइए । एक घण्टाभन्दा बढी यातना दिइसकेपछि मैना बेहोस् भइन् र बिस्तारै मुखबाट फिँज काटेर त्यहीँ मृत्युवरण गरिन् ।
उता गाउँमा मैनालाई सेनाले लगेको खबर आगोसरी फैलिसकेको थियो । माइती गएकी देवी घर फर्केर आइन् । तीन दिनपछि तालिम केन्द्रमा गाउँको एक टोली पुग्यो । "हाम्री मैनालाई यहाँ ल्याइएको छ ।" टोलीको जिज्ञासामा महासनेनाी खत्री कड्किए "को मैना मैनाबारे हामीलाई केही पनि थाहा छैन । हामीले यहाँ ल्याएका छैनौँ ।" उनीहरुले मैनासँगै एक महिला यात्रुबस चढेर काठमाण्डौंतिर लागेको समेत बताएका थिए ।
न्यायको खोजी
आफ्नी छोरीलाई सेनाले बेपत्ता बनाएदेखि न्यायको खोजीमा भौँतारिइरहे आमा देवी र बाबु पूर्णबहादुर । तर अहिलेसम्म उनीहरुले न्याय पाएका छ्रैनन् । छोरीलाई न्याय दिलाउन धेरै जोर जुत्ता फटाइसकेका पूर्णबहादुरको सोही चिन्ताले केही समयअघि मृत्यु भइसकेको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । तर आमा देवी अहिले पनि छोरीको न्यायका लागि लागिरहेकी छिन् । उनको निरन्तरतामा कमी आएको छैन । हाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा काम गरिरहेकी देवी कामको सिलसिलामा डोटी पुगेकी छिन् । तर पनि उनको न्यायका लागि चलिरहेको कदम रोकिएको छैन । ९ बैशाख २०६१ मा काठमाण्डौंबाट प्रकाशित एक साप्ताहिकमा पाँचखालस्थित तालिम केन्द्रमा कार्यरत जवानहरुको नाममा पाठकपत्र छापिएको थियो जसमा मैनालाई ब्यारेकमा ल्याएर यातना दिइ मारिएको उल्लेख भएपछि सेनामाथि उनको अवस्था सार्वजनिक गर्न दवाव बढेको थियो र अन्ततः नेपाली सेना मैनालाई तालिम केन्द्रमा पुर् याएर मारिएको स्वीकार्न तयार भयो । तर सेनाले मैनाको शव कहाँ छ भन्नेसमेत जानकारी दिएन ।
हत्या भएको स्वीकार
सेनाले केही समयपछि मैना सुनारलाई ब्यारेकमा ल्याइएको र उनी भाग्न खोज्दा लडेर मृत्यु भएको समेत बताएको अधिकारकर्मी भोजराज तिम_िल्सनाले बताए । तर पछि १ चैत २०६१ मा सेनाको जङ्गी अड्डाले मैनाको हत्या गलत तरिकाले भएको स्वीकार्दै 'कोर्ट अफ इन्क्वायरी' गठन भइसकेको विज्ञप्ति प्रकाशित गरेपछि मैनाको परिवार उनको हत्या भइसकेको स्वीकार्न बाध्य भएको थियो । वैशाख २०६२ मा सेनाका तत्कालिन प्राड विभाग प्रमुख विएकुमार शर्माले सैनिक अदालत गठन भएको र मैना सुनारको हत्याका विषयमा अनुसन्धान भइसकेको बताए । सैनिक अदालतको 'बोर्ड अफ इन्क्वायरी' तत्कालिन उपरथी किरणशम्शेरजबराको अध्यक्षतामा गठन गरिएको थियो र २३ भदौ २०६२ मा फैसला गर् यो जुन पछि मात्र सार्वजनिक भएको थियो । हत्याको नियत नदेखिए पनि अनुसन्धान र मृत्युपछिको 'प्रकृति र प्रकि्रया' गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी बबी खत्री सहसेनानीद्वय सुनिल अधिकारी र अमित पुनलाई दोषी ठहर गरी ६ महिना कैद सजाय दिएको उल्लेख गर् यो । सैनिक अदालतले महासेनानी बबी खत्रीलाई २ वर्ष बढुवा रोक्का र ५० हजार जरिवाना तथा सहसेनानीहरु सुनिल अधिकारी र अमित पुनलाई १-१ वर्ष बढुवा रोक्का र २५ हजार रुपैयाँ जनही जरिवानाको फैसला समेत गरेको थियो । तर मैनाको परिवार सैनिक अदालतको फैसला स्वीकार्न तयार भएन । सुरुदेखि नै नागरिक अदालतबाट मैना हत्याकाण्डबारे कारवाही प्रकि्रया अगाडी बढाउन माग गर्दै मैनाकी आमा देवी सुनारले २७ कात्तिक २०६२ मा जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गरेकी थिइन् । मुद्दामा सैनिक अदालतको कारवाहीको सूचीमा नपरेका तात्कालिन सहसेनानी वस्नेतलाई पनि कारवाहीको माग गरिएको थियो । अनुसन्धानको क्रममा मैनाको शवलाई ९ चैत २०६३ मा पाँचखाल-६ स्थित बुट्यान नजिकैबाट उत्खनन् गरिएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा शवको उत्खनन् गरेको थियो ।

एमाले मकवानपुरमा विवाद दुई नेता निलम्बनमा


जनवाद संवाददाता
नेकपा (एमाले) जिल्ला कमिटी मकवानपुरले यसै साता मकवानपुर एमालेका दुई हस्ती श्रीधर पोखरेल एवम् बद्री लम्साललाई पार्टीबाट छ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।
एमालेभित्र विगत लामो समयदेखि देखिँदै आएको राजनैतिक खिचातानीले अन्ततः केन्द्रमा मात्र नभई जिल्ला-जिल्लामा पनि गुटबन्दी र कारवाहीको रुप लिएको छ । एमाले जिल्ला कमिटि मकवानपुरले केही महिना यता बद्री लम्साल र श्रीधर पोखरेललाई कारवाही गर्ने चेतावनी दिँदै आएको थियो । पार्टी जिल्ला सभापति रामेश्वर रानाको गुटले अन्ततः कारवाही गरेरै छाड्यो उनीहरुलाई । केन्द्रीय स्तरमा मात्र नभई हरेक जिल्ला-जिल्लामा एमालेभित्रका दुई खेमाविच सँधै टकराव हुने गरेको छ । एमाले फुटेर फेरी जुटेको पार्टी हो । जति फुट र गुटको विचमा देखावटी सहमति भए पनि एमालेभित्र जुङ्गाको लडाईं चलिरहन्छ । तर यो लडाईंले कार्यकर्ता चेपुवामा पर्ने गर्छन् । नेताहरु आफुमै बाझिने गर्दछन् यस्ता नेताबाट कार्यकर्ताले के आश गर्ने श्रीधर पोखरेल र बद्री लम्साललाई पार्टीले निश्कासन गरेपछि मकवापनुरका एमाले शुभचिन्तकहरु घरको न घाटको भएका छन् । हरेक विषयमा सहमती र सहकार्यको विचार प्रस्तुत गर्ने एमालेले किन यस विषयमा सहमती र सहकार्य गर्न जानेन संविधानसभा निेर्वाचनमा मकवानपुर जिल्ला क्षँेत्र नं। १ का उमेद्वार एवम् पार्टीका प्रभावशाली नेता बद्री लम्साललाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेको बारेमा जिज्ञासा राख्दा लम्साल भन्नुहुन्छ "खासै मैले पार्टी हित विपरित विधान विपरित केही गलत काम गरे जस्तो लाग्दैन तर पनि पाटीले कारवाही गर् यो भन्ने सुनेको छु । के हिसाबले कुन नियतले कारवाही गर् यो आफू स्वयम्लाई थाहा छैन ।" लम्साल भन्नुहुन्छ "यो पार्टीभित्रका केही खराब तत्त्वको चलखेल हो । यसले हामीलाई केही असर पर्दैन ।" "तपाईंले त एमालेभित्र रहेर माओवादीको काम गर्नुभयो रे कतै त्यही भएर कारवाही गरेका त हैनन्" भन्ने हाम्रो प्रश्नमा लम्साल भन्नुहुन्छ "राष्ट्रिय राजनीतिमा सहमती र सहकार्य गरेर जानुपर्दछ । वामपन्थी विचार भएकाहरुलाई सँगै लिएर जानुपर्दछ र जनतालाई विश्वासको वातावरण सिर्जना गर्नु पर्दछ भन्दा यदि माओवादीलाई सहयोग गर् यो भनेर कारवाही गर्दछन् भने यसको सुनुवाई जनता स्वयम्ले गर्दछन् ।"
अहिले एमालेभित्रका केही तत्त्वहरु बुटवल महाधिवेसनले पारित गरेको विधान विपरित चलिरहेका छन् । यसकै एउटा अंश हो हामी यो कारवाहीको विषयलाई आन्तरिक विषयको रुपमा छलफल गरी केन्द्रीय अनुशासन विभाग जाने बताउनु हुने लम्सालको एकिकृत नेकपा माओवादी प्रवेश गर्ने मनशाय नरहेको बताउनु भयो । के एमालेले यो कारवाही फिर्ता लिन्छ त यदी कारवाही फिर्ता नलिए के गर्दछन् बदि्र लम्साल एमालेभित्र बद्री लम्सालको हैसियत के हो आम जनताको चासोको विषय बनेको छ यतिबेला । एमाले जिल्ला कमिटिले बदि्र लम्साललाई मात्र नभई मकवानपुर एमालेका बामपन्थी धरोहर एवम् पार्टीका प्रभावशाली नेता श्रीधर पोखरेल माथि पनि छ महिने निलम्बनको बिल्ला भिराइदियो । यसै सेरोफेरोमा रहेर श्रीधर पोखरेलल जनवाद साप्ताहिकलाई संक्षिप्त प्रतिकि्रया दिँदै भन्नुभयो "अलग विचारबाट एकलौटी पार्टी चलाउन खोज्ने तत्त्वहरुले यो कारवाही गरेका हुन् । यसले हामीलाई कुनै असर गर्देन । यस विषयमा हामीले पार्टीमा कुरा राख्नेछौँ । यो एउटा निश्चित घेरामा पार्टीलाई साचालन गर्ने एवम् आफ्नो स्वार्थपूर्ति गर्न खोज्नेहरुको अभियान हो । यो अभियानले सिङ्गो पार्टीलाई नै बदनाम गराउने छ । हामी सामूहिक रुपमा यि तत्त्वहरुलाई पाखा लगाउने छौँ ।"
निश्कासनलाई अनौठो नमान्ने पोखरेल भन्नुहुन्छ "कारवाहीका विल्ला भिराउनेहरु जुन नियतवसले आएका थिए त्यही गरे । पदको दुरुपयोग गरेका हुन् । अहम्ताको खोल ओढेर पदको दुरुपयोग गर्नेलाई कार्यकर्ताले बाँकी राख्दैन । पार्टीको नीति बाहिर बसी विधान विपरित काम गरी पार्टीलाई निश्चित स्वार्थमा चलाउनेहरुको खेल हो ।" माओवादी प्रवेश सम्बन्धि जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ "हामीले माओवादीलाई सहयोग गर्न खोजेका पनि होइनौँ र एमालेलाई पाखा लगाउन खोजेका पनि होइनौँ । हामीले एमालेलाई कम्युनिष्ट पार्टी बनाउन खोजेका थियौँ तर एमाले कम्युनिष्ट भएको हेर्न नचाहनेहरुले हामीलाई माओवादी प्रवेश गर्दै छ भन्ने हल्ला चलाए । हामीले पटक-पटक भनेका छौँ मुलुकको सम्पूर्ण कार्यदिशा बामपन्थीहरुले मात्र हेर्न सक्छ भनेर सबै वाम पार्टीलाई एकैसाथ लैजाऔँ भन्दा हामीलाई माओवादी भयो भन्छन् भने हाम्रो कुनै आपत्ती छैन । हामी वामपन्थिको कार्यगत एकता चाहन्छौँ । वामपन्थीको एकताको कुरा चलाउँदा कारवाही गरिन्छ भने त हामीले भन्नु त केही छैन ।" वहाँले भन्नुभयो "हामी कार्यकर्ताको विचमा जान्छौँ हाम्रा भनाइहरु राख्छौँ त्यसपछि कार्यकर्ताले नै भन्ने छन् यो कारवाही कत्तिको जाहेज या नाजाहेज ।
"एमाओवादी पार्टी प्रवेश गर्दै हुनुहुन्छ नी" भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ "हामी एमाले छाडेर माओवादीमा गइदियोस् भनेर पार्टीभित्रका केही साथीहरुले जुन सपना देख्नु भएको छ त्यो सपनामा मात्र सिमित छ ।" उहाँले पार्टी प्रवेशलाई बिरालोको उखानमा यसरी प्रस्तुत गर्नुभयो, "बिरालोले यो घरका सबै मान्छे मरे भने म अगेनाको तातोमा बस्ने थिएँ । सबै मरेपछि अगेना कसले तताईदिन्छ थाहा हुँदैन नि । एमालेका साथीहरुलाई पनि यही भएको हो ।" यो कारवाहीलाई छलफल गरेर निश्कर्षमा पुग्ने बताउनु हुने पोखरेलले एमालेभित्रका केही साथीहरुले एमालेलाई पेवा बनाउन खोजेको आरोप लगाउनु भयो ।

सम्पादकिय

निकास कहिले त ?
नेपाली राजनीतिमा पटक-पटक सङ्कट आइपरिरहन्छ । ठूला भनाउँदा राजनीतिक दल र तिनका शीर्ष नेताहरु नेपाली जनतालाई भेंडाबाख्रा सम्झी चराउने कार्य जारी राख्छन् । के नेपाली जनता साँच्चै ति नेताहरुले सोँचे जस्तै हुन् त होइन भने पटक-पटक नेपाली जनतालाई गुमराहमा राख्ने र आफ्नो स्वार्थ अनुकुल परिचालित गर्ने गरिन्छ । नेपाली जनताको अदम्य साहस एवम् रक्तपातपूर्ण संघर्षबाट आएको संविधान निर्माण प्रकि्रयालाई किन ओझेल पारिन खोजिँदै छ समय सिमाभित्र संविधान निर्माण गर्न नसक्ने यि हुत्तिहाराहरुले संसद भवनबाट संविधान निर्माण विधेयकलाई पास गरेका हुन् । नेपाली जनतालाई संविधान के साँढेको फल मात्र हो त होइन भने ख्वै नयाँ संविधान कहिले बन्छ नयाँ संविधान के साँच्चै २०४७ को संविधानलाई नै पुनरागमन गराउने षड्यन्त्र गरिराखेका त छैनन् २०६७ जेष्ठ १४ मा संविधान जनताको माझ पुग्नुपर्ने थियो । तर ठूला दलका नेताहरुको सहमतीमा एक वर्षको समयावधी थप गरी राज्यको ढुकुटीबाट भत्ता पचाउन गरिएको यो खेलले पनि सभासदको एक महिनाको भत्ता वितरण गरिसकेको छ । तर संविधानको 'स' भन्ने अक्षरले अझै स्थान पाएन । राजनीतिक दलका नेताहरु कुसर्ी मोहमा भौँतारिरहे तर समस्याको समाधान हुन सकेन । नेपाली जनताले सभासदलाई भत्ता पचाउन र कुसर्ी मोहमा दौडिन िसंहदरबार छिराएका होइनन् । आम नागरिकलाई सुहाउँदो संविधान निर्माण गर्न पठाएका हुन् । तर के निकास उही सरकार र कुसर्ी मात्र हो होइन भने कहिले बन्छ संविधान नेपालमा विधिको शासन कहिलेबाट हुन्छ एक पक्ष सरकार छाड्न गोहीले आँशु बगाए झैँ गर्दछ । अर्को पक्ष सरकार नपाए काम गर्न नदिने धमास छाड्छ । के यि दुई ढुङ्गाविचको तरुलमै सिमित रहेर बाँच्नु नै आम नेपाली जनताको भाग्य हो । नेताहरुलाई भत्ता नै प्यारो हो भने अब बाँकी एघार महिनाको भत्ता लिई आफ्नो दुनो सोझ्याउने तिर लागे बेस हुन्थ्यो की !

कम्युनिष्टहरुका दुईथरी कार्यदिशा


इन्द्र ब. परियार 'नयन'
हामी कम्युनिष्ट हुनुको नाताले सामान्य सुधारको लक्ष्य मात्र लिएका हुँदैनौ । िसिङ्गो राष्ट्र र विश्वलाई नै हराभरा बनाउने आमूल परिवर्तनको लक्ष्य लिएका हुन्छौँ । त्यो लक्ष्यसम्म पुग्नलाई थुप्रै खुड्किलाहरु चढ्नुपर्ने हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनले २००६ सालदेखि आमूल परिवर्तनको लक्ष्यसम्म पुग्न आफ्नो यात्रा आरम्भ गर् यो । जसले १०४ वर्षे जहानियाँ राणाशासनको पहिलो खुड्किला ३० वर्षे निरंकुश पाचायती व्यवस्थाको दोस्रो खुड्किलो र १२/१५ वर्षे बहुदलिय व्यवस्थाको तेस्रो खुड्किलो पार गर्दे लोकतान्त्रिक गणतन्त्रको चौँथो खुड्किलोसम्म आइपुगेको छ । यहाँसम्म आइपुग्दा राणा शासक पाचायती शासक र बहुदलिय शासकवर्गसँग लड्दै र पराजित गर्दै आउँदा आमूल परिवर्तन तथा रणनैतिक लक्ष्यतिर अगाडी बढ्नुको सट्टा नेपालका कम्युनिष्ट घटकहरु अग्रगामी नभई यथास्थितिवादी तथा पश्चगामी बन्न पुगेका छन् र अधिकांश कम्युनिष्ट पार्टीहरुमध्ये कोही विदेशी दलाल कोही दरबारिया कम्युनिष्ट र कोही कम्युनिष्ट भुरे टाकुरे बनेका छन् । ति पार्टीहरु एमाले एमबी मशाल नेमकिपा माले लगायतका हुन् । यिनीहरुले तेस्रो खुड्किलोसम्म आउँदा रणनैतिक लक्ष्य नयाँ जनवादी क्रान्ती समाजवादी क्रान्ती र साम्यवादी क्रान्तीको लक्ष्यलाई आफ्नो पोल्टाबाट झिकेर साम्राज्यवादी मालिक विस्तारवादी मालिक र सामन्तवादी मालिकलाई भेटी चढाइसकेका छन् जसको कारण नेपालमा नयाँ जनवादी क्रान्तीको लक्ष्य अधुरै रहन गयो ।
तैपनि "जहाँ इच्छा त्यहाँ उपाय" भनेझैँ माओवादी पार्टीले जनवादी क्रान्तीको अभिष्टलाई पूरा गर्नको लागि दश वर्षे जनयुद्ध समेत गर् यो जसको बलमा जनआन्दोलन पनि भयो र तेस्रो खुड्किलो अर्थात् बहुदलिय व्यवस्था भत्कायो र चौँथोमा प्रवेश गर् यो । तर विडम्बना संसदिय कम्युनिष्टहरु पछाडी परिसकेको र भत्किसकेको बहुदलिय व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्रकको जामा पहिराएर मर्मत गर्न चाहन्छन् भने एनेकपा माओवादी जनताको संघिय गणतन्त्रको राजनीतिक कार्यदिशाबाट अग्रगमनतिर अगाडी बढ्न चाहन्छ । यसरी संसदिय कम्युनिष्टहरुको राजनीतिक कार्यदिशा संसदिय लोकतान्त्रिक गणतन्त्र बनेको छ भने एनेकपा माओवादी को कार्यदिशा जनताको संघिय गणतन्त्र बनेको छ । ति दुई विपरित कार्यदिशामा मुलुक धुर्विकृत भईरहेको छ र एकले अर्कोलाई आ-आफ्नो कार्यदिशामा आत्मसर्मपण वा रुपान्तरण गर्ने/गराउने होड चलिरहेको छ । यि दुई कार्यदिशाको बारेमा चर्चा गर्नुपर्दा संसदिय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशामा भारतिय विस्तारवादले बास गरेको छ । जुन कार्यदिशाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दैन बरु दलाली गर्छ स्वाधिनता चाहँदैन बरु राष्ट्रघात गर्छ स्वाभिमान चाहँदैन बरु कठपुतली बन्छ जनताको शासन व्यवस्था चाहँदैन बरु नोकरशाही दलाल पूँजिपती र सामन्ती व्यवस्था बचाउन चाहन्छ । यस्तो चरित्र भएको कार्यदिशाले के नेपालमा स्वाधिन र सार्वभौम संविधान निर्माण हुन सक्छ यही कार्यदिशामा संसदिय कम्युनिष्टहरु माओवादी पार्टीलाई आत्मसमर्पण गराउन चाहन्छन् । इतिहासदेखि आफुले श्रमिकवर्गप्रति गरेको कुठाराघातलाई पुनः माओवादी मार्फत कुठाराघात गराएर आफ्नो जघन्य अपराधहरुलाई ढाकछोप गर्न चाहन्छन् । तर माओवादी पार्टी देश र जनताप्रति समर्पित छ र राष्ट्रका समस्याहरुदेखि चिन्तित छ । दुश्मनका षड्यन्त्रदेखि सचेत र सतर्क पनि छ । यो देशलाई भारतिय पाजाबाट कसरी मुक्त गर्न सकिन्छ यो देशका जनतालाई सामन्त दलाल पूँजिपति वर्गको हैकमबाट कसरी छुटकारा दिलाउन सकिन्छ भनेर चिन्तन मनन् गरिरहेको छ । यसै सिलसिलामा तय गरिएको कार्यदिशा जनताको संघिय गणतन्त्र हो । यसको बारेमा चर्चा गर्नुपर्दा यसमा किसान मजदुरवर्गको सुनौलो भविष्य सुनिश्चित छ । उत्पिडित वर्ग उत्पिडित जाति उत्पिडित क्षेत्र र उत्पिडित लिङ्गको मुक्ती गाँसिएको छ । यो कार्यदिशामा आत्मनिर्णयको अधिकार सहित स्वशासनको अधिकार अन्तर्निहित छ । उत्पिडित समुदायको लागि विशेष अधिकार सङ्ग्रहित छ । राष्ट्रिय स्वाभिमानलाई पहिलो प्राथमिकतामा राखेको छ । यही कार्यदिशा मार्फत इतिहासदेखि राष्ट्र र जनताप्रति उत्तरदायी बन्न नसकेका पार्टी र नेताहरुलाई राष्ट्र र जनताप्रति उत्तरदायी बन्न रुपान्तरणको मार्ग खुल्ला गरेको छ । तसर्थ जनताको संघिय गणतन्त्रको कार्यदिशा जनवादी राष्ट्रवादी वामपन्थी संघिय आदि जनपक्षिय शक्तिहरुको धारिलो औजार बनेको छ । यही औजार मार्फत जनताको संघिय गणतान्त्रिक व्यवस्थाको ग्यारेन्टिको लागि पुनः माओवादी संयुक्त मोर्चा निर्माण गरेर सडक सदन र सरकारको तीनवटै मोर्चाबाट निर्णायक संघर्ष गर्ने मनस्थितीमा पुगेको साचार माध्यमबाट सार्वजनिक भइसकेको छ । माओवादी पार्टी देशकै जिम्मेवार पार्टी भएकोले यतिबेला देश र जनताको विषयलाई लिएर गम्भिर बहसमा जुटेको छ । जति जति बेला एनेकपा माओवादी राष्ट्रिय सवाललाई लिएर बैठक बस्ने गर्छ त्यती त्यती बेला विश्व र मुलुककै ध्यान आकृष्ठ हुन्छ । यसपालीको एघार दिने पिवि बैठकभरी पनि यस्तै भयो । माओवादी पार्टीले ऐतिहासिक निर्णय के गर्ला र त्यसको दुरगामी महत्त्व के रहला भनेर चासो दिइरहेको बेलामा हामी सबैलाई पत्रकार सम्मेलन मार्फत उचित जवाफ दिइसकेको छ । राष्ट्रमा समस्या आउँदा देशका जनतालाई गुहार्ने र पार्टीभित्र समस्या आउँदा कार्यकर्तालाई गुहार्ने विशेष निर्णयहरु ऐतिहासिक र दुरगामी नै हुन्छन् । अहिले माओवादी पार्टीभित्र प्रधानअन्तरविरोध के लाई मान्ने भन्ने विषयमा छलफल चलिरहेको छ र यतीबेला प्रधानअन्तरविरोध टुङ्ग्याउन जरुरी पनि छ । तर पिवि बैठकसम्म आउँदा त्यसले मुर्तता पाउन सकेन र यो विस्तारित बैठकले टुङ्गोमा पुर् याउने निर्णय गरेको छ । त्यसैले प्रधानअन्तरविरोध टुङ्ग्याउने विषय आम कार्यकर्ताको सवाल र राष्ट्रकै सवाल बन्न गएको छ । यसको बारेमा अब कार्यकर्ता स्वयम्ले
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन वर्ग विश्लेषण र प्रधानअन्तरविरोध वस्तुगत र आत्मगत अवस्था यि सबै बारेमा सही निश्कर्ष निकाल्नु जरुरी छ र जनताबाट सल्लाह सुझाव लिनु जरुरी छ ।
अहिले बजारमा सेना समायोजन बारे भ्रमात्मक हल्लाहरु फैलाइएका छन् । यो शान्ति प्रकि्रयासँग जोडिएको विषय भएकोले सबैभन्दा चासो र जनसरोकारको विषय बन्न पुगेको छ । जनता फेरी युद्ध चाहँदैनन् पूर्ण शान्ति चाहन्छन् । पूर्ण शान्तिको लागि वृहत् शान्ति सम्झौता पनि भएको छ र अनमिनले प्रमाणित गरेका योग्य जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने दस्तावेज पनि बनेको छ । योग्य सेना भनेका उन्नाइस हजार जनसेना हुन् । यदि ति योग्य छैन भनिन्छ भने अनमिनलाई किन प्रमाणिकरण गर्न लगाइयो यदि सेना समायोजन नगर्ने हो भने राज्यको अलग्गै फोस्रको रुपमा स्थापना गर्नुपर्ने माओवादी निर्णय पनि स्थायी शान्ति स्थापना गर्ने उद्देश्य भएकोले वस्तुवादी नै छ ।
सबैभन्दा ठूलो दलको नाताले राष्ट्रिय संयुक्त सरकारको दाबी गर्नु यो पनि मनासिब निर्णय नै हो । इतिहासमै सबैभन्दा बढी भारतिय विस्तारवादको अनावश्यक हस्तक्षेप नेपालमा बढिरहेकोले देशभक्तहरुलाई सह्य हुने कुरै भएन । तसर्थ केन्द्रदेखि स्थानीय तहसम्म राष्ट्रिय स्वाधिनताको पक्षमा संयुक्त मोर्चा बनाउने निर्णय पनि दुरगामी महत्त्वकै छन् । अझ युगान्तकारी निर्णय आउनकै लागि माओवादी पार्टीको विस्तारित बैठकको प्रतिक्षा गर्नुपर्ने भएको छ । त्यतीबेलासम्म सबैले आफ्नो तहबाट सल्लाह सुझाव दिँदै जाऔँ र राष्ट्रियताको आन्दोलनमा सहभागी बनौँ ।

घुँडा टेकेर 'अग्लो' हुनेहरु


शोभित नेपाल्, काठ्माण्डौं
पुराना पार्टी र तिनका नेताहरु मन्दिरमा प्रार्थना गरेजसरी घुँडा टेक्छन् अनि आफुहरु अग्लो भएको भ्रम पाल्छन् । अग्रगमन रोक्नको लागि उनीहरुको पहुँच पर्याप्त छैन । त्यसैले ुजदौु भन्दै चाकरीमामा दौडिन सिपालु छन् । सार्वभौम देशका जनता स्वतन्त्र भएको देख्न चाँहदैनन् । तिनीहरु खप्पीस छन् विदेशी आदेशमा स्वदेशी मूल्य र मान्यताको उपहास गर्न । विदेशीको चाकरीमा रमाएका नेताहरु पैसामा बिकेर अर्काको अनुकूलतामा नाच्ने खेल नेपालका लागि नौलो होइन । पाएको जनादेश लत्याएरै पनि विदेशी तालमा नाच्ने थिति पुरानै हो । जनमत गुमेपछि मालिकको सेवामा घुँडा टेक्नु अनि उसकै आशीर्वाद र कृपाले अग्लो भएको महसुश गर्नु पुराना पार्टीहरुको नियति बनॆको छ । संविधानसभाको निर्वाचनमा अनपेक्षित धक्का खाए संसदीय पार्टीहरुले । उनीहरुका नारा र प्रतिबद्धताहरु पुरानै ढर्राको थिए । हुन त राणाशासनको अन्त्यदेखि नै ुनयाँ बोतलमा पुरानो रक्सीु जसरी शासन चलाउँदै हुन् उनीहरुले । ुनानीदेखिको बानीु उनीहरुको चुनावी नारा अग्रगामी र जनभावना समेट्ने खालको भन्दा पनि आफ्नै स्वार्थकेन्द्रित बने । फलस्वरुप चुनावी नतिजा शतप्रतिशत उल्टो आयो उनीहरुको गणितभन्दा । त्यसैले चुनावी परिणाम आएको भोलिपल्टदेखि उनीहरु सहाराको खोजीमा लागे । चुनावी नतिजाबाट पाठ सिक्नुको साटो संविधानसभा विरुद्ध नै प्रतिशोध पाल्ने काम भयो । जनताले दिएको दलीय आकार स्वीकार्नुभन्दा नीच काम गर्नेतिर उद्धत उनीहरु बने । देशको सार्वभौम अस्तित्व संकटमा पारेरै भएपनि विदेशी गुहार्ने काम गरियो । बोली र व्यावहारले देशको सरकार र मन्त्रीमण्डल नै विदेशी भारतीय प्रवक्ता जस्तो देखियो । अर्कोतिर माओवादीले सरकार छोडेपछि र सेनाको बैशाखी टेकेर सरकार बनेको देखाईएपनि भारतीय गुरुयोजनामा बनाईएको प्रमाणित भइसकेको छ । यसरी जनमत र जनादेश रोक्ने दुष्प्रयासमा उनीहरुले सार्वभौमिकता माथि नै धावा बोले । यहाँसम्म कि भारतीय विमानहरुले स्वतन्त्र रुपमा नेपाली आकाशमाथि फन्को मार्न थाले । त्यस विषयमा समेत सरकार मौन बस्यो । सीमाक्षेत्रबाट नेपालीहरु लखेटिएको समेत ुथाहा भएनु परराष्ट्रमन्त्रीलाई । चुनावमा हारेका जनपराजितहरुले सहाराको खोजी गर्ने क्रममा उही पुरानो र अंग्रेजकालदेखिकै ुअसल छिमेकीु लाई रोजेका हुन् । तिनै छिमेकीको कृपा र आशीर्वादले सत्ताको पगरी गुथे । सत्तारोहणपछि त उनीहरु झनै उन्मत्त भए । जनमत र जनादेशको कुनै ख्याल भएन । सरकारमा गएर असल र जनहितका काम गरेर गुमेको जनमत परिपूर्ति गर्नेमा भन्दा ुउपासनाु मा सरकार टिकाउने काम गरिरहे । जङ्गबहादुर ले अंग्रेजको सेवा गरेबापत बाँके बर्दिया कैलाली र काचनपुर चारवटा जिल्ला फिर्ता ल्याएका थिए भने अहिलेका संसदीय पार्टीहरुको भारतभक्तिको फलस्वरुप गुमेको कुसर्ी थमाईयो । हो कुसर्ीको उन्मादमा भोजहरु बाक्लिए अनि त्यही बेलुन फुकाईमा उनीहरु फुकिरहे । सत्ताका लागि उनीहरु भारतीय उपासक बने । तैपनि पिसाबको न्यानोमा झैं आनन्द मानिरहेका छन् अग्लो भएकोमा । देशको सार्वभौमसत्तामा त उनीहरुले धावा बोले नै अग्लो हुनाका लागि आफ्नै मूल्य र मान्यता पनि क्रमशः च्यात्न थाले । मान्दै आएको थीति र पाल्दै आएको थीति पनि कुल्चिने काम गरियो । न्यायप्रणाली र न्यायालयको निकै बखान गर्नेहरुले सर्वोच्च अदालतका विभिन्न आदेशहरु सोझै ईन्कार गरिरहे । प्रशासनिक नीतिनियमको पनि धज्जी उडाइयो । कर्मचारीहरुलाई आदेश र सम्मान गरेर काम लगाउने तरिका बिसर्िइयो र चुटेर थर्काउने काम मौलायो । यो प्रशासनिक मर्यादाको उलंघन हो । संसदलाई बहस र छलफलको सर्वोत्तम थलो मान्नेहरुले प्रतिपक्ष र उसका आवाजलाई निषेध गर्न खोजेको देखियो । यी र यस्ता कि्रयाकलापहरु अरु केही नभएर घुँडा टेकेर अग्लो भएकाहरुको अयोग्यताको प्रतिफल हो । प्रतिपक्षको असहयोगका बाबजुद सरकार शतप्रतिशत सफल भएको उनीहरुको मपाँईत्व छ । सरकार सफल नभएको र ईतिहासकै सबैभन्दा कमजोर भएको कुरा नेपालको सबै क्षेत्र र संसारले देखेको छ । तैपनि उनीहरु आफु सफल भएको भन्दै भ्यागुतो फुलाई गरिरहेका छन् । विभिन्न नाममा खुलेका पार्टीहरुको उदेश्य जनहित र राष्ट्रहित भन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा अडेको देखियो । देशको नयाँ सामाजिक आर्थिक र भौगोलिक संरचना आदिका विषयमा सबै पार्टीका आ-आफ्नै मान्यता र नीतिहरु देखिन्छन् । तर अग्रगमन रोक्नका लागि र अग्रगामी शक्तिहरुलाई निस्तेज पार्नका लागि गरिएको षड्यन्त्रमा विदेशी दबाबमा सबैका नारा र नीति थाती बसाईए । एउटै विदेशी आदेश र दबाबमा नीति र मान्यताका हिसाबले दशतिर फर्किएका दलहरु एकै ठाउँमा बसे सरकार बन्यो अनि शुरु भयो शान्ति-प्रकि्रयालाई बिथोल्ने काम । यसरी संसदीय दलहरुले आफ्नो दलीय मूल्य र मान्यता पनि बचाउन सकेनन् विदेशी दबाबमा घुँडा टेके ।
अर्को भनेको अपराधका सामू घुँडा टेकाइ हो । सरकार साचालन भएकै दिनदेखि अपराधका सामू घुँडा टेक्ने काम भयो । राजधानीमै प्रतिष्ठित र वरिष्ट मानिसहरुको हत्या भयो अपहरण र फिरौतीका धन्दा ह्वात्तै बढ्यो । अरुको त के कुरा सीडीओ कुट्ने मन्त्रीलाई कारवाही हुन सकेन । सरकारका प्रधानमन्त्री अपराधी मन्त्रीसामू निरीह बने अपराधी मन्त्री भने झन् उन्मत्त भईन् । कता कता यस्तो लाग्थ्यो उनलाई अपराध गरेकोमा पश्चाताप् होइन गौरव लागेको छ । मन्त्रीहरुबाटै त्यस्ता खालका अपराधका घटनाहरु निकै भए तर उनीहरुलाई अंकुश लगाउने काम गरिएन मतलब दलहरुलाई सरकार टिकाउनु थियो । त्यसका लागि सरकारले उनीहरुका अपराधसामू घुँडा टेक्यो र अपराधलाई संरक्षण गर्ने काम गरिरह्यो । देशमा अपराधका घटनामा मन्त्रीहरुले घुस लिएर अपराधी छुटाएको समेत आरोप लाग्यो ।
वास्तवमा अहिलेका सत्ताधारी तथा संसदवादी दलहरुमा ठूलो भ्रम रहेछ । मानिसहरु पाजाले टेकेर अग्लो हुने गर्छन् र त्यही मान्यता राख्छन् । तर उल्टो नेपालका संसदवादी दलहरुले घुँडा टेके अनि आपुू अग्लो भएको महसुश गरे । सरकार बनाउनका लागि उनीहरुले विदेशी शक्तिसामू घुँडा टेके अनि टिकाउनका लागि अपराधसामू । विदेशी दबाबकै कारण आफ्नै पार्टीगत नारा उदेश्य मूल्य र मान्यताका विरुद्ध पनि घुँडा टेके । वर्तमान सरकारको यो हविगतबाट बुझ्नुपर्ने के छ भने घुँडा टेकेर कोही पनि ठूलो हुँदैन त्यो त क्षणिक आत्मरित मात्र हो ।