Wednesday, May 4, 2011

सहमति नभए एक वर्ष होइन, दस वर्ष म्याद थपे पनि संविधान बन्दैन : गजुरेल


अहिलेको समसामयिक विषयमा एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलसँग गरिएको कुराकानी ।
माओवादी समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएको दुई महिना नाघिसक्यो तर पनि सरकारले पूर्णता पाउन सकेको छैन, माओवादीकै कारण सरकारले पूर्णता नपाएको भनिन्छ नि ?
माओवादीको कारण सरकारले पूर्णता नपाएको भन्ने कुरा सही होइन । प्रधानमन्त्रीकै पार्टीभित्रको समस्याको कारण सरकारले पूर्णता पाउन नसकेको हो । उहाँकै पार्टीभित्र समस्या देखिएको छ । हामी छिट्टै निर्णय गरेर अगाडि बढ्छौँ । त्यसपछि सरकारले पूर्णता पाउँछ ।

तपाईंहरू ठूलो आन्दोलन र त्यागबाट आउनुभएको पार्टीभित्र पनि मन्त्री छान्न धेरै विवाद र समय किन लागेको हो ?हामीले मात्र मन्त्री छानेर यो सरकारले पूर्णता पाउने अवस्था थिएन । यो त गठबन्धन सरकार हो । सरकारमा मधेसी जनअधिकार फोरमलाई पनि लैजानुपर्छ भनेर हामी त्यतातिर धेरै समय लगायौँ । त्यसकारण पनि मन्त्रिमण्डल विस्तार गर्न ढिला भएको हो । मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुनुको मुख्य कारण त एमालेभित्रकै विवाद हो । अहिले एमालेभित्रको समस्या करिब-करिब समाधान भएको जस्तो बुझिन्छ । यो सरकार सामान्य अवस्थामा बनेको सरकार होइन । जटिलभन्दा जटिल अवस्थाबाट यो सरकार बनेको हुनाले मन्त्रिमण्डल विस्तारमा यति समय लाग्नु स्वभाविक नै थियो । आफ्नो पार्टीको अध्यक्ष प्रधानमन्त्रीमा निर्वाचित भइसक्दा त्यही पार्टीका वरिष्ठ नेताहरू प्रधानमन्त्री कसरी चुनिए हामीलाई थाहै भएन भन्दै हिँड्नेसम्मको अवस्था आयो । जटिल अवस्था भएकै कारण मन्त्रिमण्डल विस्तारमा पनि त्यसको प्रतिबिम्बित परेको हो ।

राष्ट्रपति र केही मधेसवादी दलहरूले जेठ १४ भित्र संविधान बन्न सक्दैन, म्याद थप्नुपर्छ भनिरहेका छन्, यस विषयमा तपाईंहरूको पार्टीको धारणा के छ ?म्याद थपिदिएर संविधान बन्ने होइन । राजनीतिक दलहरूको बीच सहमति भएन भने एक वर्ष होइन, दस वर्ष म्याद थपे पनि संविधान बन्न सक्दैन । संविधान बन्नको लागि दलहरूबीच सहमति चाहिन्छ । सहमतिचाहिँ कहिल्यै नहुने, संविधानसभाको म्याद मात्र थपेर कसरी संविधान बन्छ ? यसरी संविधान बन्दैन । संविधान बन्नको लागि सहमति चाहिन्छ, सहमति के विषयमा गर्ने भन्ने कुरा महत्वपूर्ण हो । सहमति त सबैले भन्छन् तर कस्तो संविधान बनाउन सहमति हो भन्ने नै अहिलेको मुख्य कुरा हो । जनसंविधान बनाउनको लागि सहमति हो कि, यही लोकतान्त्रिक प्रजातन्त्रको संविधान बनाउन सहमति हो । त्यस विषयमा छिनोफानो हुन जरुरी छ । यस विषयमा टुङ्गो नलागेसम्म जति म्याद थपे पनि नयाँ संविधान बन्न सक्दैन । त्यसकारण संविधानसभाको म्याद थपिदिएर संविधान बन्न भन्ने भ्रम जनता पार्ने पक्षमा हामीमा छैनौँ ।

शान्तिप्रक्रियाको मुख्य मुद्दा सेना समायोजन ५० दिनभित्र टुङ्गयाउने भनेर तीन दलबीच सहमति भएको थियो, यस विषयमा के भइरहेको छ ?तीन दलबीच धेरै विषयमा सहमति भएका छन् । सेना समायोजन भन्ने छुट्टै विषय पनि होला । अरु सहमति केही पूरा नहुने अनि सेना समायोजनको सहमति मात्र कसरी पूरा हुन्छ । सेना समायोजन संविधान निर्माणसाग जोडिएको छ । संविधान निर्माण प्रक्रिया एक कदम अगाडि नबढ्ने अनि सेना समायोजन पहिल्ये भइहाल्ने कुरा सम्भव छैन । सेना समायोजन मात्र छुट्टै विषय नभएकाले अन्य विषयहरू पूरा नहुँदा त्यो मुद्दा पनि पछि पर्न गएको हो ।

तपाईंहरूको पार्टीले भर्खरै मात्र नयाँ संगठन जनस्वयम्सेवक दस्ता गठन गरेको छ, यसको गठन हुनुको मुख्य आशय के हो ? 
अहिले देशको शान्तिसुरक्षा नाजुक बन्दै गएको छ । प्रशासन, गृह मन्त्रालय अनि सरकारले मात्र जनतामा सुरक्षा दिन सकिरहेको छैन । त्यसकारण आमनागरिकहरूलाई कसरी सुरक्षा दिने भन्ने सवाल जोडतोडले उठेको छ । त्यसकारण यस्तो महत्वपूर्ण सवाल पूरा गर्न हामीले जनस्वयंसेवक परिचालन ब्यूरो गठन गरेका हौँ । यसको महत्वपूर्ण उद्देश्य भनेकै आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिने प्रयास गर्ने हो । विकास निर्माणको काम जनस्तरबाटै गराउने, विकास निर्माणमा युवा परिचालन गर्ने काम पनि जनस्वयम्सेवक दस्ताको उद्देश्य रहेको छ । युवाहरूलाई स्वरोजगारीको वातावरण तयार गर्दै विदेश पलायनलाई रोक्ने र परिवर्तनमा अहिले जसरी अवरोध सिर्जना भएको छ, त्यसलाई हटाउन युवाहरूलाई सही ढङ्गले परिचालन गर्नको लागि यो संगठन क्रियाशील रहने छ ।

तर, तपाईंहरूले भनेभन्दा विपरीत यो जनस्वयंसेवक दस्ता त जनविद्रोहको तयारीको रूपमा अगाडि ल्याइएको भन्ने आरोप आइरहेको छ नि ?
हामीले वाइसिएलको गठन गर्दा पनि जनविद्रोहका लागि भन्छन्, सरकारमा जाँदा पनि जनविद्रोहको लागि भन्छन्, गृह मन्त्रालय माग्दा पनि जनविद्रोहको तयारीको लागि भन्छन्, हुँदाहुँदा हामीले बोल्दा, हास्दा जे गर्दा पनि जनविद्रोहकै लागि भन्छन् । कांग्रेस र एमालेका केही नेताहरूमा दृष्टिभ्रम रहेको छ । हामीले जे गरे पनि उनीहरू सत्ताकब्जाको तयारीको रूपमा लिन्छन् । एकातिरबाट हेर्दा उनीहरूले यस्तो देख्नु स्वभाविक जस्तो पनि लाग्छ । हामीले जनविद्रोहकै लागि भनेर जनस्वयंसेवक दस्ता गठन गरेको होइन । तर, पनि नेपालमा परिवर्तनको लागि जनविद्रोहकै आवश्यकता पर्‍यो भने क्रान्तिकारी युवाहरू चुप लागेर बस्ने कुरा हुँदैन । उनीहरूले आˆनो भूमिका त खेलिहान्छन् । हामीले स्वयम्सेवक दस्तालाई जनविद्रोहकै लागि भनेर गठन नगरे पनि युवाहरूको त्यो परितर्वनमा त भूमिका हुन्छ, हुन्छ । त्यो भूमिका युवाहरूले खेल्न पाउन हुँदैन, भनेर त हामी भन्दैनौँ । भोलि जनविद्रोह भयो भने यी युवाहरू चुप लागेर बस्दैनन् ।

आगामी जेठ १४ सम्म तपाईंहरूले भनेजस्तो जनसंविधान बन्ने छाँटकाँट देखिँदैन, यस्तो अवस्थामा अब तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ? अहिलेसम्म हामी संविधान जेठ १४ अगाडि बन्दै बन्दैन भन्ने निष्कर्षमा पुगेका छैनौँ । तर, परिस्थिति हेर्दा संविधान नबन्ने अवस्था सिर्जना भएको छ । संविधान नबनेको अवस्थामा कुन शक्तिहरूले कुन पार्टीहरूले कस्तो तयारी गरिरहेका छन् भन्नेबारे त्यति प्रस्ट दृष्टिकोण आएको छैन । अहिले संविधान बन्छ कि भन्ने थोरै आशा बाँकी रहेको हुनाले हामीले संविधान बन्दैन भन्ने मान्यता राखेर त्यस्तो योजना बनाएका छैनौँ । संविधान बन्दै बन्दैन भन्ने निष्कर्षमा पुगेपछि हामी त्यही ढङ्गले योजना बनाउँछौँ । त्यसको लागि अझै केही दिन हुनुपर्छ ।

आगामी संविधानमा प्रेस स्वतन्त्रता राखिने- प्रधानमन्त्री खनाल

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री झलनाथ खनालले आगामी संविधानमा प्रेस स्वतन्त्रता राखिने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घको २३ औँ महाधिवेशन आज उद्घाटन गर्दै उहाँले सा कुरा बताउनु भएको हो । दुईदिने सो सम्मेलनमा महासङ्घका करिब नौ हजार साधारण सदस्यबाट निर्वाचित करिब १३ सय प्रतिनिधिले भाग लिइराखेका छन् ।
उहाँले उक्त कार्यक्रममा सरकार प्रेस स्वतन्त्रता रक्षाकालागि कटिबद्ध रहेको पनि बताउनु भएको थियो । शान्ति र संविधानका लागि सहमतिको अर्काे विकल्प नभएको चर्चा गर्दै प्रधानमन्त्री खनालले राजनीतिक सहमतिबाटै वर्तमान गतिरोधको अन्त्य गर्न सकिने बताउनु भयो । 
प्रधानमन्त्री खनालले शान्ति र संविधानका लागि एकीकृत माओवादीको केन्द्रीय समितिबाट गरिएको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री खनालले प्रेस स्वतन्त्रता सेनानीबाट महाङ्घका पूर्वसभापति तारानाथ दाहाल वरिष्ठ पत्रकारद्वय कर्णबहादुर कार्की र पूर्णकान्त झालाई सम्मान गर्नुभयो । प्रधानमन्त्री खनालले महासङ्घका कार्यालय सचिव शेषराज खतिवडालाई दीर्घसेवा सम्मानबाट सम्मान गर्नुभएको थियो । 
महासंघको २३ औं महाधिवेशन आज अपरान्हबाट सुरु भएको छ । शान्ति सहमति र संविधानः नेपाल पत्रकार महासङ्घको अभियान भन्ने नाराका साथ महाधिवेशनले आगामी तीन वर्षका लागि अध्यक्ष उपाध्यक्ष महासचिव सचिवलगायत ३१ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।

मधेसीदलद्धारा सर्वोच्चको आदेशको उलंघन


विश्वमा नै विश्वासीलो र भरपर्दो रुपमा लिइएको फोटो सहितको मतदाता परिचयपत्र वारे विवाद उठेपछि सर्वोच्च अदालतले समेत यसलाई निरन्तरता दिन भनेको थियो ।


काठमाडौं, २१ वैशाख । फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि निर्वाचन आयोगबाट खटिएका कर्मचारीलाई केही मधेसवादी दलका कार्यकर्ताले अवरोध पुर् याएका छन् । मतदाता नामावली संकलनमा अवरोध पुर् याएपछी नामावली सङ्कलनमा कठीनाइ परेको छ । 

अवरोध पछी कर्मचारीहरुले भरपर्दो सुरक्षा व्यवस्था नभएसम्म आफूहरु नामावली सङ्कलन कार्यमा नजाने जनाएका छन् । मधेसी दलका कार्यकर्ताले नागरिकता वितरण गरेर मात्र फोटोसहितका मतदाता नामावली सङ्कलन गर्न भन्दै मोरङको दक्षिण क्षेत्र सिसवनी जहदा मझारेलगायतका दर्जन गाउँबाट कर्मचारीलाई सदरमुकाम फिर्ता पठाएका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रीक तराइ मधेस लोकतान्त्रीक पार्टी नेपाल सद्भावना पार्टी लगायतका दलका कार्यकर्ताले फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि अनिवार्य नागरिकताको प्रावधान राखेर निर्वाचन आयोगले मधेसी जनतालाई मताधिकारबाट विाचत गर्न खोजेको जिकीर गरेका छन् । ति दलका कार्यकर्ताले मतदाता नामावली संकलनका लागी आयोग कर्मचारीले लगेका विभिन्न सामग्री केही समय नियन्त्रणमा लिएर फिर्ता गरेको बताइएको छ ।

तराइका जिल्लाहरुका नागरिकले नागरिकता नपाएको भन्दै नागरिकता टोलिले तराइका जिल्लाहरुमा २५ लाख नागरिकता वितरण गरेको थियो । अहिले पनि नागरिकता जिल्ला प्रशासनवाट वितरण भइरहेकोमा त्यसलाई सहजीकरण गर्नतिर भन्दा मतदाता संकलनमा अवरोध पुर् याउनुलाई अर्थपुर्ण रुपमा हेर्न थालिएको छ । विश्वमा नै विश्वासीलो र भरपर्दो रुपमा लिइएको हाल लागु फोटो सहितको मतदाता परिचयपत्र वारे विवाद उठेपछि सर्वोच्च अदालतले समेत यसलाई निरन्तरता दिन भनेको थियो ।

स्मरणीय छ गत संविधानसभा चुनावमा तराइका विभिन्न मतदान केन्द्रमा मतदाता संख्या भन्दा बढी मत खसेको थियो भने गैर मतदाता एवं भारतिय नागरिकले समेत मतदान गरेको प्रमाण सहितका खवरहरु वाहिर आएको थियो ।

Tuesday, May 3, 2011

माओबादीको कारबाहिमा ११ प्रहरीको मृत्यु

भारतको झारखण्डमा माओवादीले थापेको बिद्युतिय धरापमा परी ११ प्रहरीको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बोकारो जिल्लाको धडधडिया गाउमा माओबादीले गर्न लागेको कार्यक्रम स्थलमा गइरहेका प्रहरी चढेकॊ गाडी बिद्युतिय धरापमा परेको हो । मृत्यु हुनेमा केन्द्रीय प्रहरी फोस्रका आठ र स्थानिय तीन प्रहरी जवान रहेका छन् । घाइते भएका २५ मध्ये केहीको अवस्था गम्भीर छ । माओबादीले भने आफुहरुले कार्यक्रम गर्न लागेको भनि गलत सुचना दिएर प्रहरी बिरुद्धको कारबाही सफलता पाएको प्रतिकि्रया दिएको छ । दुई दिन पहिले मात्र झारखण्डको पश्चिम क्षेत्र सिहभूमीमा माओबादीसंगको भिडन्तमा १० प्रहरी मारिएका थिए 

लादेनको मृत्युप्रति शङ्का : किन सार्बजनिक गरिएन लादेनको शव ?


(समाचार टिप्पणी)
१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओवामाले आतंकबादी संगठन अलकादयका प्रमुख ओसामा बिन लादेनको अमेरिकी सैनिकको कारवाहीमा मृत्यु भएको घोषणा गरिरहँदा ओसामाको निधनका बिषयमा थुप्रै प्रश्न खडा भएका छन् ।
गएराती अबेर अमेरिकी राष्ट्रपतिले आफ्नो निर्देशनमा अमेरिकी सैनिकको टुकडीले पाकिस्तानमा ओसामाको हत्या गरेको घोषणा गरेका थिए । त्यसलगत्तै अमेरिकीहरुले खुसीयाली मनाउन थाले । बिश्वभरका संचारमाध्यमले ओसामाको निधनमात्रै हैन उनका बिगत, अलकायदाको भबिष्य र चुनौतीका बिषयमा राम्रै कभरेज गरे ।
तर, लादेनको मृत्युलाई पुष्टी गर्न अमेरिकी अधिकारीहरुले मिडियासामु जे पेश गर्नुपर्दथ्यो त्यसो गरेनन् । ओसामाको शव आफ्नो नियन्त्रणमा रहेको ओवामाले घोषणा गरेपनि सोमबार दिनभर अमेरिकी सेनाले न त उनको मृत शरिर सार्बजनिक गरेको न त कारवाहीका तस्वीहरु नै । यसले ओसामाको मृत्युप्रति नै प्रश्न उठाएको छ ।
आशंका त्यतिखेर अझ बढ्यो जतिखेर अमेरिकी अधिकारीहरुले ओसामाको अत्येष्टी मुस्लिम परम्पराअनुसार गरिसकेको दावी गरे । ओसामाको तस्वीर वा मृत शरिर सार्वजनिक नगरि किन अत्येष्टिको हतारो गरियो भन्ने प्रश्नको जवाफ अमेरिकी अधिकारीहरुले दिएका छैनन् । अमेरिकी राष्ट्रपतिले नै सम्बोधन गरेर ओसामालाई मारेको दावी गरेका कारण शंकाको मात्रा केही कम भएपनि मारिएका प्रमाण सार्बजनिक नहुँदा यो कतै चालवाजी मात्र त हैन भन्ने प्रश्न खडा भएको छ ।
अमेरिका जसले आत्मसमर्पण गरेका इराकी शासक सद्दाम हुसेनलाई टेलिभिजन च्यानलको अगाडी लाइभ मृत्युदण्ड दियो उसले किन मारिएका सद्दामको भौतिक शरिर वा त्यसको तस्वीर सार्बजनिक गर्न सकेन वा आबश्यक ठानेन ? आतंकबादी नै भएपनि अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा रहेको लादेनको शवलाई उनका परिवारजनको जिम्मा लगाउनुपर्दथ्यो । त्यसो सम्भव नभएपनि बिश्वका जनतालाई उनी मारिएको जानकारी दिन तस्वीर त सार्बजनिक गर्न सकिन्थ्यो होला ।
अर्कोतर्फ पाकिस्तानी अधिकारीसँगको मिलेमतोमा गरिएको यो कारवाहीबारे पाकिस्तानी एजेन्सीहरुलाई जानकारी छैन् । अहिलेसम्म पाकिस्तानले आफ्नो संलग्नतामा ओसामामाथि कारवाही गरिएको पुष्टी गरेको छैन् । जसले गर्दा शंका गर्ने ठाउँ बढेको छ ।
आफ्नै अगुवाईमा लिबियामा हवाई आक्रमण गरिरहेको अमेरिकाले दुई दिनअघि मात्र शासक मुअम्मर गद्दाफीका छोरा र नातीको हत्या गरेको थियो । त्यो समाचारलाई ओझेल पार्न वा अन्य कुनै प्रयोजनले लादेन मारिएको समाचार त सार्वजनिक गरिएको हैन भन्ने प्रश्नपनि उठन थालेको छ । अमेरिकी राष्ट्रपतिको ओवामाको लोकपि्रयता घटिरहेका बेला आगामी बर्ष हुने चुनावलाई प्रभावित पार्न समाचार ल्याइएको पनि अनुमान गर्न थालिइएको छ । लादेनको भौतिक शरिर वा तस्वीरसमेत सार्वजनिक नगरि उनको शवलाई अत्येष्टी गरेपछि यी आशंकालाई बल पुगेको छ ।
लादेनको भनिएको तस्वीर नै नक्कली
लादेन मारिएको समाचार सँगसँगै उनको तस्वीर पनि बिभिन्न मिडियामा सार्बजनिक भए । मृत लादेनको तस्वीर भन्दै बिभिन्न पश्चिमा संचारमाध्यम प्रसारण गरेको यो तस्वीर पनि नक्कली भएको खुलेको छ ।
पाकिस्तानी टेलिभिजनद्वारा प्रसारित सो तस्वीर नक्कली भएको गार्जियन डटको डटयुकेले जनाएको छ ।
मृत भनिएको लादेनको उक्त तस्बिर विगत दुई वर्षदेखि इन्टरनेटमा रहेको खुलासा भएको छ । क्षतविक्षत अनुहारमा आधा खुलेको आँखा र घुमि्रएको कपालसहितको उक्त तस्बिर यसअघि नै दि मेल, टाइम्स, टेलिग्राफ, सन, मिररलगायतका वेबसाइटले अनलाइनमा सार्वजनिक गरेको खुल्न आएको छ । आश्चर्यको कुरा के छ भने लादेनको नक्कली तस्बिर सार्वजनिक भएलगत्तै माथि उल्लेखित वेबसाइटले लादेनको पहिलेको मृत तस्बिर हटाएका छन् ।
लादेनको भनिएको तस्बिर सक्कली वा नक्कली भन्ने यकिन नहुँदै सर्वप्रथम मध्यपूर्वबाट संचालित अनलाइन न्यूजपेपर थिमडायलाइनडटओआरजीले सार्वजनिक गरेको बुझिएको छ । ‘दि डेलिमेल’ ले पनि लादेनको सोही नक्कली तस्बिर सार्वजनिक गरेको थियो ।
गार्जियनका अनुसार सो तस्वीर निकै पहिलेदेखि नै लादेनको मृत्यु भएको अमेरिकी दावीलाई पुष्टी गर्न प्रयोग हुँदै आएको थियो । अहिले बाहिर आएको तस्बिर रोएटर्स न्यूज एजेन्सीले सन् १९९८ मा प्रयोग गरेको वास्तविक तस्विरमा आधारित रहेको मानिएको छ । लादेनको नक्कली मृत तस्बिर बनाउन प्रयोग गरिएको अर्को तस्बिर ‘हानामार्विना’ ले यसअघिनै बाहिर ल्याइएको थियो । दुई भिन्नै तस्वीरलाई सफ्टवेयरमार्फत मिलाइ सार्वजनिक गरिएपनि अमेरिकी अधिकारीहरुले अहिलेसम्म वास्ताविक तस्वीर वा शव सार्वजनिक गर्न सकेका छैनन् ।
लादेनको भनिएको तस्बिर सक्कली वा नक्कली भन्नेबारे निक्योल नहुदै सर्वप्रथम मध्यपूर्वबाट संचालित अनलाइन न्यूजपेपर थिमडायलाइनडटओआरजीले सार्वजनिक गरेको बुझिएको छ । ‘दि डेलिमेल’ ले पनि लादेनको नक्कली तस्बिर सार्वजनिक गरेको थियो ।

Monday, May 2, 2011

गच्छदारहरुलाई मधेशका प्रश्न ?


- रोशन खड्का 




यसअघि लामो समयसम्म सत्तामा बसेका केही मधेशवादी दलहरुले 'जनविद्रोह' तयारी गर्न लागेको समाचार सुन्दा अच्चम लागेको छ । सरकारबाट बहिगर्मन भएको एक महिना नबित्दै मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक)का नेता विजयकुमार गच्छदार, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तमलोपाका अध्यक्ष महन्त ठाकुरलगायत केही मधेशवादी दलका नेताहरुले आन्दोलनमा उत्रने चेतावनी दिनुलाई कुर्सीसँग र  सत्तासँग जोडेर हेर्न मिल्ने कि नमिल्ने सबैभन्दा पहिलो प्रश्न यही बन्नुपर्छ ।
जसलाई संविधानसभामा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया चलिरहँदा मधेशका स्वतन्त्र सभासद बबनसिंहले छलकपट नगरी स्पष्ट चित्रण गरिसकेका छन् । जो पहिलो प्रश्नको सोझो र सटिक उत्तर हो ।
माधव नेपाल गठबन्धमा सहभागी बनेका मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक), तमलोपा र सदभावनालगायतका दलहरुका नेता सत्ता गुमेको झोकमा आन्दोलन गर्छन् भन्ने तथ्य अब कसैका अगाडि लुकेर रहन सक्दैन् । जुन विषय उनीहरुको 'जनविद्रोह' गर्ने  पछिल्लो निर्णयले झन छर्लङ पारिदिएको छ । करिब २० महिना माधव नेपाल नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका मधेशवादी दलका नेता विजय गच्छदारसहित एक दर्जन नेताहरुले त्यतिबेला मधेशी जनता र मधेशका साझा समस्याका बारेमा 'चु सम्म बोलेनन् । तर, अहिले मधेशका माग सरकारले सम्वोधन नगरेको भन्दै आन्दोलन गर्ने भनिरहेका छन् । तर, उनीहरुको कालो नियतलाई मधेश र त्यहाँका जनताले सफा ऐनामा राम्रैसँग चियाइसकेका छन् । त्यसैले जति अधिकारका सपना बाडे र चिल्ला राजनीतिक नाराहरु अगाडि सारेपनि मधेशका उत्पीडित जनताले पत्याउनेवाला छैनन् । बरु, मधेशका सड्कमा गच्छदारहरु भाषण गरिरहँदा सोध्नेछन्, "गच्छदार यसअघिका २० महिनामा कहाँ थियौ । वालुवाटार र लैनचौरको भोज सकियो ?"  
सत्ताको भर्‍याङका लागि मधेशको राजनीतिलाई उपयोग गर्ने गच्छदारशैली अब मधेशका लागि स्वीकार्य हुने छैन । सत्तामा हुँदा मधेशी जनताको दुखः र कष्ट नदेख्ने तर सत्ताबाट हटिसकेपछि जनताका दुखः,कष्ट र अधिकारका कुरा उठाउदै सरकार जाने बाटो बलियो पार्ने 'दुई जिव्रे' नेताहरुलाई मधेशका जनताले चिन्न आवश्यक छ । सत्तामा रहँदा ठुला राजनैतिक दलहरुको प्रतिब्द्धता मात्र आवश्यक पर्ने तर सत्ताबाहिर हुनेबितिकै कार्यान्वयनको कुरा उठाउने मधेशवादी दलहरुको चरित्र दोहोरो देखिन थालेको छ । सत्ताकै लागी कहिले कोही पार्टीको भरौटे त कहिले कुनै पार्टीको भरौटे बनेका गच्छदार मार्काहरु दलका नेताहरु सत्ताकै लागी फुटेको हामीले देखेका छौ । उनीहरुको चरित्र सत्ता पाउने स्थिती भए जेसुकै गर्न तयार हुने देखिएको छ । यो आम मधेशका जनता र मधेश आन्दोलनका लागि नै बिडम्बनाको कुरा हो ।

मधेशका जनताको पहिलो रोजाई यतिवेला शान्ति र संविधान हो गच्छदार, महतो र ठाकुरहरुले भनेजस्तो जनविद्रोह होइन र कदापी हुन सक्दैन पनि । अझभन्दा लामो समयदेखि सशस्त्र समूहको चेपुवामा परेको मधेशको पहिलो रोजाइ भनेको शान्ति हो । किनभने लामो समयदेखि उनीहरु असुरक्षित महसुस गरिरहेको छन् । लामो समयदेखि मधेशका बस्तीहरु हत्या, अपहरण र चन्दाजस्ता समस्याहरुको भयबाट आजित बनिरहेका छन् ।

अर्को आवश्यकता भनेको संघीयता, समावेशी र मधेशका मुद्दाहरु नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नु हो । त्यसका लागि संविधानसभामा रहेर सकरात्मक र रचनात्मक भूमिका अहिले गच्छदारहरुबाट गरिएको अपेक्षा हो । मधेशी जनता निश्चित रुपमा पनि उत्पीडित र उपेक्षित छन् । तर, उनीहरुको वास्तविक मुक्ति नयाँ परिवर्तनले तयार पारेको वास्तविक संविधानसभाबाट मात्र पूरा हुन सक्छ । मधेशवादी नेताहरुको चरित्र भने जनतालाई अधिकार सम्पन्न बनाउने होइन त्यहाँका जनतालाई दास वनाउने किसिमको छ । यो सिङो मधेश र मधेशका जनताका लागि सबैभन्दा घातक विषय हो । त्यसैले मधेशका जनताहरुले गच्छदारहरुलाई जवाफ दिनुपर्छ र भन्नुपर्छ, "हामीले तिमीहरुलाई मत दिएर संविधान लेख्न र शान्ति प्रक्रिया पूर्णता दिने जिम्मेवारी दिएर पठायौ त्यसलाई पूरा गर अनि मात्र हाम्रो बस्तीमा आओ ।"

अब मधेशले कुर्सीकै लागि झगडा गर्ने र सधैभर लडिरहने नेताहरुबाट पनि स्पष्ट दृष्ट्रिकोण माग गर्नुपर्दछ । एक जना मधेशवादी दलका नेताले  यो पंक्तिकारलाई निकै इमान्दारीपूर्ण तरिकाले भनेका थिए मधेषमा एक-दुई जना नेताबाहेक अरु मधेशका नेता इमान्दार छैनन् । अर्कोतर्फ,  अहिले मधेशमा बेरोजारी, भ्रष्टाचार र असुरक्षाले सीमा नागेको छ । खै त यो विषयमा के बोल्दैछन् गच्छदारहरु ?

नेपाली स्वाभिमान भारतलाई बैच्दैछ काठमाण्डौँका ग्यालेक्सी पब्लिक स्कुल



बालो मष्तिषकयूक्त कलिला बाबुनानीलाई जे सिकायो त्यहि सिक्छन्, हामी सबैलाई थाहा छ । यसैकारण हामी आफ्ना बालबच्चालाई क,ख १,२, वा ए,बि,सी पढाउन सानै उमेरमा विद्यालय पठाउछौँ तर यही कलिलो मष्तिष्कमा नेपालको राष्ट्रिय पंछी मयुर, नेपालको राष्ट्रिय जनावर बाघ र नेपालको राष्ट्रिय फूल कमल भनि सिकाइदै छ जुन भारतका राष्टिय प्रतिक हुन् । यही पढाउदै बनाइदैछ बालबवालिकलाई भारतीय । कुरो हो काठमाडौका सुकिलामुकिलाका पदवी पाएकाहरूका सन्तान पढ्ने , २४ सय विद्यार्थी भएको भन्ने ग्यालेक्सी पब्लिक स्कूलको कक्षा १ जो पठनपाठनको । जहाँ नेपाली पाठ्यक्रमको कुनै प्रयोग छैन । यस्तै कक्षा एकको गणित बिषय पढाउदाँ ‘पैसे’ भनेर नेपाली नोट चिनाइन्छ । रुपये भनेर गान्धीको टाउको भएको आईसी चिनाइन्छ र, त्यसैलाई जोडा मिलाउ भन्छ । यस्तै पढिरहेछ नेपाली बालक। र, ग्यालेक्सीले कक्षा १ मा अध्यापन गराइरहेको टाइम टु राइट नामको अंग्रेजी किताब, जुन भारतस्थित मधुवन पब्लिकेशनले प्रकाशन गरेको हो ।यसमा लेखिएको छ राष्ट्रिय पंछी मयुर, राष्ट्रिय जनावर बाघ र राष्ट्रिय फूल कमल ।
एक कक्षामा पढ्ने नेपाली बालकको मस्तिष्कमा यस्तै घुसाउँदै छ त्यो पाठ्यलय यसरी नै बिताइसकेको छ एकबर्ष ग्यालेक्सीले । कक्षा एककै अर्को विषय गणितमा पनि नेपाली विषयवस्तुहरु समावेश गरिएको छैन । छ त भारतीयहरुको प्रचारबाजिमात्र । पैसे भनेर नेपाली नोट चिनाइन्छ। र, त्यसैलाइ जोडा मिलाऊ भन्छ। यस्तै शिक्षाको ब्यापार गरिरहेको छ ग्यालेक्सी पब्लिक स्कुल । त्यसकी अध्यक्ष गीता राणाको भनाइ बेग्लै छ र दु:ख लागदो छ । नेपाली किताबमा विषयवस्तु नै कम छन् रे अनि इन्डियन किताब पढाउन बाध्य भईयोरे । यो कस्तो तर्क हो ? के यस्तो स्वभाविक छुट छ यो गणतन्त्रमा ?राष्ट्रियताको खिल्ली उडाउनपनि कतिसम्म सकेको त ? मस्तिष्कमा अमीट छापको सुरुवात हो कक्षा एक र, तिनलाई नेपाली पहिचानबारे गलत ज्ञान दिइयो भने त्यसको असर कति भयानक हुन्छ होला ? अनि यो ग्यालेक्सी पब्लिक स्कूल के राष्ट्रिय चिन्हहरु जान्दैन ? नत्र, के सिकाएको त त्यस्तो ? ग्यालेक्सी पब्लिक नामको स्कूलमा पढ्न गएका नेपाली सन्तानलाई उसले सिकाइरहेको नेपाली पहिचानविरुद्धको अध्यायमा लेखिएको छ : तिम्रो राष्ट्रिय चिनारीहरु भारतका हुन् वा तिमी भारतीय हौ । यो पनि धेरै नेपाली विद्यार्थीहरुलाइ पढाइसकिएको छ र अझ पनि यो पढाइदै छ । एक कक्षामा पढ्दै गरेका नेपाली बालबालिकालाई उसले पढायो : भारतको राष्ट्रिय चिनारी नै तिम्रो देशको चिनारी हो ।
यो नेपाली स्वाभिमानको क्षतिमा ग्यालेक्सी नामको स्कुलले गुमाउनु पर्ने शायद केही हुँदैन होला फेरि पनि ।
अनि ती विद्यालयमा आफ्ना बालबालिका पढ्न पठाउने ती सुकिला मुकिला पनि के भारतकै दलाल हुन् ? या तिनीहरूलाई आफ्ना सन्तानलाई कुन स्तरको शिक्षा दिईदैछ भन्ने यिनलाई थाहा नै छैन । थाहा नभएको भए यी कस्ता बाबुआमा जस्लाई आफ्नो सन्तानको भविष्यबारे केही पनि मतलब छैन । आफ्नो सन्तानको मष्तिष्कमा कस्तो शिक्षा भरिदिदै छ भन्ने थाहा नपाउने बाबुआमाले पनि आफूलाई जन्म र कर्म मैले दिएको भन्न मिल्ला र ? यदी आफ्नो सन्तानको भविष्यको चिन्ता छ र उनीहरूलाई यस्तो पढाइदै छ भन्ने थाहा भने यी के हेरेर बसिरहेका छन् त ? देशको स्वाभिमानमा आँच आउने यस्ता कुरामा किन बोल्दैनन् यी बाबुआमा भनाउँदाहरू ।
की यी सम्भ्रान्त परिवारले पनि त्यही भारतको फरियाभित्र छिरेर आफ्नो स्वाभिमान बेचिसकेको छ । हामी नेपाली वीर गोर्खालीका सन्तान भनेर विश्व भर चिनिन्छौ तर यस्तो अवस्थामा देशलाई अर्को देशको प्रान्त बनाउन किन लागिपरेका छन् यी नेपालका नेता अनि यी सम्भ्रान्त परिवारहरू ? के हाम्रो कुनै अस्तित्व छैन के हामी भारतीय नै भैसक्यौ त ? हरेक पटक, हरेक क्षेत्र, हरेक ठाऊँमा भारतको दवावमा बाच्नु पर्ने यो कस्तो बिडम्बना हो हामी नेपालीको अनि कति लज्जास्पद !