Thursday, May 5, 2011

नेपाल पत्रकार महासंघमा वामपन्थीको वर्चश्व : अध्यक्षमा शिव गाउँले विजयी


काठमाडौ, बैशाख / पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा अध्यक्ष शिव गाउँले निर्वाचित भएका छन् ।
गाउँलेले ६ सय ८५ मत ल्याई विजयी भएका हुन् । प्रतिद्वन्द्वी प्रेस युनियनका पोषण के.सी. ले ४ सय ४४ मत ल्याएका थिए । नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक प्रगतिशिल पत्रकारहरुको समूह नेतृत्वमा पुगेकाले नयाँ अध्याय कायम भएको गाउँलेले बताए ।
नयाँ कार्यसमितिमा अधिकांश वामपन्थी प्यानलको वर्चश्व रहेको छ । गाउँले यसअघि महासंघमा सदस्य र उपाध्यक्ष रहेर काम गरेका थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा यसोदा तिम्सीना, महासचिवमा ओम शर्मा, सचिवमा जगत नेपाल र कोषाध्यक्षमा शितल शाह निर्वाचित भएका छन् । विजयी मध्ये नेपालमात्र प्रेस युनियनका हुन् ।
प्रतिष्ठानबाट केन्द्रीय सदस्यमा प्रेस चौतारीका बालकृष्ण बस्नेत र मातृका पौडेल, उपत्यकाबाट केन्द्रीय सदस्यमा दीपक पाण्डे र दामोदर तिमि_िल्सना, मध्यमााचलबाट केन्द्रीय सदस्यमा प्रेस चौतारीका प्रताप विष्ट र महेश दास, पूर्वान्चलबाट प्रेस चौतारीकै मोहनकाजी न्यौपाने र सिद्धराज राई, एसोसिएटमा प्रेस युनियनका प्रकाश थापा र उज्वल आचार्य, मध्यपश्चिमााचलमा चौतारी-क्रान्तीकारी प्यानलका सूर्यमणि गौतम र प्रभात चलाउने, सुदुरपश्चिमााचलबाट दिलबहादुर छत्याल र कर्ण शाह, पश्चिमााचलबाट मोहन चापागाईं र रुद्र भट्ट निर्वाचित भएका छन् ।
कर्णालीबाट प्रेस युनियन समर्थित जयबहादुर रोकाया निर्वाचित भएका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजे सकिएपछि साढे ४ बजेदेखि मतगणना सुरु भएको थियो ।
महाधिवेशनमा ७३ जिल्ला ४० प्रतिष्ठान नौ एसोसियट र विदेशस्थित पाँच शाखाका एक हजार तीन सय २० प्रतिनिधि सहभागी छन् । जसमध्ये दुई सय ५० जना प्रतिनिधि प्रतिष्ठानका तर्फबाट छन् भने ६९ जना एसोसिएटका छन् । पदाधिकारी सहित ३१ सदस्यका लागि ९८ जनाबीच प्रतिष्पर्धा भएको थियो ।

यौन शोषण आरोपीलाई संरक्षण गर्नेको घर जलाइयो


सुनसरी (महेन्द्रनगर), वैशाख २२ / एक १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गर्ने दाजुलाई भगाएको आरोपमा महिला र बालबालिकामा हुने हिंसा र यौन शोषण विरुद्ध अभियान पारालिगल कमिटी सुनसरीका अध्यक्ष इनु अधिकारीको घर विहीबार आक्रोसित स्थानीय बासिन्दाले जलाएको प्रहरीले जनाएको छ ।
सुनसरीको महेन्द्रनगर १ चक्रघट्टी बस्ने ४९ वर्षीय गणेश अधिकारीले आफ्नो घरमा राखेको १५ वर्षया एक घरेलु कामदार किशोरीलाई सात महिना देखि यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको १० दिन विति सक्दा पनि प्रहरीले पक्राउ नगरी उल्टै संरक्षण गरेको विषयमा इलाका प्रहरी कार्यालयमा भेला भएको भिड मध्ये उच्छृंखल व्यक्तिले इनु अधिकारीको घर जलाएको प्रहरी निरिक्षक राजेन्द्र थापाले बताए ।
एक साता देखि तनाव ग्रस्त बनेको महेन्द्रनगर विहिबार पनि दिनभर तनाव ग्रस्त भयो । स्थानीय बासिन्दा र पिडितपक्षले किशोरीलाई यौन दुर्व्यवहार गर्ने अभियुक्त अधिकारीलाई तत्काल पक्राउ गर्नु पर्ने र हिरासतमा रहेकी उनकी दिदि इनु अधिकारीलाई पनि प्रहरीले विहीबार विहान छाडेकोमा पक्राउ गर्नु पर्ने भन्दै इप्रका घेराउ गर्नेक्रममा अधिकारीको घर जलेको थियो । इप्रकाबाट अधिकारीको घर २५ मिटरको दुरीमा रहेको छ ।
एकतले सेन्टरवेरा गरेको खरको छानोको घरमा आगलागी पछि प्रहरीले करिव ५ लाखको क्षति भएको जनाएको छ । अधिकारीले किशोरी माथि यौन दुव्र्यवहार गर्ने भाईलाई भगाएको आरोपमा गाउलेले दुुइ दिन अघि पक्रेर प्रहरीलाई जिम्मा दिएका थिए । तर विहीबार विहानै उनलाई पनि प्रहरीले भगाए भन्दै उपस्थित गर्न माग गर्दा गर्दै उनको घर जलेको थियो ।
प्रहरीले आक्रोशित भिड मध्येको कसैले आगो लगाएको आशंका गर्दै भिड तितरवितर पार्न  लाठिचार्ज गरेको थियो । भिड तितर वितर पार्ना प्रहरीले चारसयको हाराहारीमा भेला भएका भिडमा दुई सेल अश्रुु ग्यास प्रहार गरेको थियो । प्रहरीले दुुइ दर्जन पक्राउ गरेको छ । प्रहरी सहित तीन दर्जन स्थानीय बासिन्दा सामान्य घाइते भए ।
एक श्रीमती र दुुई सन्तानका पिता अधिकारीबाट लगातार यौन दुव्र्यवहार सहन नसके पछि पिडित किशोरीले आत्महत्या गर्न बैशाख ११ गते किटनाशक औषधी सेवन गरे पछि यो घटना सार्वजनिक भएको हो ।
स्थानीय विद्यालयमा कक्षा नौ अध्ययरत उनलाई  अधिकारीले यौन दुव्र्यवहार गरे नगरेको बारे परीक्षणका लागि शुुक्रबार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए पछि चिकित्सकले स्लाव र सुहाव निकालेर प्रहरीको जिम्मा लगाएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन ।
किशोरीले अधिकारीले आफुलाई यौन दुर्व्यवहार गर्ने गरेको बताए पनि शारिरीक सम्पर्क भने नगरेको बताइन् । उनले भनिन्, 'शरीरमा हात लगाउने गरेका थिए । बेलुका सुतेको बेला मच्छरदानी च्यापेर सुतेको हुन्थें तर विहान उठ्दा एका तिर पुरै खुलेको हुुन्थ्यो ।' पीडित किशोरीले विभिन्न डर त्रास र लाजकोकारण सवै कुरा भन्न नसकेको उनकी आमा गोमा भुजेलले बताइन् ।

धार्मिक भेषमा नेपालबाट अमेरिकामा मानवतस्करी


उनी धर्मगुरुका नामबाट चिनिन्छिन् तर उनी मानवतस्करीमा संलग्न रहेको तथ्यहरुबाट पुष्टि भएको छ ।  अवतार लिने धार्मिक ग्रन्थका भगवान विष्णुलाई नै पछ्याउने गरी उनले अमेरिकामा मानवतस्करी गर्न र नेपालमै धन्दा चलाउनका लागि अनेकौं भेषमा काम गरे ।  न्युयोर्कबाट किशोर पन्थीले तयार पारेको विशेष रिपोर्ट ।

कसैले महादेव भन्लान्, कसैले शिवजी भन्लान्, कसैले भोलेनाथ भन्लान् जस्ले जे नामले पुकारेपनि उनी हिन्दुहरुका देवता र पार्वतीका पति हुन् । ठ्याक्कै त्यस्तै कसैले सभासद् ल्यारक्याल लामा भन्लान् , कसैले वाङचुक रिन्पोछे भन्लान् , कसैले खेम्पो छिमे रिन्पोछे भन्लान्, कसैले लामा छिमे छिरिङ भन्लान् , जस्ले जे नामले पुकारे  पनि उनी मानवतस्कर र धन्दावालका रुपमा परिचित एउटै व्यक्ति हुन् । जसले विगत १० वर्षभन्दा बढी समयदेखि विभिन्न धन्दा संचालन गर्नुका साथै अमेरिकाको सरकारलाई झुक्याएर अमेरिकामा नेपालीहरु पठाउने मानवतस्करको काम गर्दै आएका छन् ।

मानव तस्करीका लागि तीन देशको नागरिक !
अर्थराज्यमन्त्रीसमेत पड्काइसकेका ल्यारक्याल लामाले नेपालमा भइरहेको चीन विरोधी तिब्बती आन्दोलनलाई सघाउन तिब्बती शरणार्थी परिचय पत्र लिएको समाचार आइरहेका छन् । चीनबाट भागेर नेपाल छिर्ने तिब्बतीहरुलाई भारतसम्म लैजान सजिलो होस् भनेर भारतीय पासपोर्ट बनाएका समाचार आइरहेका छन् । तर कुरा त्यतिमात्र होइन । उनले अमेरिकी सरकारलाई झुक्याएर नेपालीहरुलाई नक्कली कागजपत्रका साथ अमेरिका छिराउनका लागि यस्तो हर्कत गर्दै आएको खुलासा भएको छ ।
अर्थराज्यमन्त्रीबाट राजिनामा दिइसकेका ल्यारक्याल लामासंग नेपाली नागरिकको हैसियतबाट नेपालको परराष्ट्र मन्त्रालयबाट लिएको ११२१५८८ नम्बरको पासपोर्ट छ । भारतको गुहावटीबाट भारतीय नागरिकको हैसियतमा लिएको २१२९८१२ नम्बरको पासपोर्ट छ । सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा लिएको तिब्बती शरणार्थीको परिचयपत्र पनि छ । नेपाली राहदानीमा उनको नाम वाङचुक रिम्पोछे छ भने भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ । तिब्बती शरणार्थी परिचयपत्रमा उनको नामा लामा छिमे छिरिङ छ ।
श्रँेत भन्छ – “जहांजहां जे जे नाम भएपनि उनलाई सिन्धुपाल्चोकदेखि नै सबैले चिन्दै आएको धार्मिक नाम छिमे छिरिङ र प्रशासनिक नाम ल्यारक्याल लामाबाट हो । उनका अरु सबै नाम नक्कली हुन् । धन्दा चलाउनका लागि हुन् । र मानवतस्करीका लागि हुन् । ”

मानवतस्करीको अजबको काइदा
ल्यारक्याल लामाले सिधै आफ्नो सम्पर्कबाट कमै व्यक्ति अमेरिका पठाए । तर उनले आफ्ना दलालहरुमार्फत भने दर्जनौं व्यक्तिलाई अमेरिका पठाइसकेका छन् । काठमाडौंमा उनको कुनै म्यानपावर एजेन्सी त थिएन । तर उनले अमेरिका आउन चाहनेहरुलाई मोटो रकम असुलेर अमेरिका छिराउनका लागि काठमाडौं र ह्योल्मो क्षेत्रमा आफ्ना दलालहरु सकृय बनाउदै आएको श्रोतले जानकारी दिएको छ ।
अमेरिका आउन चाहनेहरुले सुरुमा उनका दलालहरुलाई सम्पर्क गर्नुपथ्र्यो । दलालहरुसंग पैसाको कुरा मिलेपछि मात्र बांकी कामका लागि ल्यारक्याल लामाले प्रकृया सुरु गर्थे । लामाले तत्काल नक्कली कागजपत्र तयार गरिदिन्थे, अमेरिका आउन चाहनेहरुका लागि । गुम्बा विकास समितिमा रहंदा उनलाई यस्ता कागजपत्र बनाउन कुनै आइतवार कुर्नैपर्दैनथ्यो ।
उनले तयार पारेका नक्कली कागजपत्रका आधारमा अमेरिकी दूतावासमा भिसाको लागि आवेदन दिइन्थ्यो । कतिपयले अमेरिकी दूतावासलाई झुक्याएर भिसा पाइहाल्थे । अनि ल्याक्यार लामालाई रकम बुझाएर अमेरिकाका लागि उडिहाल्थे । तर अमेरिकी दूतावासले भिसा नदिएको खण्डमा भने ल्यारक्याल लामासंग अर्को काइदा पनि थियो । अमेरिकाको लागि मल्टिपल भिसा हानिएको पासपोर्ट प्रयोग गरेर पनि लामाले कैयनलाई अमेरिका छिराएका छन् । लामाका मंगोलियन अनुहार मिल्दाजुल्दा हुने भएकाले अर्कैको पासपोर्ट प्रयोग गरी अमेरिकालाई झुक्याएर मानवतस्करीको काम गर्न सफल भइरहेका थिए, ल्यारक्याल लामा ।
तबसम्म यसरी उनले दोश्रो व्यक्तिको पासपोर्ट प्रयोग गरेर मंगोलियन अनुहारका व्यक्तिलाई अमेरिका छिराइरहे, जबसम्म अमेरिका आउनका लागि आंखाको तस्विर र औंलाको छाप लिने व्यवस्था थिएन । आंखाको तस्विर र औंलाको छाप लिने व्यवस्था भएपनि भने लामाले अमेरिकालाई झुक्याउने हिम्मत गर्न सकेनन् ।

रेट ५ लाखदेखि १० लाखसम्म
ल्यारक्याल लामाले नेपालीहरुलाई अमेरिका छिराएबापत ५ लाखदेखि १० लाख रुपैयासम्म लिने गर्थे । नेपालीहरुलाई नै नक्कली तिब्बती शरणार्थी बनाएर तिब्बती शरणार्थीको नक्कली परिचयपत्र र कागजपत्र मार्फत् होस वा अमेरिकाको भिसा हानिएको आफ्नै र आफ्ना दलालहरुको पासपोर्ट प्रयोग गरेर होस् , ल्यारक्याल लामाले अमेरिका छिराएबापत एकजनाबाट पांचलाख देखि १० लाखसम्म रकम असुल्ने गरेको श्रोतले बताएको छ ।
श्रोत भन्छ – “सुरु सुरुमा लामाले पांचलाख रकम लिएर अमेरिका छिराएपनि पछिल्ला दिनमा उनले रेट बढाएर १० लाखसम्म पु¥याएका थिए । अर्कैको पासपोर्टबाट अमेरिका छिराउने क्रम अहिले रोकिएपनि तिब्बती शरणार्थीको नक्कली परिचयपत्र बनाइदिएर अमेरिका छिराउने काममा भने लामा अहिले पनि उत्तिकै सकृय छन् ।”
यसरी लामालाई रकम बुझाएर अमेरिका छिर्नेहरु नेपालीहरुमात्र छैनन्, तिब्बतीहरु पनि छन् । ल्यारक्याल लामाले नेपालको ह्योल्मो क्षेत्रका झण्डै तीनदर्जन लामाहरुलाई अमेरिका छिराइसकेका छन् । त्यो बाहेक ल्यारक्याल लामाले अमेरिका छिराइसकेका व्यक्तिको संख्या  पांच दर्जन बढी रहेको श्रोतले दावी गरेको छ ।

अमेरिका आइसकेपछि एसाइलम
ल्यारक्याल लामा मार्फत अमेरिका छिर्नेहरुले अमेरिकामा आइसकेपछि शरणार्थीका रुपमा ग्रिन कार्डका लागि आवेदन दिने गरेका छन् । तिब्बती शरणार्थीको नक्कली कागजपत्र बनाएर आउनेहरुले तिब्बती शरणार्थीकै रुपमा ग्रिन कार्डका लागि आवेदन दिने गरेका छन् । यस्ता अधिकांश आवेदन अमेरिकी अदालतको फैसलापछि स्वीकृत हुने गरेका छन् । यसरी अमेरिकामा तिब्बती शरणार्थी बनेर ग्रिन कार्ड लिने नेपालीहरु पनि बाक्लै छन् ।
लामा र उनका व्यक्तिको पासपोर्ट दुरुपयोग गरेर आउनेहरुले नेपालमा माओवादीका कारण बस्न नसकेको वा माओवादीले आक्रमण गरेको जस्ता नक्कली कथा बनाएर ग्रिन कार्डका लागि शरणार्थीको आवेदन दिने गरेका छन् । श्रोतका अनुसार अधिकांशले माओवादीले लखेटेका वा अपहरण गरेका कथा बनाएर ग्रिन कार्ड लिइरहेका छन् । कतिपयको आवेदन भने अस्वीकृत समेत हुने गरेको छ । लामामार्फत अमेरिका आउनेहरु कतिपय भने गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका छन् ।

लामाले अमेरिकनलाई समेत छोडेनन्
नेपालमा मानवतस्करी लगायतका धन्दा चलाउदै आएका ल्यारक्याल लामाले अमेरिकन नागरिकलाई समेत फसाइदिए, केही वर्ष अगाडि । अमेरिकाको न्युयोर्कमा मेडिटेसन सेन्टर खोलेर लामाले एकजना अमेरिकनबाट रकम लिएका थिए ।
मेडिटेसन सेन्टरका लागि भन्दै लामाले एकजना अमेरिकन महिलासंग पचास हजार डलर लिएका थिए । तर त्यो रकम फिर्ता नगरेपछि ति महिला अदालतको शरणमा समेत पुगेकी थिइन् । लामाले पछि ति महिलाको रकम फिर्ता दिएको दाबी गर्दै आएका छन् । मेडिटेसन सेन्टर चलाउने भन्दै लामाले पेमाथल डटकम नामको वेभसाइट पनि संचालनमा ल्याएका थिए । पछि न्युयोर्कको मेडिटेसन सेन्टरसंगै वेभसाइट पनि गायब भएको थियो ।
अमेरिकन महिलालाई नै ठगेपछि लामालाई अमेरिकी सरकारले भिसा दिन अस्वीकार गरेको थियो । त्यसैले लामोसमय देखि ल्यारक्याल लामा अमेरिका आउन पाएका थिएनन् । तर लामा सभासद् भइसकेपछि भने उनी सभासद्को पासपोर्टबाट गत वर्ष अमेरिका आएका थिए ।

सम्मान गर्न खोज्दा विवाद
गत वर्ष संयुक्त राष्ट्रसंघको इन्डिजिनियस पिपुल्स फोरममा भाग लिन अमेरिकाको न्युयोर्कमा आएका थिए, सभासद् ल्यारक्याल लामा । त्यतीबेला उनले आफूले अमेरिका छिराएका केही व्यक्तिलाई भेटेको श्रोतले बताएको छ ।
अमेरिकामा आउंदा उनलाई ह्योल्मो सोसाइटी अफ अमेरिकाका तर्फबाट सम्मान गर्नुपर्ने प्रस्ताव पनि आएको थियो केही व्यक्तिबाट । तर सोसाइटीभित्रैबाट ल्यारक्याल लामा जस्तो विवादास्पद मान्छेलाई सम्मान गर्न नहुने भन्दै विरोध भएको थियो । लामा मानवतस्करीमा संलग्न भएकाले नै उनलाई सम्मान गर्न ह्योल्मो सोसाइटी हच्किएको थियो ।
अधिकांशको विरोधपछि सोसाइटीका तर्फबाट ल्यारक्याल लामालाई सम्मान गरिएन । तर केही व्यक्तिको समुहले भने उनलाई सम्मान पनि गरेको थियो । यसरी गरिएको सम्मानको अमेरिकामा विरोध पनि भएको थियो, केही ह्योल्मो समुदायका व्यक्तिबाट ।
विरोधका बाबजुत भएको सम्मानपछि ल्यारक्याल लामा अमेरिका आएका छैनन् । खेन्पो पदको दुरुपयोग गरेको भन्दै ह्योल्मो समुदायबाट निकै पहिलेदेखि नै ल्यारक्याल लामाका गतिविधिको विरोध समेत हुंदै आएको छ ।

तस्करीका लागि नक्कली रिन्पोछेको आवरण
ल्यारक्याल लामाले आफ्नो धार्मिक नाम खेन्पो छिमे रिन्पोछे लेख्दै आएका छन् । बौद्ध धर्ममा खेन्पो भनेको पीएचडी डक्टरेट सरहको उपाधी हो । ल्यारक्याल यो उपाधी सन् १९९९ मा पाएको दावी गर्दै आएका छन् । उनका अनुसार बौद्ध धर्मगुरु पेनोर रिन्पोछे  र पेमा नोर्बु रिन्पोछेबाट उनले खेम्पोको उपाधी पाएका थिए ।
तर ल्यारक्याल लामाले खेन्पोको उपाधी पाउनुभन्दा अगाडि नै उनले आफ्नो नामका अगाडि खेन्पो लेख्न थालिसकेका थिए । ह्योल्मो क्षेत्रमा पुगेर उनले ह्योल्मो जातिको पहिलो खेन्पो भनेर ह्योल्मो समुदायबाट सम्मान पनि थाप्न भ्याए, जतिबेला उनलाई खेन्पोको उपाधी नै मिलेको थिएन ।
यिनै झुठका सरदार ल्यारक्याल लामाले अहिले आफ्नो नामका पछाडि रिन्पोछे लेख्दै आएका छन् । जबकी उनले अहिलेसम्म रिन्पोछको उपाधी नै पाएका छ्रैनन् । उनको आधिकारिक वेभसाइटमा पनि उनले रिन्पोछेको उपाधी कहिले र कहांबाट पाए भन्ने कुरा कतै उल्लेख गरिएको छैन । रिन्पोछे बौद्ध धर्मका गुरुहरुले पाउने उच्च पद हो ।
ल्यारक्याल लामाले रिन्पोछेको उपाधी नपाइकनै मानव तस्करी र अन्य धन्दालाई सजिलो बनाउनका लागि यो उपाधीको दुरुपयोग गरिरहेका छन् ।  उनलाई रिन्पोछे पदको दुरुपयोग गर्नबाट रोक्न र खेन्पो उपाधीको समेत दुरुपयोग गरेकाले खेन्पोको उपाधी समेत खोस्नुपर्ने बताउन थालेका छन्, बौद्ध धर्मालम्बीहरु । धर्मका नाममा बदमासी गर्नेलाई छोड्न नहुने उनीहरुको भनाइ छ ।

कुख्यात डन चरी छुटाउन ८ बजेसम्म प्रशासन खुला


काठमाडौ, वैशाख २३ / सरकारी कार्यालय बिहान १० बजे खुलेर ५ बजे बन्द हुन्छ । तर अचम्म, काठमाडौं जिल्ला प्रशासन कार्यालय बुधबार राति साढे ८ बजेसम्म खुल्यो । सर्वसाधारणको कामका लागि होइन, एक जना आरोपीलाई रिहा गर्न । खुकुरी र तरबारसहित पक्राउ परेका चरी भनिने दिनेश अधिकारी छुटाउन प्रशासनले 'नियम मिचेको' हो ।
११ दिनअघि थानकोटमा ११ साथी सहित समातिएका चरी बुधबार राति साढे ८ बजे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलको आदेशमा छुटेका हुन् । उनले पाँच हजार रुपैयाँ धरौटीसमेत बुझाए । पक्राउ गरेको तेस्रो दिनदेखि मुद्दा चाँडो बुझाउन चर्को दबाब झेलेको प्रहरीले बुधबार दिउँसो साढे ४ बजे सरकारी वकिल कार्यालयमा मुद्दा बुझाएको थियो । 'अन्य मुद्दा बुझाउँदा ढिलो भो भन्दै फिर्ता पठाउने सरकारी वकिलले
६ बजेसम्म लगाएर फाइल तयार पार्‍यो,' काठमाडौं परिसरका एक अधिकृतले भने, 'दबाब प्रहरीलाई मात्र होइन, सरकारी वकिल र प्रजिअ सबैलाई थियो ।'
स्रोतका अनुसार सरकारी वकिल कार्यालयमा जसरी भए पनि मुद्दा बुझाउन दबाब आएको थियो । 'कार्यालय समय सकिन लाग्दा बुझाइएका व्यक्तिलाई समय अभाव भन्दै फिर्ता पठाउँथ्यौं तर चरीको मुद्दामा जसरी भए पनि बुझाउन दबाब थियो,' कार्यालयका एक वकिलले भने । उनका अनुसार महान्यायाधिवक्ताको कार्यालयबाट 'आजै मुद्दा बुझाउनू' भन्ने दबाब आएको थियो ।
एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्षसमेत रहेका चरी ६ बजे बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुर्‍याइएका थिए । '५ बज्न नपाउँदै खाली हुने कार्यालयमा चरीलाई कुन बेला ल्याउलान् भन्दै कुरेर बस्नुपर्‍यो,' जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने ।
कायममुकायम प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले ५ बज्नुअगावै चरीलाई आफ्नो कार्यालय ल्याइसकेको दाबी गरे । 'ठ्याक्कै समय याद छैन तर ५ बज्नुअघि नै ल्याएका थिए, दर्ता गराएर बयान पछि मेरो अघिल्तिर उपस्थित गराउँदा अल्ली ढिलो भएको हो,' उनले भने ।
उनले आफू कार्यालयमा रहेका बेला कुनै मुद्दा आएमा त्यस माथि निर्णय गरेरमात्र जाने गरेको सुनाए । सार्वजनिक मुद्दामा २५ दिनसम्म प्रहरीले थुनामा राख्न पाउने भए पनि अनुसन्धान सकिएको भन्दै चरीसहित समातिएका १२ जनामध्येबाट चरीको मात्र मुद्दा बुझाइएको हो । काठमाडौं परिसरका एसपी केदार रिजालले चरीको 'अनुसन्धान सकिएकाले मुद्दा बुझाइएको,'दाबी गरे ।
आयुक्त कार्यालयका एक अधिकृतले प्रहरीले उल्टो काम गरेको प्रतिक्रिया दिए । 'मुख्य व्यक्ति नै ऊ हो, उसकै अनुसन्धान सकिएपछि अन्यलाई थुन्नुपर्ने कारण छैन,' ती अधिकृतले भने, 'चरीको मुद्दा चाँडै बुझाउन दबाब आएपछि प्रहरीले उल्टो काम गरेको हो ।' चरीसहित समातिएका विवेक प्रजापति, धन लामा, अजित लामा, दिलु शाही, पञ्चकुमार लामा, विनय राई, देवा तामाङ र ईश्वर गुरुङ प्रहरी हिरासतमै छन् ।

अन्य दुई फरार
भोटे भनिने रूपेश गुरुङ र जोन भनिने ओम गुरुङ भने लुटपाट र ज्यान मार्ने उद्योग अभियोगमा फरार रहेको
एसपी रिजालले बताए । हतियार जोन गुरुङको भएको दाबी प्रहरीको छ । हतियार चरीले चलाएको बा८च २१९८ नम्बरको कारको अघिल्लो सिटमुनिबाट बरामद भएको थियो ।
चालक छेउको उक्त सिटमा जोन गुरुङ बसेकाले हतियार उनको भएको प्रहरीको दाबी छ । चरीलाई पक्राउ परेलगत्तै छुटाउन कालिमाटी वृत्त र धादिङ जिल्लाको पृथ्वी राजमार्ग सडक खण्डमा एमाले कार्यकर्ताले प्रदर्शन
गरेका थिए ।

Wednesday, May 4, 2011

शान्ति र संविधानका लागि जनपरिचालन गर्दै माओवादी


सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई
काठमाडौं, २१ वैशाख । एकीकृत नेकपा (माओवादी)ले शान्ति र संविधानका लागि देशव्यापी जनपरिचालन गर्ने भएको छ । जनपरिचालनका लागि माओवादीले जेठ १ देखि १० गतेसम्मको कार्यक्रम तय गरेको छ । मङ्गलबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास नयााबजारमा बसेको केन्द्रीय कार्यालयको बैठकले जनचाहाना बमोजिमको शान्ति स्थापना गर्न र जनताको संविधान लेख्नका लागि जनपरिचालन गर्ने निर्णय गर्दै दसदिने कार्यक्रम तय गरेको हो । जनपरिचालनको अन्तिम दिन जेठ १० गते देशका ६ ठूला शहरहरूमा जनसभा गर्ने निर्णय गरेको छ । 
बैठकपछि सञ्चारकर्मीहरूसाग कुरा गर्नुहुादै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रकाशले शान्ति र संविधानका लागि देशव्यापी जनपरिचालन गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।

केही दिन अगाडि सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले शान्ति र संविधानको पार्टीको कार्ययोजना तय गरेको थियो । 

उपाध्यक्ष प्रकाशकाअनुसार माओवादीले जेठ १० गते काठमाडौं, पोखरा, जनकपुर, धनगढी, विराटनगर र नेपालगञ्जमा शान्ति र संविधानका लागि विशाल जनसभाहरू गर्ने भएको छ । सभालाई अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरूले सम्बोधन गर्नुहुने छ । केन्द्रीय कार्यालयले काठमाडौंमा अध्यक्ष प्रचण्ड, जनकपुरमा उपाध्यक्ष डा. बाबुराम भट्टराई, धनगढीमा उपाध्यक्ष नरायणकाजी श्रेष्ठ, प्रकाश, पोखरामा महासचिव रामबहादुर थापा, बादल, विराटनगरमा सचिव सिपी गजुरेल र नेपालगन्जमा स्थायी समिति सदस्य लिलामणि पोख्रेलले संवोधन गर्ने गरी कार्यविभाजन गरेको प्रकाशले जानकारी दिनुभयो । सभा गर्नुअघि माओवादीले प्रचारात्मक कामहरू गर्ने भएको छ ।

मङ्गलबार बसेको कार्यालयको बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुन बाँकी १८ जना मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । माओवादीले ७ मन्त्री र ११ राज्यमन्त्री गरी १८ जना नेतालाई सरकारमा पठाउन बाँकी छ । केन्द्रीय कार्यालयले बुधबारसम्म पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुङ्गो लगाएर प्रधानमन्त्री समक्ष पठाउने गरी अध्यक्षलाई म्याण्डेट दिएको छ । यसैगरी बैठकले शान्ति र संविधानका लागि कांग्रेस र एमालेसाग भईरहेको वार्ताको समीक्षा गर्दै वार्तालाई तिव्रता दिने निर्णयसमेत गरेको छ । माओवादीले शान्ति र संविधानको कार्यदिशा लिएलगतै शान्ति र संविधानका लागि अन्य राजनीतिक दलहरुसाग वार्ता थालेको छ ।

सहमति नभए एक वर्ष होइन, दस वर्ष म्याद थपे पनि संविधान बन्दैन : गजुरेल


अहिलेको समसामयिक विषयमा एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलसँग गरिएको कुराकानी ।
माओवादी समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएको दुई महिना नाघिसक्यो तर पनि सरकारले पूर्णता पाउन सकेको छैन, माओवादीकै कारण सरकारले पूर्णता नपाएको भनिन्छ नि ?
माओवादीको कारण सरकारले पूर्णता नपाएको भन्ने कुरा सही होइन । प्रधानमन्त्रीकै पार्टीभित्रको समस्याको कारण सरकारले पूर्णता पाउन नसकेको हो । उहाँकै पार्टीभित्र समस्या देखिएको छ । हामी छिट्टै निर्णय गरेर अगाडि बढ्छौँ । त्यसपछि सरकारले पूर्णता पाउँछ ।

तपाईंहरू ठूलो आन्दोलन र त्यागबाट आउनुभएको पार्टीभित्र पनि मन्त्री छान्न धेरै विवाद र समय किन लागेको हो ?हामीले मात्र मन्त्री छानेर यो सरकारले पूर्णता पाउने अवस्था थिएन । यो त गठबन्धन सरकार हो । सरकारमा मधेसी जनअधिकार फोरमलाई पनि लैजानुपर्छ भनेर हामी त्यतातिर धेरै समय लगायौँ । त्यसकारण पनि मन्त्रिमण्डल विस्तार गर्न ढिला भएको हो । मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुनुको मुख्य कारण त एमालेभित्रकै विवाद हो । अहिले एमालेभित्रको समस्या करिब-करिब समाधान भएको जस्तो बुझिन्छ । यो सरकार सामान्य अवस्थामा बनेको सरकार होइन । जटिलभन्दा जटिल अवस्थाबाट यो सरकार बनेको हुनाले मन्त्रिमण्डल विस्तारमा यति समय लाग्नु स्वभाविक नै थियो । आफ्नो पार्टीको अध्यक्ष प्रधानमन्त्रीमा निर्वाचित भइसक्दा त्यही पार्टीका वरिष्ठ नेताहरू प्रधानमन्त्री कसरी चुनिए हामीलाई थाहै भएन भन्दै हिँड्नेसम्मको अवस्था आयो । जटिल अवस्था भएकै कारण मन्त्रिमण्डल विस्तारमा पनि त्यसको प्रतिबिम्बित परेको हो ।

राष्ट्रपति र केही मधेसवादी दलहरूले जेठ १४ भित्र संविधान बन्न सक्दैन, म्याद थप्नुपर्छ भनिरहेका छन्, यस विषयमा तपाईंहरूको पार्टीको धारणा के छ ?म्याद थपिदिएर संविधान बन्ने होइन । राजनीतिक दलहरूको बीच सहमति भएन भने एक वर्ष होइन, दस वर्ष म्याद थपे पनि संविधान बन्न सक्दैन । संविधान बन्नको लागि दलहरूबीच सहमति चाहिन्छ । सहमतिचाहिँ कहिल्यै नहुने, संविधानसभाको म्याद मात्र थपेर कसरी संविधान बन्छ ? यसरी संविधान बन्दैन । संविधान बन्नको लागि सहमति चाहिन्छ, सहमति के विषयमा गर्ने भन्ने कुरा महत्वपूर्ण हो । सहमति त सबैले भन्छन् तर कस्तो संविधान बनाउन सहमति हो भन्ने नै अहिलेको मुख्य कुरा हो । जनसंविधान बनाउनको लागि सहमति हो कि, यही लोकतान्त्रिक प्रजातन्त्रको संविधान बनाउन सहमति हो । त्यस विषयमा छिनोफानो हुन जरुरी छ । यस विषयमा टुङ्गो नलागेसम्म जति म्याद थपे पनि नयाँ संविधान बन्न सक्दैन । त्यसकारण संविधानसभाको म्याद थपिदिएर संविधान बन्न भन्ने भ्रम जनता पार्ने पक्षमा हामीमा छैनौँ ।

शान्तिप्रक्रियाको मुख्य मुद्दा सेना समायोजन ५० दिनभित्र टुङ्गयाउने भनेर तीन दलबीच सहमति भएको थियो, यस विषयमा के भइरहेको छ ?तीन दलबीच धेरै विषयमा सहमति भएका छन् । सेना समायोजन भन्ने छुट्टै विषय पनि होला । अरु सहमति केही पूरा नहुने अनि सेना समायोजनको सहमति मात्र कसरी पूरा हुन्छ । सेना समायोजन संविधान निर्माणसाग जोडिएको छ । संविधान निर्माण प्रक्रिया एक कदम अगाडि नबढ्ने अनि सेना समायोजन पहिल्ये भइहाल्ने कुरा सम्भव छैन । सेना समायोजन मात्र छुट्टै विषय नभएकाले अन्य विषयहरू पूरा नहुँदा त्यो मुद्दा पनि पछि पर्न गएको हो ।

तपाईंहरूको पार्टीले भर्खरै मात्र नयाँ संगठन जनस्वयम्सेवक दस्ता गठन गरेको छ, यसको गठन हुनुको मुख्य आशय के हो ? 
अहिले देशको शान्तिसुरक्षा नाजुक बन्दै गएको छ । प्रशासन, गृह मन्त्रालय अनि सरकारले मात्र जनतामा सुरक्षा दिन सकिरहेको छैन । त्यसकारण आमनागरिकहरूलाई कसरी सुरक्षा दिने भन्ने सवाल जोडतोडले उठेको छ । त्यसकारण यस्तो महत्वपूर्ण सवाल पूरा गर्न हामीले जनस्वयंसेवक परिचालन ब्यूरो गठन गरेका हौँ । यसको महत्वपूर्ण उद्देश्य भनेकै आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिने प्रयास गर्ने हो । विकास निर्माणको काम जनस्तरबाटै गराउने, विकास निर्माणमा युवा परिचालन गर्ने काम पनि जनस्वयम्सेवक दस्ताको उद्देश्य रहेको छ । युवाहरूलाई स्वरोजगारीको वातावरण तयार गर्दै विदेश पलायनलाई रोक्ने र परिवर्तनमा अहिले जसरी अवरोध सिर्जना भएको छ, त्यसलाई हटाउन युवाहरूलाई सही ढङ्गले परिचालन गर्नको लागि यो संगठन क्रियाशील रहने छ ।

तर, तपाईंहरूले भनेभन्दा विपरीत यो जनस्वयंसेवक दस्ता त जनविद्रोहको तयारीको रूपमा अगाडि ल्याइएको भन्ने आरोप आइरहेको छ नि ?
हामीले वाइसिएलको गठन गर्दा पनि जनविद्रोहका लागि भन्छन्, सरकारमा जाँदा पनि जनविद्रोहको लागि भन्छन्, गृह मन्त्रालय माग्दा पनि जनविद्रोहको तयारीको लागि भन्छन्, हुँदाहुँदा हामीले बोल्दा, हास्दा जे गर्दा पनि जनविद्रोहकै लागि भन्छन् । कांग्रेस र एमालेका केही नेताहरूमा दृष्टिभ्रम रहेको छ । हामीले जे गरे पनि उनीहरू सत्ताकब्जाको तयारीको रूपमा लिन्छन् । एकातिरबाट हेर्दा उनीहरूले यस्तो देख्नु स्वभाविक जस्तो पनि लाग्छ । हामीले जनविद्रोहकै लागि भनेर जनस्वयंसेवक दस्ता गठन गरेको होइन । तर, पनि नेपालमा परिवर्तनको लागि जनविद्रोहकै आवश्यकता पर्‍यो भने क्रान्तिकारी युवाहरू चुप लागेर बस्ने कुरा हुँदैन । उनीहरूले आˆनो भूमिका त खेलिहान्छन् । हामीले स्वयम्सेवक दस्तालाई जनविद्रोहकै लागि भनेर गठन नगरे पनि युवाहरूको त्यो परितर्वनमा त भूमिका हुन्छ, हुन्छ । त्यो भूमिका युवाहरूले खेल्न पाउन हुँदैन, भनेर त हामी भन्दैनौँ । भोलि जनविद्रोह भयो भने यी युवाहरू चुप लागेर बस्दैनन् ।

आगामी जेठ १४ सम्म तपाईंहरूले भनेजस्तो जनसंविधान बन्ने छाँटकाँट देखिँदैन, यस्तो अवस्थामा अब तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ? अहिलेसम्म हामी संविधान जेठ १४ अगाडि बन्दै बन्दैन भन्ने निष्कर्षमा पुगेका छैनौँ । तर, परिस्थिति हेर्दा संविधान नबन्ने अवस्था सिर्जना भएको छ । संविधान नबनेको अवस्थामा कुन शक्तिहरूले कुन पार्टीहरूले कस्तो तयारी गरिरहेका छन् भन्नेबारे त्यति प्रस्ट दृष्टिकोण आएको छैन । अहिले संविधान बन्छ कि भन्ने थोरै आशा बाँकी रहेको हुनाले हामीले संविधान बन्दैन भन्ने मान्यता राखेर त्यस्तो योजना बनाएका छैनौँ । संविधान बन्दै बन्दैन भन्ने निष्कर्षमा पुगेपछि हामी त्यही ढङ्गले योजना बनाउँछौँ । त्यसको लागि अझै केही दिन हुनुपर्छ ।

आगामी संविधानमा प्रेस स्वतन्त्रता राखिने- प्रधानमन्त्री खनाल

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री झलनाथ खनालले आगामी संविधानमा प्रेस स्वतन्त्रता राखिने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घको २३ औँ महाधिवेशन आज उद्घाटन गर्दै उहाँले सा कुरा बताउनु भएको हो । दुईदिने सो सम्मेलनमा महासङ्घका करिब नौ हजार साधारण सदस्यबाट निर्वाचित करिब १३ सय प्रतिनिधिले भाग लिइराखेका छन् ।
उहाँले उक्त कार्यक्रममा सरकार प्रेस स्वतन्त्रता रक्षाकालागि कटिबद्ध रहेको पनि बताउनु भएको थियो । शान्ति र संविधानका लागि सहमतिको अर्काे विकल्प नभएको चर्चा गर्दै प्रधानमन्त्री खनालले राजनीतिक सहमतिबाटै वर्तमान गतिरोधको अन्त्य गर्न सकिने बताउनु भयो । 
प्रधानमन्त्री खनालले शान्ति र संविधानका लागि एकीकृत माओवादीको केन्द्रीय समितिबाट गरिएको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री खनालले प्रेस स्वतन्त्रता सेनानीबाट महाङ्घका पूर्वसभापति तारानाथ दाहाल वरिष्ठ पत्रकारद्वय कर्णबहादुर कार्की र पूर्णकान्त झालाई सम्मान गर्नुभयो । प्रधानमन्त्री खनालले महासङ्घका कार्यालय सचिव शेषराज खतिवडालाई दीर्घसेवा सम्मानबाट सम्मान गर्नुभएको थियो । 
महासंघको २३ औं महाधिवेशन आज अपरान्हबाट सुरु भएको छ । शान्ति सहमति र संविधानः नेपाल पत्रकार महासङ्घको अभियान भन्ने नाराका साथ महाधिवेशनले आगामी तीन वर्षका लागि अध्यक्ष उपाध्यक्ष महासचिव सचिवलगायत ३१ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।